विभिन्न दलको नेतृत्व गरिरहनुभएका नेताहरूलाई स्थानीय निर्वाचनको परिणामले पक्कै पनि सचेत गराएकै छ । आ–आफ्नो पार्टीलाई सम्बन्धित स्थानमा विजयी गराउन सम्पूर्ण खाले गठबन्धनको प्रयास तिनले गरे । पाँच दलीय गठबन्धनले संख्यात्मक रूपमा बलियो परिणाम प्राप्त गर्यो । भलै, कांग्रेसलाई हराउन माओवादी, एमालेलगायत अन्य दल र माओवादीलाई हराउन कांग्रेस, एमालेलगायत अन्य दलले स्थानीयस्तरमा गरेको प्रत्यक्ष–अप्रत्यक्ष गठबन्धनको परिणाम पनि आँखासामुन्ने प्रस्टै छ । तर, स्थानीयस्तरमा कमजोर ठानिएको पार्टीबाट उम्मेदवार बनेका तुलनात्मक रूपमा असल उम्मेदवारको विजयको परिणामलाई नेतृत्वले नजरअन्दाज गर्न मिल्दैन ।
लोकतान्त्रिक व्यवस्थासहितको २१औँ शताब्दीले प्रश्न गर्ने योग्यता राख्छ । आत्मसम्मानको विषयमा कोही कसैसँग सम्झौता नगर्ने लोकतान्त्रिक चरित्र हो । बरु लोकतन्त्रले हरेक पक्षमा पारदर्शिताको खोजी गर्छ । नागरिक समस्याको बोध, स्वीकार र सम्बोधन लोकतान्त्रिक नेतृत्वका अनिवार्य सर्त हुन् । परम्परागत राजसंस्थालाई बिदाइ गरेको युगले थोपरेको निर्णय स्वीकार गर्दैन । तसर्थ, आफ्नो पार्टी सत्तामा किन पुग्नुपर्ने ? सत्तामा पुगिसकेपछि नागरिकले प्राप्त गर्नैपर्ने आधारभूत अधिकार कसरी प्रत्यायोजन गर्ने, खाका स्पष्ट पार्नु अनिवार्य छ । दलहरूले बुझ्नुपर्छ, निर्वाचन, सत्ता, प्रतिपक्ष आवधिक विषय हुन् । बरु, नागरिकको नेतृत्वप्रति क्रमशः घटिरहेको विश्वासको पुनर्प्राप्ति प्रधान विषय हो । रेमिट्यान्सले देश धानिएको छ । आफ्ना छोराछोरीको जवानी विदेशी श्रमबजारमा न्यूनतम मूल्यमा बेचेर पालिएको देशको धुरीमा बिजुली बत्ती त बलेको देखिन्छ । नागरिकको मनमा ग्रहण लागेको समयमै देख्नु नेतृत्वको योग्यतामा भर पर्छ । तसर्थ, नेतृत्वले आफूहरूद्वारा गल्ती भएको स्वीकार गर्नुपर्छ । गल्ती नगर्ने प्रतिबद्धता कर्ममार्फत प्रमाणित गर्नैपर्छ ।
हालै सम्पन्न स्थानीय निर्वाचनमा अपेक्षाकृत रूपमा कांग्रेस खासै मोटाएन र एमाले खासै दुब्लाएन । माओवादी, एकीकृत समाजवादीलगायत क्षेत्रीय दलले आफ्नो अस्तित्व कायम राखे । तर, जनकपुर, धनगढीको निर्वाचन परिणामलाई विद्रोहका रूपमा मात्र नबुझ्दा राम्रो हुन्छ । काठमाडौं र धरानको परिणामलाई प्रतिक्रियाका रूपमा मात्र बुझ्नु हुँदैन । नभुलौँ, देशको राजधानी काठमाडौं मकहानगरमा कांग्रेस र एमालेले नगर प्रमुखमा प्राप्त गरेको मतभन्दा स्वतन्त्र उम्मेदवारहरूले प्राप्त गरेको मतको संख्या बढी छ । घरका भित्ताहरू चर्किएको कारण पत्ता लगाई समयमै पुनर्निर्माण गर्नु ठीक हुन्छ । भाषाको लिपपोतले चर्किएका भित्ताहरू टालिएलान्, तर बलिया हुँदैनन् । छाना खस्ने वेलासम्म पनि लिपपोतमै समय खर्चिनु समस्याको निराकरण गर्नु होइन ।
दलहरूले बुझ्नुपर्छ– निर्वाचन, सत्ता, प्रतिपक्ष आवधिक विषय हुन् र नागरिकको नेतृत्वप्रति क्रमशः घटिरहेको विश्वासको पुनर्प्राप्ति प्रधान विषय हो ।
राजनीति र राजनीतिक दलहरू सैद्धान्तिक जगमै उभिएका हुन्छन् । सिद्धान्तअनुरूप बाटाहरू तय गर्ने, निरन्तर यात्रा गर्ने र परिणाममा पुर्याउने कार्य नेतृत्वको हो । राजनीति सत्तामा पुग्न र असल नीति निर्माण गर्दै नागरिक सेवाकै लागि हो । लोकतन्त्रमा सत्तामा पुग्ने तीनवटा मार्ग छन् । पहिलो मार्ग, दल एक्लैले बहुमत प्राप्त गर्नु हो । दोस्रो, असल प्रतिपक्षको भूमिका निर्वाह गरेर आवधिक निर्वाचनमार्फत सत्तामा पुग्ने । तेस्रो, यसोउसो गठबन्धन गरेर तत्कालै सत्तामा पुग्ने । समय–सन्दर्भले सैद्धान्तिक कम र परिणामकेन्द्रित स्थानीय निर्वाचन सम्पन्न भयो ।
प्रमुख सहरलगायत विभिन्न स्थानमा सत्तापक्ष र प्रतिपक्षको अपेक्षा गलत साबित भयो । निर्वाचन आयोगको तथ्यांकअनुसार १३ प्रमुख, चार उपप्रमुख, १३६ वडाध्यक्ष र २३२ वडा सदस्यमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् अर्थात् दलहरू पराजित भएका छन् । नेताहरूले आफैँले ल्याएको व्यवस्थाको परिणामका रूपमा स्वतन्त्र व्यक्तित्वको विजयलाई व्याख्या गरिरहनुभएको छ । दलभित्रका विभिन्न तहका नेतृत्वलाई निराश हुन नदिनु नेतृत्वको धर्म हो । तथापि, आफ्नो कमजोरीलाई नेतृत्वले पक्कै पनि स्विकारेकै हुनुपर्छ ।
राजनीतिक दलहरू संस्था हुन् । संस्था निर्माणमा सिद्धान्त, समय र नेतृत्वको महत्वपूर्ण भूमिका छ । विश्वास आर्जन गरेर उभिएका संस्थाहरू र व्यक्ति विशेषलाई तुलना गर्नु उपयुक्त हुँदैन । राज्यले नागरिकलाई न्यूनतम खाना, नाना, छाना र सुरक्षाको प्रबन्ध गर्नैपर्छ । तत्कालै यावत् विषयको परिपूर्ति गर्न नसके पनि परिपूर्तिमा सम्पूर्ण ध्यान केन्द्रित छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ । विश्वासको क्षयीकरण तीव्र रूपमा बढिरहेको छ । व्याप्त भ्रष्टाचार, बेथितिले नागरिकको मनमा आँधीबेहरी सिर्जना भएको छ । देशको अवस्था र नागरिकको मनोविज्ञान बुझ्न सरकारी अस्पताल, विद्यालय, प्रमुख जिल्ला अधिकारीको कार्यालय, मालपोत कार्यालय आदि स्थानमा थोरै समय खर्चिए पुग्छ ।
प्रत्येक वर्ष खेती किसानीको समयमा प्राप्त नहुने मलले जवाफदेहिताको धज्जी उडाएको छ । देश श्रीलंका बन्दै छ भन्ने गभर्नर, अर्थ मन्त्रालयबाटै सूचनाको चुहावट, सिसिटिभी फुटेज मेटिएको सूचनाको स्वीकार आजको पुस्ताले गर्न सक्दैन । माता, पिता पुस्तामा जस्तै निरन्तर पढेर स्नातकोत्तर परीक्षापछि अर्थोपार्जनका कर्ममा लाग्ने मनोविज्ञान भाइ–बहिनी पुस्तामा छैन । कक्षा १२ को अध्ययन समाप्तिसँगै अर्थोपार्जनमार्फत आत्मनिर्भर र स्वाभिमानी जीवनको खोजीमा आजको पुस्ता छ । समयको चेतना धुरीतिर लम्किरहेको वेला पिँढीतिर अलमल्याउन खोज्नु दुर्भाग्यपूर्ण हुन्छ । प्रत्येक राजनीतिक दलभित्र नागरिकसँग सरल र सहज संवाद गर्न सक्ने दागरहित हजारौँ नेता छन् । दलभित्रको अन्तरलाई राजनीतिको मूलधारमा ल्याउन अवेला गर्ने सुविधा छैन । तहगत नेतृत्वको व्यक्तित्व विकासको जिम्मेवारी पनि दलहरूकै हो । नयाँपत्रिका
प्रतिक्रिया