बैसाख २२, २०८३ मंगलबार May 5, 2026

हिमाल, पहाड, मधेशका सबै परिवर्तनकामी शक्ति मिलेर आन्दोलन गर्नुपर्छ । – राजेन्द्र महतो (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईहरूको पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग हिमचिम बढिरहेको छ, के सरकारमा जाने तयारी हो तपाइहरूको ?
सरकारमा सहभागी हुने विषयमा होइन, हामीले हामीसँग भएका सहमति कार्यान्वयन र नागरिकका समस्या समाधानका लागि प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरूसँग कुराकानी गरिरहेका छौँ ।

सरकारका प्रमुख प्रधानमन्त्रीलाई हाम्रा माग पूरा गर्न आग्रह गर्ने, दबाब दिने काम गरिरहेका छौँ । सरकार बन्दा हामीसँग समर्थन मागिएको थियो, त्यसैले हामीले मुख्यतः नागरिकता सम्बन्धी अध्यादेश थियो, त्यसलाई संसदमा विधेयकका रूपमा ल्याउनुपर्छ भनेका थियौं ।

प्रधानमन्त्रीले ल्याउँछु भन्नुभएको थियो । त्यो विधेयक संसद्मा आएको छ । मधेश आन्दोलनका बेला १३९ जनालाई लागेको झुटा मुद्दाहरू फिर्ता गर्नु पर्ने लगायत माग पनि थियो । यतिका दिन भइसक्यो सम्बोधन भएको छैन । त्यसबारे पनि हामीले प्रधानमन्त्रीलाई घच्घच्याइ रहेका छौँ ।

अब सरकारले पूरा गर्नुपर्ने तपाईहरूका के–के माग बाँकी छन् ?
संसद र सरकारसँग हामीले राखेका महत्वपूर्ण माग पूरा हुन सकेका छैनन् । नेपाली जनता अधिकार र पहिचानका लागि संघर्ष गरिरहेका छन् । सरकार, संसद, नियम कानुन, संविधान के को लागि ?

संविधानबाट जनताले उपलब्धि पाए कि पाएनन् ? अहिले हामी सबै मिलेर इमानदारीसँग छलफल गर्नुपर्ने हो । जुन जनताका लागि संविधान बनाइन्छ, त्यही जनताको अधिकार खोसिएको छ । नेपालका जनतालाई किन अहिले पनि अधिकार र पहिचानका लागि लडेर गोली खानुपर्ने ?

तपाईहरू पनि माग राखिरहने, केही एउटा विषयमा आश्वासन पाएमा मख्ख भएर सरकारमा गइहाल्नुहुन्छ, त्यसरी कसरी हुन्छन् त सबै माग पूरा ?
हामी लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक प्रक्रियाबाट हिंड्छौं । हामीले अहिलेसम्म अधिकार, पहिचान र समृद्धिका कुरा गरिरहेका छौँ । हामी सडक, संसद्मा त्यही कुरा उठाउँछौँ ।

सरकारमा सहभागी गए पनि त्यही कुरा उठाउँछौ । हामीले मात्रै कुरा उठाएर पुगेन । हाम्रो शक्ति सानो छ, हाम्रो दबावले पुगेन । त्यसैले जनतालाई केन्द्रमा राखेर सबैले साझा हिसाबले हामी अगाडि बढिरहेका छौँ, बढ्छौँ पनि ।

शासन परिवर्तन भए पनि जनता त्यहीं छन् । संविधान ७÷७ वटा बनाइसक्दा पनि जनताले अधिकार पाउन सकेका छैनन् । संविधान र शासन पटक–पटक फेर्दा व्यवहार परिवर्तन हुन सकेको छैन ।

नेपाल सबै नेपालीका लागि बन्नै सकेन । नेपाल त पृथ्वीनारायण शाहले एकता गर्ने बेलामा साझा फूलबारी बनाउने भनेका थिए, हामीले साझा फूलबारी नै बनाएनौं ।

तपाइहरू बाहिर हुँदा मात्रै यो विषय उठाउनुहुन्छ, सरकारमा गएपछि यो विषयमा विचार मन्थन गरेको देखिन्न ?
सरकारमा हामी हिजो पनि गएका थियौँ । भोलि फेरि जान्छौं । समय आयो भने सरकारमा जाने हो । यो नर्मल कामहरू भइरहेको हो, भइरहन्छ । तर, यसले देश चल्दैन । देशको जुन समस्या हो, त्यसमा छलफल गर्नुपर्छ । त्यो विषय हामीले उठाए पनि सुनिदैन ।

अहिले तपाईहरूले गरिरहेको छलफल पनि सरकारमा जानका लागि गरिएको छलफल भन्ने बाहिर चर्चा परिचर्चा छ, खास के का लागि छलफल गर्नुभएको हो, प्रष्ट भनिदिनुस् न ?
मैले पहिल्यै भनिसके, हामी हाम्रा माग पूरा गराउनका लागि सरकारका रहेकाहरूसँग निरन्तर छलफलमा छौँ । नेपाल सबै नेपालीको लागि बन्न सकिरहेको छैन, बन्नुपर्छ भन्ने हाम्रो माग हो, हामी त्यही माग लिएर दलहरूसँग कुराकानी गरिरहेका छौँ ।

शासकले नश्लवादी चिन्तन, सोच बोकेका छन्, उनीहरूले मधेशको समस्यालाई देशको समस्या मानेनन् । हामीमाथि त फुटाउ र शासन गरको रणनीति अपनाइयो । बहुराष्ट्र राज्यका लागि देशमा राष्ट्रिय मुक्तिको क्रान्ति गर्नुपर्छ । हिमाल, पहाड, मधेशका सबै परिवर्तनकामी शक्ति मिलेर आन्दोलन गर्नुपर्छ ।

पार्टी विभाजनको कुरा निकाल्नु भयो, अरुले फुटाइदिएका कि तपाइहरू आफै फुट्नु भएको ?
फुटाउने–जुटाउने, फुट्ने–जुट्ने, सरकारमा आउने–छोड्ने धन्दा त बहुदलीय कालमा पनि भएकै हो । गणतान्त्रिक कालमा पनि भइरहेकै छ । यो प्रकारको चिन्तन, सोच रहेसम्म यो धन्दा त भइरहन्छ नि ! पार्टी भित्रको कारण भन्दा बाहिरी कारण बढीले हाम्रो पार्टी विभाजन भएको हो ।

यहाँहरूले सबैभन्दा बढी उठाएको नागरिकतासम्बन्धी विषय हो, त्यसबारे अहिले के भइरहेको छ । संसद्मा पेस भएको नागरिकता विधेयक बारे तपाईहरुको धारणा के हो ?
धर्ती नेपालको, त्यो धर्तीमा जन्मने चाहिं विदेशी हुने हुन्छ ? नेपाली नागरिक आमाबुवाका लाखौं सन्तानले नागरिकता पाउनुपर्छ भनेर वर्षौंदेखि आवाज उठेको उठ्यै छ । सरकारले बनाइ दिएन ।

हामीले सुरुदेखि नै भनेको भन्यै छौं । तर अहिलेसम्म पनि बनेको छैन । संसद्मा विधेयक पेस भएको छ, त्यसमा हामीले धारणा राख्नेक्रममा पक्षमा भएको धारणा राखिसकेका छौँ ।

नागरिकता समस्या देशमा होइन, मानसिकताको समस्या हो । नश्लवादी शासकको मानसिकताको समस्या हो । मधेशमा बस्ने जनता नेपाली हो भन्ने मानसिकता नबनाउँदाखेरि समस्या आएको हो । गैरजिम्मेवारपनको पराकाष्ठा हो ।

नागरिकतालाई बार्गेनिङ टुलका रूपमा प्रयोग गरेको आरोप पनि तपाईहरूमाथि लागिरहन्छ नी ?
समस्या उठाउनु बार्गेनिङ टुल होइन, नालायक शासकहरूले त्यसरी अथ्र्याएका मात्र हुन् । दबाब भएपछि मात्रै काम गर्ने सरकारको चरित्र भएका कारणले त्यसो भएको हो ।

सरकारले स्वतः गर्नुपर्ने काममा पनि जनताले आवाज उठाउनुपर्ने एकले अर्कालाई औंला उठाउने, राष्ट्रवादको परिभाषा पनि गलत ढंगले गर्ने, धोती लगाएको छ भने शंका गरिहाल्ने, टोपी लगाएको छ भने ऊ पक्का नेपाली भइहाल्ने । अभियान टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार