असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेसमा आन्तरिक एकता कसरी ? – अर्जुननरसिंह केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रिय परिवेश : राष्ट्रिय क्षीतिजमा मडारिएका संकट र आमजनताका विकराल समस्याले नेपाल अनेक दुश्चक्रउन्मुख हुँदै छ । यसका खतराले नेपाल असफल राज्य हुने खतरा देखा पर्न थालेका छन् । ‘नेपाल श्रीलंकाको नियतिमा जाने त होइन ?’ भन्ने त्रासले आमजनतालाई थप चिन्तित बनाएको छ । भ्रष्टाचारको महामारी, ऋणको भारी, बाह्य चलखेल र शक्ति राष्ट्रहरूको द्वन्द्वको क्रीडास्थलका चक्रव्यूह देशमा मडारिइरहेको देखिँदै छ ।

पृथ्वीको बढ्दो तापक्रम तथा जलवायु परिवर्तनका असरले विश्व आक्रान्त छ । भीषण गरिबी, अशिक्षा, बेरोजगारी, भौगोलिक विकटता, जातिगत असमानता, शोषण र हिंसात्मक गतिविधिका अनेकौँ रूप त नेपालका दीर्घ व्यथा नै भए । यीबाहेक नेपालले भोग्न थालेका संकट सत्ताका निहित स्वार्थ, गैरजिम्मेवार तथा लापरबाहीले सिर्जना गरेका सर्वाधिक भयावह परिणाम हुन्, जो सबै राजनीतिक पार्टी र शक्तिका साझा एजेन्डा हुन् । यसमा निर्मम समीक्षा, कठोर शल्यक्रिया र सघन उपचार दिएर मुलुकलाई बचाउनुपर्ने कर्तव्यका सूची हुन् ।दोस्रो विश्वयुद्धपछि ८० को दशकसम्म शीतयुद्धको केन्द्र युरोप थियो, वर्तमान परिवेशमा अमेरिका–चीनबीचको शीतयुद्धको स्थल–केन्द्र, दुई उदीयमान विशाल छिमेकी राष्ट्र भारत र चीनबीच बढ्दो आर्थिक, सामरिक तथा राजनीतिक शक्ति–द्वन्द्वका साथै यी छिमेकीको रस्साकस्सी र कटुतापूर्ण असीमित प्रतिस्पर्धाबाट हाम्रो भूभाग अलग रहन सक्दैन । यसबारे हाम्रो स्पष्ट दृष्टिकोण र उचित राष्ट्रिय भूमिका तय गरी विदेश नीति र राष्ट्रिय सुरक्षा नीति प्रतिपादन गर्दा सरकार कूटनीतिक रूपमा अत्यन्त चनाखो, सन्तुलित, व्यावहारिक र सकेसम्म राष्ट्रिय सहमतिउन्मुख हुनुपर्छ ।

संकटापन्न अर्थतन्त्र  : देशमा आर्थिक संकट चुलिँदै र विदेशी मुद्रा सञ्चिति ह्रासोन्मुख क्रममा छ । एकातिर विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी, अर्कातिर रुस–युक्रेन युद्धले ल्याएको आर्थिक मन्दीको कठोर अवस्थामा देशको अर्थतन्त्र सञ्चालनमा गरिएको खेलबाड गम्भीर र आपत्तिजनक छ । ‘समानान्तर अर्थतन्त्र’को रूपमा भ्रष्टाचार, तस्करी, माफियागर्दी, कमिसनखोरी, आर्थिक अपराधीले खेलाएको कालोधन राजनीतिमा पनि निर्णायक पहुँचको खतरनाक स्थितितिर मुलुक घिसारिनु संकटको मूल कारण हो । राष्ट्रबैंकको गभर्नरजस्तो गरिमामय ओहोदाका व्यक्तिबारे अनेकौँ विवाद र बजेट प्रस्तुत हुने अघिल्लो राति अर्थ मन्त्रालयमा भएको काण्ड र अर्थमन्त्रीको राजीनामाले धेरै रहस्योद्घाटन भएका छन् । यसले राजनीतिक नैतिकता मात्र होइन, सचिवालय प्रशासन कति लाचार, निरीह र विधिविहीन भएको छ भन्ने देखाएको छ । राजनीतीकरणको भयावह यो चित्र हरेक फाँटमा देखिएको छ । निष्पक्ष न्याय, विवेक र विधिबाट स्वतः परिचालन हुने परिस्थिति हराइरहेको छ ।

मुलुक आन्तरिक र बाह्य ऋणमा फस्दै गएको छ । विगत पाँच वर्षको अवधिमा गार्हस्थ उत्पादन घटिरहेको र आन्तरिक र बाह्य कर्जा दुई गुणाले बढेको छ । लगानी, उत्पादन, वितरण र रोजगारीको अवस्था संकटपूर्ण हुँदा कुल गार्हस्थ उत्पादन (जिडिपी) को २० प्रतिशत आन्तरिक र बाह्य कर्जा पनि धेरै हुन्छ । उत्पादनशील क्षेत्रमा लाग्ने पुँजीको लागि मात्र यस्तो ऋण जति लिए पनि हुन्छ । नेपालमा जिडिपीको ४३ प्रतिशत ऋणभार पुग्नु चेतावनीपूर्ण पूर्वसंकेत हो भने वार्षिक विकासमा पुँजीगत खर्च ४३ प्रतिशत मात्र हुनु अर्कातिर वितरणमुखी आर्थिक विनियोजनले स्थिति अझ भयावह हुन सक्ने देखाएको छ ।

दुःखसाथ भन्नुपर्छ, ट्रान्सपरेन्सी इन्टरनेसनलको हरेक वर्षको प्रतिवेदनमा १८७ मुलुकको भ्रष्टाचार सूचीमा नेपाल सर्वाधिक भ्रष्टाचार हुने मुलुकमा परिरहेको छ । यस वर्षको महालेखा परीक्षकको प्रतिवेदनले करिब पाँच खर्बको बेरुजु देखायो, जो वित्तीय अराजकता, भ्रष्टाचार र लापरबाहीको चिन्ताजनक चित्र हो । नेपाली मुद्राको क्रयशक्ति निरन्तर घटिरहनु, मुद्रास्फीति र महँगी अनियन्त्रित दरले आकासिनु र बढ्दो बेरोजगारी संकटमाथिको महासंकट हो । भर्खरै प्रकाशित राष्ट्र बैंकको कसिलो मौद्रिक नीति वर्तमान संकटमा कति सहयोगी र कामयाब हुन्छ, प्रतीक्षामा छ ।

अनियन्त्रित हुँदै गएको दण्डहीनता तथा भ्रष्टाचार र सुशासनको अभावले आर्थिक अपराधी, माफिया र बिचौलियालाई संरक्षण र हौसला पुगेको वर्तमानमा यसको निराकरणका लागि आजसम्मका सम्पूर्ण चर्चित भ्रष्टाचार काण्डउपर पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी यथार्थ जनसमक्ष ल्याई न्यायोचित कारबाही गर्ने पहल गरियोस् । यसबारे मैले धेरैपटक आफ्नै पार्टीको मञ्चबाट साथै मिडिया र जनसभाहरूमार्फत पनि बारम्बार आवाज उठाउँदै आएको छु । मुलुकलाई न्यायोचित रूपमा आर्थिक अपराधीबाट मुक्त गराउनु नै संकटापन्न अर्थतन्त्र सुधारको प्रथम खुड्किलो हो ।

लोकतन्त्र र विधिसंगत प्रक्रिया : पारदर्शी तथा विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनयुक्त राज्य सञ्चालनमा विश्वास राख्ने कांग्रेस र यसका सभापतिले सत्ता सम्हालेको वेलामा पनि निरंकुश भनिएको पूर्ववर्ती एमाले नेतृत्वको सरकारका पालामा प्रधानमन्त्रीमातहत राखिएका राजस्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान तथा सम्पत्ति शुद्धीकरण विभागहरू यथावत् राखिरहनुको औचित्य छैन । संवैधानिक परिषद् ऐन संशोधनको आवश्यकता किन प¥यो ? यसमा संविधान, पद्धति र ऐनबारे हाम्रो पूर्वअडान र प्रतिपक्षी दलको आसनबाट हामीले यसको विरोध गरेको आफ्नै आवाज सम्झौँ । तिनलाई यथास्थानमा पुनस्र्थापित गर्नुपर्ने हाम्रो दायित्व हो ।दण्डहीनता, भ्रष्टाचार र कुशासनको एकमुस्ट परिणामका रूपमा राजनीति र निर्वाचनमा पैसाको बोलवाला बढेर गएको छ । अर्कातिर सिद्धान्त, नैतिकता, निष्ठा, इमानदारी र समर्पणजस्ता राजनीतिका मानवीय गुण निरीह वा समाप्त हुँदै गएका छन् ।

कांग्रेसको चौधौँ महाधिवेशनले केवल नेता व्यवस्थापन गर्‍यो, नीतिगत छलफल र निर्णय गरेन । आजको चुनौतीपूर्ण राष्ट्रिय स्थितिको विश्लेषण र विवेचना गर्न नीतिगत निर्णयका लागि सानो समूह वा केन्द्रीय कार्यसमतिले मात्र होइन, कांग्रेसको महासमिति बैठक गर्नु आवश्यक छ । महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि केन्द्रीय विभाग गठन र भ्रातृसंस्थाहरूको अधिवेशन गरी पार्टीलाई पूर्णता दिन नसक्नु दुःखद पक्ष हो । नीति–महाधिवेशन अनिवार्य छ ।

कांग्रेसभित्रको एक पक्षलाई उपेक्षा र तिरस्कार गरेर गठबन्धनका नाममा एकपक्षीय सोच र स्वार्थले आजको चुनौती सामना गर्न सकिन्न । यसबाट मुलुक, लोकतन्त्र र कांग्रेसको समग्र हित हुन सक्दैन, थप गम्भीर क्षति मात्र हुन्छ । 

पार्टी सभापति बलियो र सक्षम हुनुपर्नेमा विवाद छैन । यसमा हाम्रो पूर्ण सहयोग रहन्छ नै । तर, पार्टीको विधान र पद्धति लत्याएर निरंकुश बन्न खोज्दा ठूलो क्षति हुन्छ । पार्टीको केन्द्रीय समितिले ‘स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गर्ने’ निर्णय लियो । पछि यही निर्णयविपरीत हस्तक्षेप हुनु केन्द्रीय कार्यसमिति र पार्टी विधानको बर्खिलाप हो । पार्टी विधानद्वारा स्थापित मान्यता, परम्परा, संयोजन र न्यायोचित साझेदारी निर्णायक प्रक्रिया नभए यसबाट अरू क्षति पुग्न सक्ने नेतृत्वले हेक्का राख्नुपर्छ ।

प्रतिबद्धता र आन्तरिक प्रतिस्पर्धा :  कांग्रेसलाई ‘विपत् सम्हाल्ने संकटमोचक पार्टी’ को रूपमा इतिहासले स्थापित गरेको छ । त्यसैले कांग्रेस नेतृत्वको सरकार र कांग्रेसले भरोसायोग्य परिणाम दिनुपर्छ । निर्वाचनका वेलामा जनतामाझ गरिएको वाचा (घोषणापत्र) लाई ध्यानमा राखेर काम गर्न स्थानीय तहमा निर्वाचित कांग्रेसका साथीहरूलाई पार्टीले पृष्ठपोषणसहित निर्देशन दिनु जरुरी छ । स्थानीय तहको कार्यसम्पादनमा कांग्रेस अन्य पार्टीभन्दा उत्कृष्ट हुनुपर्ने सवालमा हामीले नीति, अभिमुखीकरण कार्यक्रम र निष्कर्ष बनाउनुपर्छ ।

हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उठेका गम्भीर विषय र पारित प्रस्तावप्रति सरकार इमानदारीपूर्वक कार्यान्वयनमा लाग्नुपर्छ । वर्तमान सरकार गठन हुनुअघि र हालको आर्थिक परिस्थितिबारे श्वेतपत्र प्रकाशित गरी जनतालाई सुसूचित गर्नु आवश्यक छ । सरकार गठन हुँदा पाँचदलीय गठबन्धनले जारी गरेको साझा न्यूनतम कार्यक्रम कता थन्किएको छ ? त्यसलाई खोजेर पढ्नु र तदनुरूप कार्यान्वयन गर्नु सरकारको अनिवार्य दायित्व हो ।

ह्रासोन्मुख युवा तथा बौद्धिक जनमत :  मूलधारका पार्टीप्रति युवापुस्ताको वितृष्णा र अविश्वास बढ्दै गएकाले नै स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारतर्फ मतदाता आकर्षित भए । जनसंख्याको ४० प्रतिशत नयाँ पुस्ता र मतदातालाई पार्टीमा आकर्षित तथा सहभागी हुने भरोसायुक्त युवा परिचालनका विशेष कार्यक्रम र रणनीतिको अभावको नतिजास्वरूप जनताको आस्था डगमगाएको देखिन्छ । यसबाट उचित शिक्षा लिएर समयमै कोर्स करेक्सन गरिएन भने आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या र मतदाता थपिन सक्ने कटु यथार्थबारे समयमै सतर्कता अपनाउनु जरुरी छ ।बौद्धिक समुदायमा देखिएको निराशा र असन्तोष किन बढेको छ ? यसको निराकरणबारे पार्टीभित्र चिन्तनको साथै सोझै प्रवेशको बाटो दिनु आवश्यक छ । उनीहरूको बौद्धिक र प्राविधिक क्षमता राष्ट्र–हित र पार्टी संगठनका लागि सहभागिता जुटाउने उपाय अपनाउनुपर्छ ।

जनताको निकट सम्पर्क र राज्यको अग्रपंक्तिमा रहेका स्थानीय तहको निर्वाचनपछि कांग्रेसले उपलब्धि मात्रमा दंग पर्ने अवस्था छैन । उम्मेदवार लादिने र अन्तरघातबाट मुक्त रहने अनुशासित वातावरणको खाँचो छ । यसका लागि पारदर्शी, विधिसंगत नीति–निर्माण प्रक्रिया पहिलो सर्त हो । अन्यथा, नेतृत्वको इच्छामा लादिने परम्परा कायमै रहे बेथिति अझ बढेर जान सक्छ र थप क्षति हुन सक्छ । कार्यशैलीमा गुणात्मक सुधारले मात्र परिमाणात्मक उपलब्धिको सार्थकता रहन्छ । निर्वाचनमा पैसाको बोलवाला लगामबाहिर गइसक्यो । यसले सबै पार्टी, लोकतन्त्र, विधिको शासनलाई खाइदिन्छ । समय छँदै निर्वाचन पद्धतिमाथि नै राष्ट्रिय बहस चलाउनुपर्ने देखिन्छ । ‘कसैलाई पनि मत नदिने (‘नो भोट’) को व्यवस्थाले जनप्रतिनिधित्वको गुणवत्ता कायम गरी भ्रष्टाचार नियन्त्रण गर्न सघाउ पुग्नेछ ।

नेतृत्वको दायित्व :  स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई गठबन्धनको बैसाखी आवश्यक थियो कि थिएन भन्ने व्यापक विवाद र बहस भएकै हो । चुनावी गठबन्धन तात्कालिक रणनीति मात्र हो, यो नै पार्टीको गन्तव्य र अन्तिम लक्ष्य होइन । संघीय र प्रदेश संसद्को आसन्न निर्वाचनमा गठबन्धन आवश्यक छ भन्ने पार्टीको निर्णयसँगै कांग्रेसको स्वाभिमान र सम्मानजनक हैसियत रक्षा गर्ने स्पष्टतासहित निश्चित मापदण्ड, आचारसंहिता र पार्टीको संस्थागत निर्णयको आधारमा गठबन्धन हुनुपर्छ । गठबन्धनको निर्णय गर्न जति सजिलो छ, कार्यान्वयनमा रूपान्तरण त्यति नै चुनौतीपूर्ण छ । पार्टी विधान र निर्णयको उपेक्षा गरेर उच्चस्तरीय संयन्त्रका नाममा पार्टीमाथि निर्णय लादिनुहुन्न । यी दुवै तहका संसदीय निर्वाचनमा कांग्रेसले बहुमतको लक्ष्य राख्नुपर्छ । गठबन्धनको औचित्य र कांग्रेसको निर्णायक हैसियत कायम राख्न पार्टीभित्र बृहत् ऐक्यबद्धतापूर्ण उत्साही वातावरण बनाउनु जरुरी छ । निर्वाचनमा तालमेल वा गठबन्धनमा जाने हो भने गठबन्धनका घटक दलबीच मुलुकले भोगिरहेका साझा समस्या र एजेन्डामा साझा धारणा तय हुनुपर्छ । विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा एकरूपता हुनु आवश्यक छ ।

पार्टीभित्र समग्र एकता अनिवार्य आवश्यकता हो । यसको विकल्प गठबन्धन होइन । मेलमिलाप, सहमति र एकता भनेको सहअस्तित्व हो, सबैको सम्मान हो, आत्मसमर्पण होइन । आन्तरिक विपक्षको पनि नीति–निर्णायक प्रक्रियामा साझेदारी र न्यायोचित सहभागिताले मात्र एकता कायम हुन सक्छ । विधि, प्रक्रिया र पारदर्शितासाथ एकता आजको चुनौतीपूर्ण स्थितिको सामना गर्ने एक मात्र आधार हो । कांग्रेसभित्रको एक पक्षलाई उपेक्षा र तिरस्कार गरेर गठबन्धनका नाममा एकपक्षीय हितको सोच र स्वार्थले आजको चुनौती सामना गर्न र मुलुक, लोकतन्त्र र कांग्रेसको समग्र हित हुन सक्दैन, यसबाट थप गम्भीर क्षति मात्र हुन्छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार