असार २४, २०८२ मंगलबार July 8, 2025

प्रत्यक्ष चुनाव लड्न देऊ – डा. डिला संग्रोला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालको संविधान २०७२ ले लिंगका आधारमा कसैमाथि पनि भेदभाव नगर्ने व्यवस्था गरेको भए पनि हामी आममहिलाले व्यवहारमा भने निकै विभेद भोगिरहेका छौँ । आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मिति तोकिएको छ । जब चुनाव आउँछ, तब संविधानको छिद्रमा टेकेर राजनीतिक दलहरूले महिला नेतृहरूमाथि विभेद गरिरहेको महसुस हुन्छ । कुरा गरौँ, निर्वाचन प्रणालीको । हामीकहाँ संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक गरी दुईवटा निर्वाचन प्रणाली अवलम्बन गरिएका छन् । विगतलाई हेर्दा हाम्रो निर्वाचन दिन दुगुना, रात चौगुना महँगो बन्दै गएको छ ।

जसले धेरै पैसा, शक्ति र मान्छे प्रयोग गर्न सक्यो, उसैले चुनाव जित्ने अवस्था बढ्दै गएको छ । महिलाहरू तिनै पाटोमा कमजोर छन् । न उनीहरूसँग खर्च गर्न सक्ने प्रशस्त पैसा छ, न शक्ति छ, न वरिपरि झुम्मिने मान्छे नै छन् । यसैलाई आधार मानेर सबैजसो राजनीतिक दलले महिलालाई प्रत्यक्ष निर्वाचनमा टिकट नदिने प्रवृत्ति छ । यो प्रवृत्ति नयाँ भने होइन । राजनीतिक दलहरू ठान्छन्, समानुपातिक पद महिलाका लागि बनाइएको हो । किन यस्तो ठानिन्छ ? यो प्रश्न टड्कारो बन्दै गएको छ ।

ठूला प्रतिस्पर्धी दलले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाउँदा ०७४ मा प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव जित्ने ६ जना महिला मात्र थिए । समानुपातिकबाट ८४ र राष्ट्रिय सभामा २१ जना महिला गरी कुल ११२ जना महिला छन् । संघीय संसद्मा ३३ प्रतिशत महिलाको अनिवार्य उपस्थिति हुनैपर्ने संवैधानिक व्यवस्थाका कारण दलहरूले बाध्य भएर समानुपातिक प्रणालीबाट महिलाको उपस्थिति गराएका हुन् । जनगणना २०७८ का अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । देशभर एक करोड ४९ लाख एक हजार १६९ महिला छन् भने पुरुष एक करोड ४२ लाख ९१ हजार ३११ जना छन् । पुरुषभन्दा महिलाको संख्या ६ लाख नौ हजार आठ सय ५८ ले बढी छ ।

जनसंख्याका आधारमा पुरुषभन्दा बढी संख्यामा रहेका महिलालाई संसदीय चुनावमा समानुपातिकमा खुम्च्याएर सीमित बनाउन संविधानतः मिल्छ ? यो प्रश्न दलहरूका लागि हो । हामीले जनसंख्याका आधारमा हरेक दलबाट प्रत्यक्ष चुनावका लागि ५० प्रतिशत उम्मेदवार बनाउन माग गरेका छौँ । हरेक राजनीतिक दलले महिलाका लागि प्रत्यक्षमा आधा महिलालाई उम्मेदवार बनाउनुपर्छ । यदि हामी महिलाले प्रत्यक्षबाट चुनाव लड्न टिकट पाएनौँ, समानुपातिकमा सीमित हुँदै गयौँ भने हामी जनतासामु कहिले पुग्ने ? जनताका समस्या कहिले बुझ्ने ? राजनीति कहिले बुझ्ने ? देशको नीति–निर्माण गर्ने ठाउँमा कहिले पुग्ने ? राजनीतिमा नेतृत्व कहिले लिने ? यी प्रश्नको जवाफ महिलाले खोज्दै छन् ।

प्रतिनिधिसभा र प्रदेश सभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या ५० प्रतिशत हुनुपर्ने माग राखेर महिला सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पनि दर्ता गराइसकेका छन् । निर्वाचनमा जनसंख्यालाई आधार मानेर महिला उम्मेदवार तय गर्नुपर्ने हाम्रो माग रहेको छ । मिश्रित निर्वाचन प्रणालीमा समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली दुवै प्रक्रियाबाट महिला र पुरुष चयन हुनुपर्ने संविधानको मर्म हो । तर, ०७४ को निर्वाचन प्रणाली हेर्दा पुरुषसमेत विभेदमा परेका छन् । किनकि समानुपातिकबाट पुरुष आउनै पाएनन् । संविधानको मर्मअनुसार निर्वाचनसम्बन्धी कानुनको आवश्यकता महसुस गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको हो । आसन्न निर्वाचनमा जाँदा पहिलो हुने निर्वाचन प्रणालीमा बराबर संख्यामा महिलाको उम्मेदवारी हुनु अनिवार्य छ । समानुपातिक निर्वाचन प्रणालीबाट समान संख्यामा पुरुष सदस्यलाई सहभागी गराउन सकिन्छ । महिलाको पनि संविधानबमोजिम समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सकिन्छ ।

हामी महिलाले प्रत्यक्षबाट चुनाव लड्न टिकट पाएनौँ र समानुपातिकमा सीमित हुँदै गयौँ भने जनतासामु कहिले पुग्ने ? जनताका समस्या कहिले बुझ्ने ? राजनीति कहिले बुझ्ने ? देशको नीति–निर्माण गर्ने ठाउँमा कहिले पुग्ने ? राजनीतिमा नेतृत्व कहिले लिने ? 

‘५० प्रतिशत उम्मेदवार महिला’

समानुपातिक प्रणाली महिलाका लागि हो भन्ने मानसिकता त्यागेर दलले आगामी प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा कुल उम्मेदवारको ५० प्रतिशत महिला उठाउनुपर्ने आवाज उठेको हो । पुरुष उम्मेदवारले जित्छन् र महिलाले हार्छन् भन्ने गलत मानसिकता लिएर महिलालाई समानुपातिकमा सीमित गर्न‘ गलत अभ्यास हो । महिलाहरू चुनावका दौरान जनताका घरदैलो पुग्न सक्छन्, जसका कारण उनीहरूको राजनीतिक जीवनलाई सक्रिय बनाउन मद्दत पुग्नेछ । जनताले जिताएमा संसद्मा प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । महिलालाई प्रत्यक्ष निर्वाचन प्रणालीमा जति धेरै उम्मेदवार बनाउन सकियो, उत्ति नै चुनाव पनि निर्वाचन आयोगले तोकेभन्दा कम खर्चिलो हुन्छ । किनकि, महिलाहरू खर्चमा मितव्ययी पनि हुन्छन् । यो राजनीतिक दलहरूले राम्रोसँग बुझ्न जरुरी छ । यसपटक पुरुषलाई समानुपातिक प्रणालीबाट लैजानुपर्छ । सधैँभरि राजनीतिक डाडुपन्यु पुरुषको हातमा भयो । टिकट बाँड्ने स्थानमा पनि पुरुष नै छन्, महिला छैनन् । संविधानको छिद्रमा टेकेर महिलालाई समानुपातिकमा सीमित गरिँदै आएकामा अब त्यसो गर्न पाइँदैन ।

तीन महिनाअघि स्थानीय तहको चुनाव सकिएको छ । हामी स्थानीय सरकारमा जेनतेन ४० प्रतिशत महिलाको प्रतिनिधित्व गराउन सक्षम भएका छौँ । यो ०७४ को चुनावी नतिजाजस्तै हो । स्थानीय चुनावमा दलहरूको तालमेल, गठबन्धनका कारण प्रमुख सिटमा महिला प्रतिनिधित्व खासै बढ्न सकेन । संविधानले व्यवस्था गरेको आरक्षण पद्धति कानुनमा एकै दलले उम्मेदवार उठाउँदा भनिएका कारण व्यवहारमा कार्यान्वयन हुन सकेन । गठबन्धन दलले प्रमुख, उपप्रमुख र वडाध्यक्षमा पुरुष–पुरुष उम्मेदवार बनाउँदा महिला पछाडि परे । बाध्यतात्मक पद जस्तै– महिला सदस्य, दलित महिला सदस्य, एउटै दलले उम्मेदवार उठाउँदा प्रमुख र उपप्रमुखमध्ये एक महिलाजस्ता बाध्यात्मक पदमा मात्रै महिला आए । अन्य खुला मुख्य पदमा महिलाको संख्या धेरै कम छ ।

आरक्षण सधैँभरिका लागि स्थायी रूपमा बनाइएको प्रणाली होइन । यो केही निश्चित समयसम्म महिलालाई राज्यका निकायमा प्रतिनिधित्व बढाउन ल्याइएको व्यवस्था हो । आरक्षणमा टेकेर हिँड्न महिला त्यति सारो इच्छुक पनि छैनन् । यो बाध्यात्मक अवस्था हो । सदियौँदेखि पछाडि पारिएका महिलालाई केही सजिलो बाटोबाट अघि बढ्ने गोरेटोका रूपमा आरक्षणको व्यवस्था गरिएको हो । जसले महिलाको प्रतिनिधित्व बढाउन मद्दत पुगेको छ । नेपालमा संघीय संसद्मा ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीमा खासगरी धेरै संख्यामा निर्वाचन क्षेत्र भएका जिल्लामा उम्मेदवारमा आरक्षणको व्यवस्थालाई बाध्यात्मक बनाई सुरुवात गर्न आवश्यक देखिन्छ । प्रदेश तहमा समेत निश्चित समय अवधिका लागि उम्मेदवारमा आरक्षण आवश्यक छ । महिला उम्मेदवार वा निर्वाचित महिलाका आधारमा राजनीतिक दललाई वित्तीय अनुदान दिएर महिला प्रतिनिधित्व बढाउन सकिन्छ । एकीकृत निर्वाचन कानुनका लागि बन्ने विधेयकलाई पूर्णता दिई राज्य संरचनाका सबै तहमा महिलाको समानुपातिक प्रतिनिधित्व गराउन सकिन्छ ।

अन्तर्राष्ट्रिय अभ्यास 

चुनावमा महिलालाई निकै प्राथमिकता दिने देशहरू पनि छन् । राजनीतिमा महिला प्रतिनिधित्वका लागि वित्तीय अनुदान दिने देश पनि छन् । जर्जियामा प्रत्येक १० जना उम्मेदवारमध्ये तीनजना महिला भएका पार्टीलाई सरकारले ३० प्रतिशत आर्थिक सहयोग गर्ने व्यवस्था छ ।

चुनाव आएपछि संविधानको छिद्रमा टेकेर राजनीतिक दलहरूबाट प्रत्यक्षतर्फको टिकट वितरणमै महिला नेतृहरूमाथि विभेद हुने गरेको छ ।

माल्दोभामा राजनीतिक पार्टीले ४० प्रतिशत महिला उम्मेदवार उठाएमा १० प्रतिशत सार्वजनिक कोष प्राप्त गर्ने व्यवस्था छ । साथै महिला निर्वाचित भएमा त्योभन्दा धेरै आर्थिक सहयोग पाउँछन् । अल्बानियामा ३० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था छ । यदि त्यसो गरेनन् भने दलहरूलाई सजायस्वरूप जरिवाना तिराई सो रकम सार्वजनिक कोषमा जम्मा गर्ने चलन छ । फ्रान्समा यदि दुई प्रतिशतभन्दा बढीले उम्मेदवारीमा लैंगिक रूपमा अन्तर देखियो भने १.५ गुणाले सार्वजनिक कोषमा घटाउने व्यवस्था छ ।

त्यसैगरी क्युबामा ५३ प्रतिशत, मेक्सिको र युएईमा ५० प्रतिशत, न्युजिल्यान्डमा ४९ प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व हुने गरेको छ । त्यसैगरी स्विट्जरल्यान्डमा तल्लो सदनमा ४२.५ प्रतिशत र माथिल्लो सदनमा २८ प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व छ । पेरु तथा द नेदरल्यान्डसमा ४० प्रतिशत प्रतिनिधित्व छ । रुवान्डामा तल्लो सदनमा ६१ प्रतिशत महिलाको प्रतिनिधित्व छ भने माथिल्लो सदनमा ३४ प्रतिशत बढी महिला प्रतिनिधित्व छ ।

संसारका विभिन्न देशमा महिलाका लागि कुनै न कुनै रूपमा आरक्षणको व्यवस्था गरिएको छ । लोकतन्त्रको अभ्यास जबसम्म परिपक्व हुँदैन, तबसम्म महिलालाई संवैधानिक र कानुनी आरक्षण दिने गरिएको पाइन्छ । देशको आन्तरिक लोकतन्त्र बलियो र लोकतान्त्रिक संस्कार संस्थागत भएका राजनीतिक दलले विभिन्न मुलुकमा स्वस्फूर्त रूपमा आरक्षण दिएको पनि भेटिन्छ । नेपालमा पनि राम्रा अन्तर्राष्ट्रिय अभ्यास पछ्याउँदै महिलाको प्रतिनिधित्व बढाउन आवश्यक छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार