वैशाख ८, २०८१ शनिबार April 20, 2024

गठबन्धनले सोँचेजस्तो एमालेले धेरै कमजोर नतिजा ल्याउँदैन । – प्राध्यापक डा. जनार्दन आचार्य (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

४ मंसिरको चुनाव सत्ता गठबन्धन भर्सेज एमालेजस्तो देखिँदैछ । कसरी लिनुभएको छ ?

बहुदलीय पद्धती मूलतः सिद्धान्त र दृष्टिकोणको लडाइँ हो । भिन्न विचार, सिद्धान्त र दृष्टिकोण बोकेर दलहरू बनेका छन् । तर, चुनाव जित्नैका लागि सिद्धान्तहीन गठबन्धन बन्छ भने त्यसले लोकतन्त्रलाई बलियो बनाउँदैन । सत्ता गठबन्धनका नाममा अहिले जेजस्तो रवैया देखाइएको छ, त्यसले हाम्रो भावी पुस्तालाई राजनीतिक रूपमा सिद्धान्तविहीन बनाउँछ । पाँच पार्टीले १६५ सिट बाँडफाँट गरेर साझा उम्मेदवार उठाउने, एमालेले राप्रपा र लोसपासँग तालमेल गर्ने जुन परिदृश्य देखिएको छ, यस्ता गठबन्धनले पार्टीहरूलाई दुई/चार सिट फाइदा त पुग्ला । तर, विचारको राजनीतिलाई त्यसले कमजोर पार्छ ।

यो चुनावमा गठबन्धन एक ढिक्का भएर जाने स्थिति कत्तिको देख्नुहुन्छ ?

त्यस्तो छैन । गठबन्धन पार्टी र तिनका कार्यकर्ताका लागि मात्र हो । आम मतदाता त स्वतन्त्र छन् । एउटै पार्टीभित्र त गुट मिलाउन पार्टीहरूलाई महाभारत छ, ५ पार्टी मिलाउनु सहज छैन । अहिलेको विवाद घटाएर उपयुक्त उम्मेदवार दिनसक्दा एउटा कुरा हो । तर, मलाई के लाग्छ भने गठबन्धनका शीर्ष नेताले जे परिणामको अपेक्षा राखेका छन्, त्यो आउँदैन ।

पहिले चुनावपछि एउटै पार्टीको बहुमत नआएपछि गठबन्धन बनाएर सत्ता साझेदारीको अभ्यास थियो । २०७४ मा चुनावअघि नै एमाले–माओवादी केन्द्रको बाम गठबन्धन भयो । अहिले पाँच दलको चुनावी गठबन्धन बनेको छ । यसलाई कसरी लिनुहुन्छ ?

जे भइरहेको छ, गलत अभ्यास भइरहेको छ । हामीले यस्तो संविधान बनायो कि यहाँ कुनै एउटा पार्टीले बहुमत हासिल गर्न सक्दैन । सधै मिलिजुली सरकारको परिकल्पना गर्छ । मिलिजुली भन्नासाथ लेनदेन, पद र पैसाको कुरा आउँछ । अहिले नै हामी सुनिरहेका छौँ, उम्मेदवारले टिकटकै लागि लाखौँ खर्च गरिरहेका छन् । त्यसैले हाम्रो प्रणालीमै त्रुटि भयो ।

अघिल्लो चुनावमा कम्तिमा आफूलाई कम्युनिष्ट भन्ने पार्टीको गठबन्धन थियो । चुनावपछि एकता गर्छौं पनि भनेका थिए । एकता पनि गरे । कुन स्वार्थले त्यो टिकेन त्यो पनि हामीले देख्यौँ । तर, अहिले सत्तासीन पार्टीहरूले चुनाव लड्न जुन गठबन्धन बनाएका छन् त्यो पुरापुर अप्राकृतिक र अस्वस्थकर अभ्यास हो । अर्को शब्दमा भन्ने हो भने यो मतदातामा लाद्न खोजिएको राजनीतिक सिण्डिकेट हो । यो सामन्ती गठबन्धन भयो । यसले त ओलीजीका गल्तीलाई नै बिर्साइदिएको छ । लोकतन्त्रका लागि नसुहाउने यस्तै अस्वस्थकर अभ्यासले हो, जनताले हराएका शक्तिको पुनरोदय हुने । इटलीमा मुसलिनको पार्टी फर्किसक्यो । जर्मनीमा हिटलरको पार्टी आउँदैछ । नेपालमा राप्रपाहरूले भोट बढाउँदैछन् ।

गठबन्धनका नेताहरू के भनिरहेका छन् भने संविधान र लोकतन्त्र जोगाउन यो सबै गर्नुपर्‍यो । प्रधानमन्त्री हुँदा असंबैधानिक ढंगले संसद विघटन गरेर केपी ओलीले जुन प्रतिगमन गरे, त्यो पुनरावृत्ति हुन नदिन अहिलेको गठबन्धन भनिरहेका छन् नि ।

ल ठीक छ, प्रधानमन्त्री हुँदा खड्गप्रसाद ओलीले जे गल्ती गरे त्यसविरुद्ध त्यतिबेला गठबन्धन बन्यो । गठबन्धन सरकारमा आएपछिचाहिँ लोकतन्त्र र संविधानको पालना भइरहेको छ त ? न्यायालय कसरी नेतृत्वविहीन बनाइएको छ ? प्रधानन्यायाधीशमाथि आरोप लगाइयो, महाभियोग लाग्यो । समयभित्रै त्यो नटुंग्याएर जुन तमासा देखाइयो त्यही हो लोकतन्त्र ? नागरिकता सम्बन्धीलगायत विवादास्पद विधेयकहरू कसरी पारित भए ? हिजो ओलीजीलाई जुन अध्यादेश ल्याउँदा विरोध गरियो, आज त्योभन्दा निम्न कोटीको अध्यादेश ल्याएर पार्टी विभाजन गराइयो । राजनीतिक मूल्य मान्यता एकनासको हुनुपर्छ । सत्तामा हुँदा एउटा, बाहिर हुँदा अर्को त्यो त भएन नि । प्रजातन्त्रको दुहाई दिँदै यही प्रणालीलाई नै संकुचित बनाउन मिल्छ र ?

अहिले बाम शक्ति विभाजित छ । यस्तो स्थितिमा पनि कांग्रेस एक्लै चुनावमा जान नचाहनुको कारण के होला ?

यो मामिलामा कांग्रेस सभापति शेरबहादुर देउवा इमान्दार लाग्यो । उहाँले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको गुन तिर्न थाल्नुभयो । जुन शक्तिले माधव र प्रचण्डजीलाई देउवासँग नजिक गरायो त्यसले पनि कांग्रेसलाई गठबन्धनबाट भाग्ने छुट दिन्न होला । पार्टीहरू विदेशी शक्ति केन्द्रबाट यसरी निर्देशित छन् कि उनीहरू आफ्ना पार्टी कमिटी र नेताहरूका कुरा सुन्ने स्थितिमा छैनन । मिल्न पनि अरुकै सिग्नल पर्खिन्छन्, अनि छुट्टिन पनि अरुकै सिग्नल । कांग्रेसको लगाम शेरबहादुर देउवाको हातमा मात्र छैन ।

एमालेको अवस्था कस्तो देख्नुहुन्छ ?

एमालेले समानुपातिक मत बढाउँछ । प्रत्यक्षको नतिजा कस्ता व्यक्तिले टिकट पाउँछन् भन्नेमा निर्भर हुन्छ । गाउँबस्ती घुम्ने क्रममा मैले के सुनिरहेको छु भने एउटा पार्टीविरुद्ध गठबन्धन नै बनाएर चुनाव लड्ने भनेपछि एमाले त ठूलो शक्ति रहेछ । पाँच जना मिलेर एक जनाविरुद्ध लड्दा त जितिहाल्छ नि भन्ने सहानुभूति मैले सुनेँ । त्यसले पनि १/२ प्रतिशत मत बढ्छ भन्ने लाग्छ ।

ओलीजीले सर्वसम्मत सिफारिस भएका भीम रावललाई रोक्न खोज्दै हुनुहुन्छ भन्ने सुनिन्छ । यदी त्यस्तो हो भने चुनावको मुखमा यसले ठूलो नकारात्मक असर गर्छ । त्यस्तै, टिकटको आश्वासन लिएर धेरै मानिसहरू एमालेमा गइरहेका छन् । जुन प्रलोभन देखाएर लगिएको छ, त्यो भएन भने ति फर्किएलान् । तर, मलाई के लाग्छ भने यदी एमालेले जिल्लागत र निर्वाचन क्षेत्रगत रूपमा भिजेको, जनाधार भएका, स्थानीय रूपमा लोकप्रिय नेता उम्मेदवार छान्यो भने २०७४ को कांग्रेसको हाल हुँदैन ।

अनि, माओवादी केन्द्रले गठबन्धनबाट फाइदा उठाउला ?

गठबन्धनबाट सबैभन्दा धेरै लाभ हुने नै माओवादीलाई हो । एक्लाएक्लै लड्नुपर्दा माओवादी धेरै पछाडि हुने स्थिति छ । गठबन्धनको बलमा तेस्रो शक्तिकै रूपमा आउँछ । प्रचण्डजीको अवसरवादी र अस्थीर जुन स्वभाव छ त्यसले माओवादी केन्द्रलाई बिस्तारै खुम्च्याउँदै लगेको छ । राजनीतिमा माओवादी जुन परिभाषा र उद्देश्य लिएर आएको थियो, त्यो च्यूत भइसक्यो । अब चुनाव जित्ने खेलबाहेक उसँग कुनै आदर्श देखिँदैन ।

स्वतन्त्रहरूको पनि धेरै नै चर्चा छ । खासगरी स्थानीय चुनावमा काठमाडौं, धरान र धनगढीको नतिजाले पनि होला, धेरैले स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका छन् । स्वतन्त्रले मूलधारलाई चुनौती दिनसक्ला ?

स्वतन्त्रको हल्लाखल्ला शहरी क्षेत्रमा हो । केही चिनिएका अनुहारले पनि उम्मेदवारी घोषणा गरेकाले मिडियामा ती छाइरहेका छन् । एकाध क्षेत्रमा जित्लान् पनि । तर, गाउँबस्तीमा पार्टीहरूकै प्रभाव छ । पार्टी कार्यकर्ताकै दबदबा छ । त्यसैले राजनीतिक दलहरूप्रति जस्तोसुकै वितृष्णा जाग्दैगएको भए पनि सत्तालाई धक्का दिनेगरी स्वतन्त्र आउनसक्दैनन् ।

कमल थापालाई हराएर राजेन्द्र लिङदेन अध्यक्ष बनेपछि राप्रपामा नयाँ ऊर्जा छ भनिन्छ । त्यसैमा रवीन्द्र मिश्रको समूह पनि मिसियो । राप्रपा राष्ट्रिय पार्टी बन्ला ?

अहिलेकै गतिमा राप्रपा अघि बढे, यो चुनावमा राष्ट्रिय पार्टी बन्न सक्छ । तर, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनीहरू समानुपातिकमा बसेकाले लक्षण त राम्रो देखिएन । उमेर र स्वास्थ्यले साथ दिए प्रत्यक्ष उठ्नुपर्ने । जहाँसम्म, रवीन्द्र मिश्रको राप्रपा प्रवेशको कुरा छ । उनी मिठो बोल्छन् । प्रस्तुती राम्रो होला । तर, दुईचार वर्षको गतिविधि हेर्दा राजनीतिमा उनी आलाकाँचा नै देखिए । राप्रपा प्रवेशले काठमाडौं १ मा उनको केही भोट बढ्ला, अरु तात्विक फरक पार्दैन होला ।

एक अनुभवी राजनीतिशास्त्रीका रूपमा समग्रमा ४ मंसिरको चुनावी नतिजालाई तपाई कसरी विश्लेषण गर्नुहुन्छ ?

नेपाली मतदाता परिवर्तनशिल छन् । त्यसैले वैशाखको स्थानीय चुनावको मत हेरेर पनि हुँदैन, २०७४ को समानुपातिक मतबाट पनि विश्लेषण गर्न कठिन हुन्छ । त्यसैले समग्र चुनावी नतिजा दलहरूले कस्ता उम्मेदवारलाई उठाउँछन् भन्नेमा छ । स्वभाविक रूपमा गठबन्धन दलहरूले साझा उम्मेदवार उठाउँदा प्रत्यक्षमा सत्ता गठबन्धन पहिलो शक्ति हुने निश्चित छ । तर, कांग्रेसभित्रको असन्तुष्टि कुन तहको रहन्छ भन्नेले पनि त्यसलाई असर गर्छ । घात-अन्तर्घातको स्थिति आए त्यसको सिधा लाभ एमालेले उठाउने छ । आफ्नो पार्टीविरुद्ध पाँच दल संगठित भएर लागेका छन् भन्ने भावनाले एमालेका सामान्य कार्यकर्ता र शुभेच्छुकलाई एकजुट हुन, मेहनत गर्न र नतिजा उल्ट्याउन प्रेरित गरेको छ । त्यसले गठबन्धनले सोँचेजस्तो एमालेले धेरै कमजोर नतिजा ल्याउँदैन । तर, उम्मेदवारले त्यसको निर्धारण गर्नेछ । मधेसका दलहरूमा खास घटबढ हुने मैले देखेको छैन । अहिलेकै गतिमा राप्रपा राष्ट्रिय पार्टीमा बढोत्तरी हुनसक्छ । शिलापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया