जेठ ४, २०८१ शुक्रबार May 17, 2024

जयरानीको लक्ष्य अन्तर्राष्ट्रिय खेलमा देशलाई पदक दिलाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जितेकी छन् ।

नेपाली सेनामा आबद्ध उहाँले खेलमा निर्धारित दूरी एक मिनेट ०४।१३ सेकेन्डमा पूरा गरेर स्वर्ण पदक मात्र आफ्नो पोल्टामा पारिनन् तीन महिनाअघिको आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत सुधार गरिन् । थारुले गएको असारमा काठमाडौँमा सम्पन्न ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७।०२ सेकेन्डमा सो विधामा आठ वर्षअघिको पुरानो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउन सफल भएकी छन् ।

जयरानी नवौँको प्रतिस्पर्धामा सहभागी हुन पोखरा आउनुअगावै कीर्तिमान सुधारको लक्ष्य राखेको बताईन् । आफ्नो विधामा खेलमा प्रतिस्पर्धा कम हुने भएकाले समेत उनले सुधार गर्ने लक्ष्य राखेको बताउछिन् । उनले भनिन्, “कीर्तिमान सुधार गर्दा धेरै नै खुसी छु । आफूले सोचेको भन्दा राम्रो खेल भयो । टार्गेटनै मेरो रेकर्ड राख्ने थियो, त्यसमा सफल भएँ ।”

राष्ट्रिय खेलकुदमा पहिलोपटक स्वर्ण पदक जितेपछि उनले पोखरा रङ्गशालाबाट बर्दिया घरमा रहनुभएका आमा सुगही थारुलाई फोन गरेर आफ्नो सफलता सुनाईन् । आमाले बधाई भन्दै अझै राम्रो गर छोरी भनेर हौसला दिएको जयरानीले बताईन् । “बुबा घरमा हुनुहुँदो रैनछ आमालाई फोनमा स्वर्ण जितेभन्दा बधाई छ छोरी अझै राम्रो गर्न सक्छौँ भनेर हौसला दिनुभयो ।” उनले भनिन् ।

राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ । उनले भनिन्, “स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ । अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ ।” जयरानीले विसं २०७२ देखि खेल्न थालेकी हुन् । त्यसअगाडि विद्यालय स्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगिता खेलेकी थिईन् । सातौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी उनले आठौँमा तत्कालीन प्रदेश नं ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जितेकी थिईन् ।

आठौँमा नेपाल आर्मीसँग प्रतिस्पर्धा गरेर द्वितीय भएकी जयरानीले नवौँमा आर्मीबाट खेल्दै स्वर्ण जित्ने अवसर उनलाई मिल्यो । उनी विसं २०७६ साउनमा सेनामा भर्ना भईन् । गाउँले दाइ जीवन चौधरी जो आफू पनि खेल्नुहुन्थ्यो उहाँलेनै जयरानीलाई सेनामा प्रवेश गराउन सहयोग गरेको जयरानीको भनाइ छ । आफूलाई खेल जीवनमा प्रवेश गराउन घरबाट बुबा भगवान् डिन थारुको धेरै नै साथ र सहयोग मिलेको जयरानीले बताईन् ।

सामान्य कृषक परिवारका जयरानीलाई आमाले घरको काम गर्नुपर्दछ भन्ने गरे पनि बुबाले खेलमै लाग्न प्रेरित गर्ने गरेको सुनाईन् । उनले विगतलाई स्मरण गर्दै भनिन्, “सानोमा आमाले घरको काम कसले गर्छ घरको काममा सहयोग गर्नुपर्दछ भन्नु हुनुन्थ्यो, बाबा चाहिँ खेल खेल्नुपर्दछ भनेर मलाई अघि बढ्न प्रेरणा दिइरहनभयो, बुबा कृषक भए पनि खेलकुदलाई मन पराउनुहुन्थ्यो ।”

सुरुमा चाहिँ उनलाई खेलमा लाग्न सहयोग गर्ने कोही नभए पनि पछि विद्यालयमा राम्रो गरेपछि विद्यालयमै निःशुल्क बस्ने र खेल्ने वातावरण मिल्यो । जयरानीले गुरुआमा मान्ने सुमित्रा चौधरी जो बर्दियाकै हुनुहुन्छ र अहिले एथलेटिक्स प्रशिक्षकसमेत हुनुहुन्छ उहाँले विद्यालयमा होस्टलमा बस्नेदेखि खेलकुदका प्रतियोगितामा सहभागी हुनका लागि सहयोग गरेको थारुले सुनाईन्  ।

उनले भनिन्, “मलाई खेलमा पाइला टेकाउने सुमित्रा चौधरी गुरुआमाले हो । उहाँको साथ, सहयोग मलाई जहिले पनि मिलिरहेको छ ।”राससबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया