काठमाण्डौंः सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ को माथिल्लो क्षेत्रको मतपेटिका ढुवानीमा समस्या भएकाे छ । अत्यधिक चिसोका कारण मतपेटिका फुट्ने र मतपेटिकामा प्रयोग गरिएको सिल आफैँ भाँचिने सम्भावना रहेको मतदान अधिकृतले बताएका छन्।
जिल्लाको सबैभन्दा अग्लो ठाउँ ४ हजार मिटर उचाइको मतदान स्थलकाे मतपेटिका सिल गर्ने क्रममा चिसोले भाँचिने समस्या भएपछि केही समय तातो पानीमा डुबाएर सिल गरिएको थियो। तर ढुवानीको क्रममा ती सिलहरु भाँचिन सक्ने भएकाले ढुवानीमा समस्या भएकाे निर्वाचन अधिकृत ङवाङ दोर्जी बाहिङले बताउनुभयाे। मतदान केन्द्रबाट भरियामार्फत् नाम्चेसम्म मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले थोरै प्रेसर पर्दा समेत चिसोले फुट्ने र भाँचिने सम्भावना हुने उहाँको भनाइ छ ।
उहाँका अनुसार ३८४ जना मतदाता रहेको पाङ्बोचे मतदान केन्द्रमा १५९ मत अर्थात् ४१ दशमलव ४० प्रतिशत मत खसेको छ। खुम्बुको वडा नम्बर १ क्षेत्रको दुई वटा केन्द्रका मतपेटिका गाडीमार्फत् मतगणना स्थल सल्लेरी ल्याइएको छ भने बाँकी ९ वटा केन्द्रको पेटिका आज सोमवार हेलिकप्टरमार्फत् ल्याउने तयारी गरिएको छ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ५ हजार ९ सय ८७ मतदातामा २ हजार ६ सय ४७ अर्थात ४४ दशमलव २१ प्रतिशत मत खसेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया