श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सहरलाई सुन्दर बनाउने नाउँमा सुकुम्बासी, दलित र गरिबहरूमाथि अत्याचार गर्न पाइँदैन । – केशव निरौला (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुकुम्बासीहरूको अधिकारका लागि, उनीहरूको समस्या समाधानका लागि सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ । तर, थापाथलीमा त तपाईंहरूभन्दा पहिले काठमाडौं महानगरपालिकाको डोजर पुग्यो नि ?

थापाथलीमा जे भयो, त्यो अराजनीतिक मान्छेले अराजनीतिक ढंगले लिएको गलत निर्णय हो । त्यहाँ जे भइरहेको छ, त्यो महानगरपालिकाले गरेको हो, यसमा आयोगको कुनै भूमिका छैन । महानगरपालिकामा अहिले स्वतन्त्रबाट निर्वाचित मेयर हुनुहुन्छ । उहाँलाई संविधानमा के छ ? त्यो कसरी बनेको छ ? त्यसको मर्म के हो ? भावना के हो ? जानकारी भएजस्तो देखिँदैन । हाम्रो संविधानले भूमिहीनहरूलाई आवासको हकको व्यवस्था गरेको छ । त्यो मौलिक हक हो । त्यो हकको मर्म के हो ? त्यो मेयरज्यूले बुझिदिनुभएको भए, आत्मसात् गरिदिनुभएको भए यो सबै हुँदैनथ्यो । यो घटनामा भूमिहीनहरूको मानवीय पक्षलाई अत्यन्तै बेवास्ता गरिरहेको देखिन्छ । यो खाली सस्तो लोकप्रियताका लागि गरेको गलत काम हो । सहरलाई सुन्दर बनाउने नाउँमा सुकुम्बासी, दलित र गरिबहरूमाथि अत्याचार गर्न पाइँदैन । यदि हटाउनुपर्ने भए पनि एउटा प्रक्रिया हुन्छ । कानुनबमोजिम जानुपर्ने हुन्छ ।

त्यो प्रक्रिया भनेको के हो ? प्रक्रियाअनुसार सुकुम्बासी बस्ती हटाउनैपर्ने भए कसरी हटाउनुपर्ने थियो ?

राष्ट्रिय भूमि आयोग र काठमाडौं महानगरपालिकाबीच यसअघि नै सम्झौता भइसकेको छ । त्यो सम्झौतामा प्रस्ट लेखिएको छ कि महानगरपालिकाले के काम गर्ने ? भूमि आयोगले के काम गर्ने ? भूमिहीन सुकुम्बासीले के गर्ने ? महानगरले सम्झौताबमोजिम काम अघि बढाउनुपर्ने थियो ।

हाम्रो ऐन, नियम र अरु जति पनि कानुनहरू छन्, त्यसका आधारमा प्रक्रिया अघि बढाएर जानुपर्छ । त्यहाँ बसेकाहरू को भूमिहीन हुन् ? को सुकुम्बासी हुन् ? को अव्यवस्थित बसोबासी हुन् ? तिनीहरूको पहिचान गर्ने हो । पहिचान गरिसकेपछि उनीहरु जहाँ बसेका छन्, त्यहाँ जग्गा दिन मिल्ने हो कि नमिल्ने हो ? त्यो जमीनको पनि पहिचान गर्नुपर्ने हुन्छ । यदि त्यो भूमि सार्वजनिक प्रयोजनको हो र सुकुम्बासीहरूलाई दिन मिल्दैन भने त्यस आधारमा निर्णय गरेर उनीहरूलाई विकल्प दिएर हटाउने प्रक्रिया हुन्छ । तर, यी तमाम प्रक्रिया पूरा नगरी महानगरपालिकाले सुकुम्बासीको छाप्रामाथि डोजर कुदाउने जुन प्रयास भएको छ, यो गलत कार्य हो । संविधानको भावनाविपरीतको काम हो ।

यसमा तपाईंहरूको पनि त भूमिका हुन्छ होला नि ?

हामीले महानगरपालिकासँग कार्य सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छौँ । अब सुकुम्बासीको पहिचान गर्ने, छानबिन गर्ने, उजुरी लिने काम महानगरपालिकाको हो । त्यो पहिचानको प्रक्रियामा हाम्रा प्राविधिकहरू पनि त्यहाँ हुनुहुन्छ । तर, मूलतः महानगरपालिकाले त्यसरी पहिचान गरिसकेपछि बल्ल हामीले लालपुर्जा दिने काम गर्ने हो ।

आयोगमा तपाईंहरू नियुक्त भइसकेपछि तीन महिनामै परिणाम दिन्छौँ भन्नुभएको थियो । खै त ?

हामीले परिणाम दिन थालिसकेका छौँ । यो दशकौँदेखिको समस्या हो । रातारात समाधान गर्न सकिने कुरा छैन । तर, तीन महिनामा हामीले परिणाम दिएको पनि हो । हामीले सिन्धुलीदेखि जग्गाको लालपुर्जा वितरणको काम थालिसकेका छौँ । काम अघि बढिसकेको छ । अहिले स्थानीय तहको निर्वाचन र संघीय निर्वाचनको आचारसंहिताले हामीलाई केही समय बाँधेको भएर काम गर्न पाएका छैनौँ । तर, काम अघि बढिसकेको छ । हामी यो निर्वाचन आचारसंहिता खुल्नेबित्तिकै फेरि काम थाल्छौँ ।

सुकुम्बासी समस्या समाधानका लागि गएको तीन दशकदेखि काम भइरहेको छ । तर, समाधान बढ्दो देखिन्छ । यसको समाधानचाहिँ कहिलेसम्म हुने हो ?

अहिले हामीसँग देशभर कति सुकुम्बासी छन् भन्नेसमेत यकिन छैन । हामीले भनिरहेका छौँ कि १५ लाख भूमिहीन छन् । यदि त्यति नै छन् भने हामीले ती हरेकबाट निवेदन लिएर तिनीहरूको पहिचान गरेर, उनीहरूले प्रयोग गरिरहेको जग्गाको पहिचान गरेर छानबिन गरेर काम गर्नुपर्ने हुन्छ । १५ लाख परिवारको विवरण संकलन गर्ने कुरा हो, भनेको त्यति नै टुक्रा जमिनको नापजाँच लिएर काम गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय नापनक्सा प्रणालीमा जोड्नुपर्ने हुन्छ । हामीलाई त्यसका लागि आवश्यक पर्ने प्राविधिक जनशक्तिकै अभाव छ । फेरि सरकारले यही कामका लागि सबै जनशक्ति परिचालन गर्न सक्ने कुरा पनि हुँदैन । राज्यले भएभरको जनशक्ति सबै यसैका लागि परिचालन गर्ने कुरा पनि भएन ।

अहिले हामीसँग ६०० नापी प्राविधिकहरू छन् । त्यही जनशक्तिबाट हामीले काम उठाउने हो । यही जनशक्तिबाट हामीले प्रक्रिया अघि बढाउँदा सबै भूमिहीनलाई जग्गा बाँड्न हामीलाई अझै ४–५ वर्ष त लाग्छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार