जनकपुरधाम । सर्लाहीमा एक जना बालकको र्यापीड टेस्ट गर्दा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पोजेटिभ देखिएको छ ।
सर्लाही जिल्लाको धनकौल गाउँपालिकामा क्वारेन्टाईनमा रहेका १४ वर्षीय बालकको र्यापीड टेष्टमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जीसीले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी जिसीका अनुसार उनीसँगै क्वारेन्टाइनमा रहेका अर्का एकजनामा भने र्यापीड टेस्ट गर्दा कोरोना संक्रमण नेगेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिएका उक्त बालकलाई र बालक सँगै क्वारेन्टाइनमा रहेका अन्य एक जनाको र्यापीड टेस्ट नेगेटिभ आएपनि उनलाई समेत राति नै जनकपुरधाम ल्याइएको हो ।
यता प्रादेशिक अस्पताल जनकपुरका निमित्त मेडिकल सुपरीटेन्डेन्ट जामुन सिंहले आफूहरुले जानकारी पाए लगत्तै राति नै चेक जाँचका लागि सम्पूर्ण तयारी पूरा गरी बालकलाई प्रादेशिक अस्पतालको आईसोलेशन वार्डमा भर्ना गरेको जानकारी दिएका छन ।
र्यापीड टेस्टमा पोजेटिभ आएपनि पीसीआरमा जाँच गरेपछि मात्र थप केही भन्न मिल्ने उनले बताएका छन । कोरोना पोजेटिभ देखिएका ती बालक गत चैत २३ गते भारतको दिल्ली हुँदै सर्लाही पुगेका थिए ।
यसअघि प्रदेश २ कै सप्तरीमा दुई जनाको र्यापीड टेस्ट पोजेटिभ आएपनि पीसीआरमा टेस्ट गर्दा नेगेटिभ आएको थियो । प्रदेश २ मा अहिले तीन भारतीय नागरिकसहित चार जना कोरोना संक्रमित रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया