जेठ ६, २०८१ आइतबार May 19, 2024

एनभीए कप: उपाधिका लागि न्यू डायमण्ड र पुलिस भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधिका लागि न्यू डायमण्ड र नेपाल पुलिसबीच भिडन्त हुने भएको छ ।

आज भएको दोस्रो सेमिफाइनलमा नेपाल आर्मीलाई हराउँदै डायमण्ड फाइनल प्रवेश गरेको हो । पहिलोे सेमिफाइनलमा एपीएफलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा पुगेको थियो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई ३–२ को सेटमा हराएर पुलिस उपाधि नजिक पुगेको हो । रोमान्चक खेलको पहिलो सेट पुलिसले २५–१५ ले जितेको थियो ।

दोस्रो सेट र तेस्रो सेट एपीएफले २५–१७ र २५–२१ ले जितेको थियो । चौंथो सेट पुलिसले २५–२१ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौं सेटमा पुलिसले १५–७ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।

दोस्रो सेमिफाइनलमा १७–२५ मा डायमण्डले पहिलो सेट गुमाएको थियो । खेलमा फर्केको डायमण्डले लगातार ३ सेट आफ्नो पक्षमा पार्दै उपाधि भिडन्तमा पुलिससँग भेट गर्‍यो । दोस्रो, तेस्रो र चौथो सेटमा आर्मीलाई पछि पार्दै डायमण्डले २५–१९, २५–१६ र २५–१८ ले आफ्नो पक्षमा पारेको हो ।

फाइनल खेल भोलि हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया