वैशाख १६, २०८१ आइतबार April 28, 2024

नेपालले सार्वभौम भएर आफ्नो हितमा निर्णय गरोस् : अमेरिकी उप-विदेशमन्त्री

अमेरिकाले नेपालमा सहकार्य र आर्थिक सम्बन्धलाई बलियो बनाउन चाहेको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताउनुभएको छ ।

दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार यहाँ आउनुभएका उहाँले आज पत्रकार सम्मेलनमा नेपालले आफ्ना छिमेकी मुलुकहरूसँग बनाएको सुमधुर सम्बन्धलाई आफूहरूले स्वागत गर्ने उल्लेख गर्दै अमेरिकाले नेपालमा सहकार्य र आर्थिक सम्बन्धलाई बलियो बनाउन चाहेको बताउनुभयो ।

भ्रमणका दौरान प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा विमला राई पौडेलसँग भेट भएको र सो अवसरमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको उपविदेशमन्त्री नुल्यान्डले जानकारी दिनुभयो ।

सो अवसरमा उहाँले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको आगामी कदम, सङ्क्रमणकालीन न्याय प्रक्रिया, नेपालमा अमेरिकी लगानी बढाउने वातावरण निर्माणलगायत विषयमा छलफल भएको उहाँको भनाइ थियो ।

उपविदेशमन्त्री नुल्यान्डले नेपालको लोकतन्त्र सुदृढीकरण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, आर्थिक वृद्धिलगायत क्षेत्रमा अमेरिकाले सहयोग र सहकार्य गर्दै आएको बताउँदै आगामी पाँच वर्षमा नेपालमा हरित ऊर्जा, विद्युतीकरण, साना तथा मझौला महिला उद्यमका क्षेत्रमा गर्ने सहयोगका बारेमा जानकारी गराउन पाउँदा गौरव महसुस गरेको बताउनुभयो ।

उहाँले आजै ललितपुरको पाटन दरबार स्क्वायरस्थित पुरातात्विक महत्वका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गर्नुभएको थियो ।

उहाँले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिनुभएको हो । त्यसअघि उहाँ वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

उपविदेशमन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैरआवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसक्नुभएको छ ।

३३ वर्षयता अमेरिकी कूटनीतिज्ञ रहनुभएकी उहाँ अमेरिकी राष्ट्रपति ओबामा र विदेशमन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा सेवारत हुनुहुन्थ्यो ।

उहाँ अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता हुनुहुन्थ्यो भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत हुनुहुन्थ्यो ।

उपविदेशमन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेषदूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति चेनीकी उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गर्नुभएको थियो ।

उहाँले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रसिया, चीन र मङ्गोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसक्नुभएको छ । उहाँले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते
२०८१ वैशाख १६, आइतबार
सुर्तीजन्य वस्तुको कर वृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
२०८१ वैशाख १६, आइतबार
बालमन्दिर जग्गा अनियमितता प्रकरण : वृहस्पतिसँग भएको ५२ वर्षे अवैध सम्झौता रद्ध
२०८१ वैशाख १६, आइतबार
नागार्जुन नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा
२०८१ वैशाख १६, आइतबार
इङलिश प्रिमियर लिग : बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का
२०८१ वैशाख १६, आइतबार
फर्टिलिटी सोसाइटीको अध्यक्षमा पुनः डा. रिजाल सर्वसम्मत
२०८१ वैशाख १६, आइतबार
राष्ट्रिय महिला भलिबल प्रतियोगिता : एपीएफ छैटौंपटक च्याम्पियन
२०८१ वैशाख १६, आइतबार