काठमाडौंः उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताएका छन्। शुक्रबार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषाभित्र राख्न नहुने बताएका हुन्।
उनले राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेको भन्दै त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने तर्क गरे। उनले लामो समयदेखि अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा नगर्न नाडा अटो मोबाइल्स एशोसिएसनले गर्दै आएको मागमा सरकार गम्भीर रहेको भन्दै आवश्यकता अनुसार परिवर्तन हुँदै जाने बताए। उनले अटोमोबाइल्समा विलासिताका सवारी साधन भए पनि अटोमोबाइल्स विलासिताको वस्तुको रूपमा परिभाषा गर्नु हुँदैन भन्ने विषयमा कुनै दुविधा हुन नसक्ने बताए।
अर्थमन्त्री पौडेलले एक समयमा मोबाइल फोनको प्रयोग विलासिताको वस्तु मानिने भए पनि अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको भन्दै अटोमोबाइल्स पनि अपरिहार्य वस्तुको रूपमा समयअनुसार परिवर्तन हुने विश्वास व्यक्त गरे। अर्थमन्त्री पौडेलले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले विद्युतीय गाडीको प्रयोग बढाउन नेपालमा आवश्यक रहेको बताए । उनले नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउन आवश्यक रहेकोमा जोड दिए।
उनले नेपालमा विद्युतीय थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौति रहेको उल्लेख गरे। अर्थमन्त्री पौडेलले विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए। उनले नेपाली बजार गुणस्तरीय विद्युतीय सवारीको आयत लागि मात्र खुला रहेको उल्लेख गर्दै अर्थतन्त्रका वाह्य क्षेत्रमा सकरात्मक परिवर्तन भइरहे पनि केही सूचक जोखिममा रहेकाले राज्यका बाध्यात्मक अवस्थाबारे निजी क्षेत्रले बुझ्न आवश्यक रहेको बताए।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नयाँ सरकार आएसँगै उत्साह थपिएको बताए। उनले राज्यलाई सबैभन्दा बढी राजश्व तिर्ने क्षेत्र अटोमाबाइल्स रहेको बताए । अटो व्यवसायीहरूले एउटा सवारी साधन आयात गरेर नेपाल ल्याउँदा सरकारका ६ वटा निकायमा कर बुझाउनुपर्ने अवस्था रहेको बताए। उनले राज्यलाई अटोमाबाइल्स क्षेत्रबाट मात्रै २१ प्रतिशत राजश्व बुझाउने गरे पनि राज्यले अटोमोबाइल्स क्षेत्रलाई सहयोग नगरेको गुनासो गरे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया