काठमाण्डाैंः चितवन जिल्लामा सञ्चालन भएको कक्षा आठको आधारभूत तहको परीक्षाको नतिजा आज सार्वजनिक हुँदै छ । प्याव्सन चितवनका अध्यक्ष टीकाराम चापागाईँले सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गर्दै मंगलबार दिनको १ बजे सो परीक्षाको नतिजा सार्वजनिक गरिने जानकारी दिएका हुन् ।
चितवनमा रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालयको नतिजा आज एकै दिन सार्वजनिक गर्न लागिएको अध्यक्ष चापागाईँले बताए । साथै उनले नतिजा हेर्नका लागि विद्यालयहरुले आफ्नो विद्यालयको आई डी र पासवर्ड हेरेर जानकारी लिन सकिने उनले बताए । त्यसैगरी विद्यार्थी तथा अभिभावकले नतिजा हेर्नका लागि भरतपुर महानगरपालिकाको www.bharatpurmun.gov.np साइटमा गएर सिम्बोल नम्बर टाइप गरी हेर्न सकिनेछ ।
यसैबीच भरतपुर महानगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयका अन्य कक्षाको नतिजा भने आजदेखि वैशाख २० गतेभित्र सार्वजनिक गर्ने तयारी भएको अध्यक्ष टीकाराम चापागाईँले जानकारी दिएका छन् । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन शाखाले महानगरभित्रका सबै विद्यालयहरुलाई तोकिएको समयमा नतिजा सार्वजनिक गर्न सूचित गरिसकेको छ ।
कोरोनाका कारण सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले नतिजा विद्यालयमा विद्यार्थी तथा अभिभावकको उपस्थितिविना नै प्रकाशन गर्न सूचित गरिएको उनले बताए । परीक्षाफल वेभ साइट, विभिन्न एप, म्यासेन्जर, फोन आदिका माध्यमबाट विद्यार्थीलाई उपलब्ध गराउने जनाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया