वैशाख १६, २०८१ आइतबार April 28, 2024

आज राति १२ बजेपछि राष्ट्रपति निर्वाचनको प्रचार गर्न नपाइने

निर्वाचन आचारसंहिता, फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ।

आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो। फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेल प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहितामा व्यवस्था गरिएको छ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन। साथै, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबूक, भाइबर जस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ।

आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चार माध्यमबाट जित/हारको पूर्वानुमानका सामग्री प्रसार जस्ता कार्य गर्न नहुने आयोगले जनाएको छ।

आयोगले मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया