भक्तपुर । मध्यपुर अस्पतालबाट डिस्चार्ज भएकी सुत्केरी महिलामा कोरोना पोजेटिभ भएपछि अस्पतालका ३० स्वास्थ्यकर्मीलाई क्वारेनटाइनमा राखिएको छ ।
अस्पतालका ६ जना चिकित्सक, १२ नर्सिङ स्टाफ, ११ हेल्पर र एक जना ल्याब स्टाफलाई क्वारेनटाइनमा राखेको अस्पतालकी मेडिकल डाइरेक्टर डा. रबिना प्रधानाङ्गले बताएका छन।अस्पतालको प्रसूति कक्ष र फार्मेसीमा समेत सिल गरिएको छ ।
अस्पतालले कोरोना सङ्क्रमण न्यूनीकरणका लागि नियमित निर्मलीकरण गर्ने गरेकोले ओपिडी सेवा, इमर्जेन्सी सेवा तथा आइसियु सेवा सुचारु गरेको डा. प्रधानाङ्गको भनाई छ ।
उनीहरूको कोरोना परीक्षणको लागि आज स्वाब सङ्कलन गरिने अस्पताल प्रशासनले जनाएको छ । तर, अस्पताल सिल गरिएको छैन । अस्पतालका सेवाहरू नियमित हुने अस्पतालले विज्ञप्ति जारी गरी जनाएको छ ।
महिलाको अस्पतालमा एसएलसी विधिबाट अपरेसन गरी सुत्केरी गराइएको थियो ।
स्वाब परीक्षणको नतिजा आएपछि मात्रै गाईनेवार्ड सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ ।
त्यस्तै अपरेसन कक्षलाई निर्मलीकरण गरी सञ्चालनमा ल्याउने तयारी अस्पतालको छ । अस्पतालको गाईनेवार्ड बाहेक अन्य सेवा भने सुचारु नै रहेको छ ।
त्यस्तै गरी कोरोना सङ्क्रमण पुष्टि भएकी महिला बस्ने कमल विनायक चोफल क्षेत्रमा प्रहरीले सिल गरेको छ ।
स्वास्थ्य मन्त्रालयले शनिवार सङ्क्रमण पुष्टि गरेकी भक्तपुरकी ३० वर्षीया महिलाको कोरोना परीक्षणको रिपोर्ट नआउँदै सिजरिङ डेलिभरी भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज ९केएमसी० शिक्षण अस्पतालमा उनले कोरोना परीक्षण गराएकी थिइन् । कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार केएमसीमा स्वाब दिएपछि रिपोर्ट नआउँदै जेठ २१ गते मध्यपुर अस्पतालमा उनको सिजरिङ डेलिभरी गरिएको थियो ।
डेलिभरी गरेपछि शनिवार मात्रै डिस्चार्ज भएर सङ्क्रमण पुष्टि गरिएकी महिला काठमाडौँको कोटेश्वरस्थित माइती गएकी थिइन् । सुत्केरीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उनको अप्रेसनमा संलग्न चिकित्सकसहित स्वास्थ्यकर्मीलाई क्वारेनटाइनमा राखिएको हो ।
सुत्केरी भएर कोटेश्वर पुग्नुअघि भने उनी र उनका श्रीमान् भक्तपुर नगरपालिका–९ कमलविनायकस्थित एक घरमा डेरा बसेका थिए । उनको परिवारले उक्त घरको कोठा भने नछाडेको स्थानीयको भनाई छ ।
सुत्केरी महिला भएकाले उनलाई पाटन अस्पतालको आइसोलेसनमा लगिएको बताइएको छ ।
भक्तपुर जिल्लामा यी सुत्केरी महिला छैटौँ सङ्क्रमित हुन् । उनीअघि पनि चाँगुनारायण नपा–३ झौखेलकी एक गर्भवती महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया