काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितहरूको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी कोरोनाको संक्रमण युवा समूहमा देखापरेको छ ।
खासगरी २१ देखि ३० वर्ष उमेर समूहका युवामा कोरोनाको अत्यधिक संक्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार २६ जेठसम्मको तथ्यांक हेर्दा कुल संक्रमतिमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवा संक्रमितको संख्या सबैभन्दा बढी छ ।
सोमबारसम्म यस उमेर समूहका १४ सय ४९ युवा संक्रमित भएका छन् । सबैभन्दा कम ८० वर्षभन्दा बढी उमेर समूहका एकजनामा मात्र कोरोना संक्रमण देखिएको छ ।
११ वर्षदेखि २० वर्ष उमेर समूहका नौ सय ६० जनामा कोरोना संक्रमण पाइएको छ । त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका आठ सय १० जना कोरोनाको संक्रमणमा आएका छन् ।
त्यसैगरी ४१ देखि ५० वर्ष उमेर समूहका तीन सय सातजना कोरोनाबाट संक्रमित भएका छन् । दश वर्षभन्दा कम उमेरका ९१ जना बालबालिकामा कोरोना संक्रमण भएको छ ।
५१ देखि ६० वर्ष उमेर समूहका एक सय आठजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा देखिन्छ ।
त्यसैगरी ६१ वर्षदेखि ७० वर्ष उमेर समूहका २७ जनामा कोरोनाले आक्रमण गरेको छ भने ७१ वर्षदेखि ८० वर्षभित्रका नौजना वृद्धवृद्धामा कोरोना संक्रमण भएको छ ।
महिलाको तुलनामा पुरुषमा बढी कोरोना संक्रमण भेटिएको छ । सोमबारसम्मको तथ्यांकअनुसार नेपालमा ३५ सय ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई सय ५६ जना महिलामा कोरोना संक्रमण भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया