असार २९, २०८२ आइतबार July 13, 2025

बजेट बनाउने बेलामा सांसदहरुको वर्गिकरण गरियो : रामलखन चमार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य रामलखन चमारले बजेट बनाउने बेलामा सांसदहरुको वर्गिकरण गरिएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा ‘विनियोजन विधेयक २०७७’मा मन्त्रालयगत शीर्षकहरु माथिको छलफलका क्रममा सांसदहरुको वर्गिकरण गरेर आयोजनाहरु तय गरिएको बताउनुभएको हो । सांसदहरुको हैसियत सबैको बराबर भएपनि बजेट बनाउने बेलामा वर्गिकरण गरेर आयोजनाहरु तय गरिएको आरोप चमारले लगाउनुभयो । उहाँले सांसदहरुको क’, ‘ख’, ‘ग’, ‘घ’ वर्ग गरी वर्गिकरण गरी व्यवहार गरिएको बताउनुभयो । आफुहरुले विभिन्न आयोजनाका लागि मन्त्रालयमा अनुरोध गरेको तर प्राथमिकतामा नपरेको भन्दै ‘घ’ वर्गलाई उपेक्षा गरे सबै एकठाउँमा उभिएर सरकारलाई चुनौति दिन सक्ने बताउनुभयो । उहाँले यस वर्षको बजेट आइसकेकोले सम्बन्धित मन्त्रालयमार्फत ‘घ’ वर्गमा परेकाहरुको समस्या बुझ्नपनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो ‘बजेट विनियोजन गर्ने बेलामा जव मन्त्रालयगत आन्तर्गत आउँछ त्यसपछि ‘क’, ‘ख’, ‘ग’, ‘घ’ सम्मको माननियहरुको वारेमा वर्गिकरण गरिन्छ । त्यहि वर्गिकरणको व्यथा माननियहरुले पोख्नुहुन्छ । मैले पनि र अरु माननियहरुले पनि आफ्नो क्षेत्रमा केही न केही एउटा काम त गरौं भनेर मन्त्रालयहरुमा अनुरोध त गरेका छौं । तर धेरै पाउने धेरै गर्न सक्ने ‘क’ वर्गको, आदिआदि गर्ने ‘ख’ वर्गको, थोरै यता उता कहिंकहिं भएको ‘ग’ वर्गको, हामी ‘घ’ वर्गको संख्या त धेरै छौं । के ‘घ’ वर्गको माननिय जुन ढंगले मन्त्रालयबाट हाम्रो वर्गिकरण गरेको छ हामी छुट्टै उभिने हो भने के हुन्छ के मान्त्रीज्यूले त्यो बारेमा ख्याल गर्नुभएको छ । यो दुःखद कुरा हो ।’

उहाँले निर्वाचन क्षेत्र पूर्वाधार विकास रकमको बारेमा विगतकै कार्यविधि अनुसरण हुने हो या सबै सांसदहरुलाई समान अधिकार दिने हो अर्थमन्त्रीले प्रस्ट पार्नुपर्ने बताउनुभयो ।

अनुगमन र योजनालाई सहज तरिकाले सरोकारवालाले कसरी उपभोग गर्ने अभिमुखिकरणको योजना नआएको समेत चमारले बताउनुभयो । युवा रोजगारीलाई लक्षित गरेर कार्यक्रम आएको तर कुन कुन मन्त्रालयबाट कसरी सहुलियत ब्याजमा वा अनुदानमा कसरी प्राप्त हुन्छ त्यसको प्रक्रियाको बारेमा युवाहरुलाई अभिमुखिकरण गर्ने कार्यक्रमहरु नआएको बताउनुभयो । उहाँले भन्नुभयो ‘अव युवाहरुलाई साचिकै सशक्त बनाउनको लागि त सरकारका बजेटहरु कुन कुन बजेट कहाँ छन कसरी प्राप्त हुन्छन त्यसको बारेमा अभिमुखिकरणको अभियान लैजान सँगसँगै जरुरी छ ।’

उहाँले काम भन्दा योजना ल्याउन र खेल्नको लागि मात्रै काम गर्नेले मात्रै यस्तो सहुलियत प्राप्त गर्ने बताउनुभयो । उहाँले आर्थिक वर्ष सुरु भएपछि अभियान चलाउने र राज्यको योजनाहरु प्राप्त गर्ने सम्बन्धमा काम गर्नुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया