काठमाडौं । यमनको अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त सरकार र हुती सशस्त्र समूहबीचको लडाइँ तीव्र बनेको छ र दुवै पक्षले मारिब, तैज र होदेइदासहित कैयौँ मोर्चामा आक्रमण गरेको दाबी गरिरहेका छन्।
अल-मसिरह टिभी च्यानलका अनुसार, “साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनको हवाई आक्रमणमा तैज जिल्लाका अल-धिकरा र अल-हौबान क्षेत्रहरू तथा खुदिर जिल्लाको अल-रहीदा क्षेत्रमा रहेका सञ्चार टावरहरूलाई निशाना बनाइएको छ।”
यमनको सरकारी सेनाले साउदी नेतृत्वको गठबन्धनले मक्का बन्दरगाह शहर नजिकै हुती अखडाहरू र सैन्य उपकरणहरूलाई निशाना बनाएको जनाएको छ भने सरकारी बलले उत्तरी मारिबमा ड्रोन आक्रमण पनि गरेको छ।
अर्कातर्फ हुती समूहले दाबी गर्दै भनेको छ, “साउदी सेनाले पछिल्लो २४ घण्टामा आफ्ना नियन्त्रित क्षेत्रहरूमा ४० वटा हवाई आक्रमण गरेको छ। हुती विद्रोहीहरूका अनुसार, यसको जबाफमा उनीहरूले साउदी सहर खमिस मुशैतस्थित एक विमानस्थल र यान्बुका तेल अखडाहरूलाई निशाना बनाएका छन्।”
लगातारका आक्रमणहरूका कारण मिसाइल भण्डार रित्तिँदै गएपछि साउदी अरबले आफ्नो हवाई प्रतिरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) लाई मजबुत बनाउन फ्रान्स, बेलायत, पाकिस्तान र मिस्र (इजिप्ट) सँग सहयोग र हवाई सुरक्षाका लागि मद्दत मागेको खबरहरू आएका छन्।
अमेरिकाले यमनमा चलिरहेका सैन्य अभियानहरूमा प्रत्यक्ष भूमिका ननिभाउने स्पष्ट पारेको छ, तर उसले सो क्षेत्रको स्थितिमाथि सूक्ष्म नजर राखिरहेको छ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया