काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले अंगीकृत नागरिकताका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातिर लगेको बताएका छन् ।
सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै कांग्रेस सांसद देवले नेकपाको निर्णय अत्यन्त अदूरदर्शी, अपरिपक्व, मुलुकमा साम्प्रदायिक दंगा भड्काउने र प्रकारान्तरले मुलुकलाई नै विभाजनमा लैजाने खालको भएको टिप्पणी गरेका हुन् ।
गत शनिबार नेकपा सचिवालय समितिको बैठकले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेको थियो । नेकपाको उक्त निर्णयअनुसार नै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नेपाली नागरिकता दिने व्यवस्था राखेर नागरिकतासम्बन्धी विधेयक बहुमतले पास गरेको छ ।
तर कांग्रेस नेता देवले यो विषयले मुलुकलाई मुठभेड र गम्भीर राजनीतिक दुर्घटनातिर लैजाने बताएका छन ।
नागरिकताको उक्त प्रावधानको विरोधमा वीरगञ्जदेखि राजविराजसम्म प्रदर्शन भइरहेको भन्दै नेता देवले कांग्रेस र मधेसवादी पार्टीलाई हेप्ने रणनीतिले दुर्घटना निम्त्याउने बताएका छन।
‘नेपाली कांग्रेस र अन्य मधेसवादी पार्टीलाई तपाईहरु यसरी हेप्ने, नेपाली कांग्रेस, मधेसवादी दललाई हेपेर तपाई एक्लै यो देश सञ्चालन गर्ने, सम्भव हुन्छ ?’ उनले भने ‘पोलिटिकल एक्सिडेन्ट हुन्छ । सहमति नतोड्नुस् ।’
२०६३ सालमा तत्कालिन मधेसवादी दल, एमाले, माओवादी र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिका आधारमा नागरिकता ऐन बनेको भन्दै उनले अहिले एक्कासी यसलाई उल्ट्याउन नहुने देवले बताएका छन ।
‘तपाईहरु गलत बाटोमा जानुभएको छ । तपाईहरुलाई लाग्दो हो । नयाँ जनवादी क्रान्तिको बेला आइसक्यो । चिनियाँ मोडलको समाजवाद स्थापना गर्ने बेला आइसक्यो । अब संविधान जेसुकै होस्’ उनले भने ‘तपाईहरुको निर्णय मस्ट एक्स्ट्रिमिस्ट (उग्रवादी) हो । तपाईंहरु उग्रवादमा फस्दै हुनुहुन्छ । तपाईंहरु अत्यन्त अपरिपक्व बाटोमा जाँदै हुनुहन्छ ।’
नेता देवले अगाडि भने, ‘मुलुकमा आगो लगाउने काम कांग्रेस र अन्य सबै पार्टीहरुसँग भिड्ने काम, मुलुकलाई बन्दी बनाएर सामन्तवादीहरुलाई मलजल गर्ने काम गर्दै हुनुहुन्छ ।’
नेता देवले यो निर्णयमा पुनर्विचार गर्न नेकपा नेताहरुलाई आग्रह गरेका छन । ‘नभए भोलि कम्युनिस्ट एकातिर कांग्रेस र मधेसवादी अर्कोतिर भएर मुलुकलाई राजनीतिक धु्रवीकरणमा लैजाने मुठभेड गराउने र प्रकारान्तरले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पल्टाइदिने दुर्घटनामा लगिदिने काम तपाईहरु नगर्नुस् ।’
कम्युनिस्ट पार्टीले नेपालले भारत र चीनसँग समदूरीमा सम्बन्ध राख्ने भने पनि यो निर्णयले चीनतर्फ ढल्काएको नेता देवले बताएका छन ।
‘तपाईंहरुको २ वर्षको क्रियाकलापमा तपाईहरु समदूरीको सिद्धान्तमा रहनुभएन । तपाईहरुको फरेन पोलिसी एकपाखे भयो । एउटा छिमेकीतिर तपाईंहरु लैजादै हुनुहुन्छ’ उनले भने ‘तपाईको पार्टीले लानोस् हामीलाई भन्नु केही छैन, तपाईहरु ५० चोटी मिटिङ गर्नुस् चिनियाँ कम्युनिस्ट पार्टीसँग हमीलाई भन्नु केही छैन । तर यो राष्ट्र चाहिँ समदूरीकै सिद्धान्तमा जानुपर्छ । चीन र भारतसँग मित्रताको सम्बन्ध कसैलाई अगाडि, पछाडि गर्नुहुन्न ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया