असार २८, २०८२ शनिबार July 12, 2025

दुई देशको सिमानामा स्याउलाको बार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ । दुई देशको सीमा छुट्याउने कुनै पर्खाल छैन । भएका सीमा स्तम्भ सबै मर्मत भएका छैनन् । नाका क्षेत्रमा बसोबास गर्ने नागरिकले दशगजा छाडेर स्याउलाले बार–बन्देज गरेर सीमा बनाएका छन्, बालीनाली जोगाएका छन् ।

‘पारी घना जंगल छ । त्यहाँका जनावर आएर हामीले लगाएको बालीनाली खाइदिन्छन् । सीमामा कुनै छेकबार नभएपछि स्याउलाले बेरिएको हो ।’ राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा निवासी श्यामबहादुर झाँक्रीले भने, ‘हामी बसेदेखि सीमा मिचिएको त छैन। तर पुराना भएका सीमा स्तम्भ मर्मत भएका छैनन् ।’

देशको सीमा छुट्याउने आधार सीमा स्तम्भ हो । यो बाहेक अरु केही पनि संरचना छैनन् । तिनै सीमा स्तम्भ समेत जीर्ण बनेका छन् ।

कुल ७७ वटा सीमा स्तम्भ मध्ये नेपाल र भारतले एक वर्ष अगाडि ६० वटा मर्मत गरे पनि १७ वटा सीमा स्तम्भको अझै मर्मत हुन सकेको छैन । सीमा स्तम्भ दुई देशले गर्नु पर्ने कानूनी व्यवस्था रहेको छ ।

जोर र बिजोर नम्बरका आधारमा दुई देशले सीमा स्तम्भ मर्मत गर्नुपर्ने हो । तर अझै १७ वटा सीमा स्तम्भ मर्मत हुन बाँकी रहेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन ।

‘नेपालले बिजोर नम्बरका सीमा स्तम्भ मर्मत गर्छ भने भारतले जोड नम्बरका । तर एक वर्षदेखि मर्मतको काम अघि बढ्न सकेको छैन ।’ प्रजिअ रिजालले भने, ‘संयुक्त बैठकमा कुरा उठाउँछौँ । रोकिएको मर्मतको काम अघि बढाउने पहल हुन्छ ।’

मर्मत गर्न बाँकी रहेका सीमा स्तम्भको बाहिरी प्लास्टर उप्किएको छ भने बीचमा खाडल बन्न थालेको छ । मर्मत गर्न बाँकी रहेका मध्ये ६०२ नम्बरको मुल स्तम्भको सहायक ४८ नम्बर स्तम्भ खबरी खोलाले बगाएकाले नयाँ निर्माण गर्नुपर्ने भएको छ ।

दाङमा भारतसँगको खुल्ला सिमाना ८३ किलोमिटर लामो छ । ३७ मुख्यसहित ७७ वटा सीमा स्तम्भ रहेका छन् । मर्मत गर्न बाँकी रहेका स्तम्भ मर्मतको काम आउने आर्थिक वर्षमा हुने सशस्त्र प्रहरीका एसपी नारायण श्रेष्ठले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया