असार ६, २०८३ शनिबार June 20, 2026

विभाजनको मुख्य कारण उपेन्द्रजी नै हो : मोहम्मद इस्तियाक राई (अन्तवार्ता)

पार्टीमा पनि हैकमवादी प्रवृत्तिबाट होइन, सामूहिक नेतृत्वको हिसाबले अघि बढाउनुपर्छ भन्ने भावनाका साथ हामीले छुट्टै पार्टी बनाउने निर्णयमा पुगेका हौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अध्यक्ष विदेश भएका बेला एकाएक पार्टी विभाजन गर्नुपर्ने अवस्था कसरी आयो ?

एकाएक तयारी भएको पक्कै होइन । पहिल्यैदेखि नै पार्टीमा विवाद थियो । बेलाबेला बाहिर आइरहेकै थियो । विजय गच्छदार, जेपी गुप्ता, महन्थ ठाकुर, बाबुराम भट्टराई, राजेन्द्र महतो, महेन्द्र राय यादव कोही पनि अध्यक्षको कार्यशैलीका कारण टिक्न सकेनन् । अशोक राईलाई पनि सम्मान गरेर राख्न सक्नु भएन । पार्टीमा प्रोफाइल भएको, जनमत भएको नेतालाई नरुचाउने, नेता बन्न नदिने, पाखा लगाउने काम हुँदै आयो । यो एकाएक भएको होइन । धेरै अघिदेखिको असन्तुष्टिको परिणाम हो ।

यही कारणले मात्रै पार्टी विभाजन गर्नुपरेको हो त ?

पछिल्लो पटक पार्टी महाधिवेशनमा पनि एकलौटी गर्न खोज्नुभयो । विधानविपरीत जालझेल गरेर, हामीहरू अनुपस्थित भएका बेला प्रदेश र जिल्लाका निर्वाचित अध्यक्षहरूलाई हटाउने, प्रणालीबाट क्रियाशील दिनुपर्नेमा आफ्नो नजिककालाई वितरण गर्ने, जिल्ला र पार्टीका नेताहरूमार्फत गएन । पार्टीको बैठक समयमै राखिएन । महाधिवेशनमा एकलौटी गर्न नेतृत्वमा हैकमवादी प्रवृत्ति देखियो । सबैलाई अवसर दिनुपर्छ, प्रक्रिया र विधिसम्मत रूपमा जो निर्वाचित हुन्छ, त्यो अध्यक्ष हुन्छ भन्ने भावना पार्टीमा थियो । तर, उहाँले त्यसलाई रोक्न खोज्नुभयो ।

एकलौटी रूपमा आफैं निर्वाचित भएर आउने काममा लाग्नुभयो । अर्को कुरा, सत्तामा पनि कहिले यता लाग्ने, कहिले उता लाग्ने, स्थिर नहुने । पटक–पटक सरकार परिवर्तन हुने, प्रदेश सरकार पनि परिवर्तन हुन थालेपछि संघीयतामाथि पनि प्रश्न उठ्न थाल्यो । त्यसैले दीर्घकालीन मोर्चाका रूपमा र सरकारलाई स्थिर बनाउने हिसाबले कदम उठाइएको हो । पार्टीमा पनि हैकमवादी प्रवृत्तिबाट होइन, सामूहिक नेतृत्वको हिसाबले अघि बढाउनुपर्छ भन्ने भावनाका साथ हामीले छुट्टै पार्टी बनाउने निर्णयमा पुगेका हौं ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेलामा पनि जसपाभित्र सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा चर्को विवाद थियो । अहिले त्यसैको परिणाम हो ?

त्यस्तो होइन । पार्टीभित्र त्यतिबेलादेखि होइन, लामै समयदेखि विवाद थियो । सरकारमा विश्वासको मत दिने बेलामा उहाँलाई मन्त्री बनाउने कुरामा विवाद थिएन । महाधिवेशनमा एकलौटी ढंगले अघि बढ्न खोजेपछि अवस्था बिग्रेको हो र अहिलेको निर्णय लिन बाध्य भएका हौं ।

सत्ता गठबन्धन बदल्नकै लागि तपाईंहरूले पार्टी विभाजन गर्नुभएको भन्ने सन्देश गइरहेको छ नि ?

होइन । अहिलेसम्म गठबन्धनमा कुनै संकट परेको छैन । गठबन्धनको निरन्तरताको पक्षमा हामीहरू छौं । नयाँ गठबन्धन केका लागि बनाउने ? फेरि अस्थिरता ल्याउने ? केन्द्रमा गठबन्धन परिवर्तन भएपछि फेरि सातै प्रदेशमा सरकारहरू परिवर्तन गर्ने ? यसले कस्तो सन्देश दिन्छ ? देशको आर्थिक अवस्था कमजोर भएका बेलामा स्थिर सरकार होस् भन्ने हामीहरूको कुरा हो ।

जसपा विभाजनमा भूराजनीतिक कारण पनि जोडिएको भनेर अर्थ्याउन खोजिएको छ, तपाईं के भन्नुहुन्छ ?

भूराजनीतिक कुरा केही होइन । यो विभाजनको मुख्य कारण उपेन्द्रजी नै हो । उपेन्द्रजीको प्रवृत्ति र कार्यशैली जिम्मेवार हो । हामी गलत थियौं भने महन्थ, जेपी, विजय, राजेन्द्र, बाबुराम सबै गलत कसरी हुन्छन् ? एउटै व्यक्तिका कारण यस्तो सिनियर नेताहरू किन टिक्न सकेका छैनन् ? बाबुराम भट्टराई जस्तो प्रधानमन्त्री भइसकेको मान्छेले नेतृत्व स्वीकार गरेर आउनुभयो । तर, टिक्न सक्नु भएन । महन्थ ठाकुर, विजयकुमार गच्छदार सबै उपेन्द्र यादवभन्दा वरिष्ठ हुन् । तर, उनीहरूलाई पार्टी छोडेर जान बाध्य पारियो । हामीहरू सुधार होला भनेर बस्यौं । तर भएन । त्यही भएर यो निर्णय लिनुपरेको हो ।

एमालेसँग एकीकरण गर्ने कुरा पनि चलिरहेको छ नि ?

एमालेसँग किन एकीकरण गर्नुपर्‍यो ? हामीले एकीकरण गर्ने हो भने सोझै गर्न सकिन्थ्यो । कानुनमा व्यवस्था छँदै थियो । हाम्रो पार्टीको नाम छ, एजेन्डा र विधान छ । हामीलाई एकीकरण गर्न आवश्यक छैन । हामी आफ्नै मुद्दा लिएर जान्छौं । पार्टी बनाउँछौं । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार