काठमाण्डौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पठाइएपछि निजीक्षेत्रका दुई संस्थाले निजीक्षेत्रमाथि अनुसन्धान गर्न पाउने व्यवस्था हटाउन संयुक्त रूपमै औपचारिक माग राखेका छन् । निजीक्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले बुधवार संयुक्त प्रेस विज्ञप्ति जारी गरेर उक्त प्रस्तावप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उक्त विधेयक हालै विधायन समितिबाट पारित भएर राष्ट्रिय सभामा पेश भएको छ । जुन मंगलवारको सभाबाट पारित गर्ने तयारी गरिएको थियो । तर, त्यसको बढी विरोध भएपछि मंगलवारको कार्यसूचिबाट उक्त विधेयकलाई हटाइएको थियो । निजीक्षेत्रका संगठन तथा व्यवसायीहरूले उक्त प्रस्ताव हटाउन थप पहल गरिरहेका छन् ।
निजीक्षेत्रबाट सञ्चालित उद्योग÷प्रतिष्ठानलाई नियमन गर्ने सम्बन्धमा प्रचलित कानूनले अन्य धेरै नियमनकारी निकायहरू व्यवस्था गरेको र ती नियमनकारी निकायहरू स्वयम अख्तियारको निगरानीमा रहन्छन्,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्तो व्यवस्था हुँदाहुँदै निजीक्षेत्रलाई नियमन गर्न पुनः अख्तियार (संवैधानिक निकाय)मार्फत प्रस्तावित विधेयकको प्रावधानले निजीक्षेत्र थप हतोत्साहित भएको छ र यसबाट मुलुकभित्र लगानीको वातावरण अनुकूल नबन्ने निष्कर्ष सम्पूर्ण निजीक्षेत्रको छ ।’
प्रस्तावित प्रावधानले निजीस्तरका कम्पनीको पेशागत स्वतन्त्रतामाथि हस्तक्षेप हुने र देशको आर्थिक कारोबार चलायमान बनाउन र व्यावसायिक कार्य अघि बढाउनेतर्पm केन्द्रित हुनुको साटो सरकारी निकायको उत्पीडनमा पर्ने महासंघ र परिसंघले बताएका छन् । सरकारले अख्तियारले निजीक्षेत्रबाट सञ्चालित उद्योग-प्रतिष्ठान-कम्पनी, बैंक, मेडिकल कलेजलगायत निकायलाई समेत समेट्ने गरी उक्त ऐनको संशोधन प्रक्रिया अगाडि बढाएको छ ।
त्यसपछि निजीक्षेत्रका संगठन तथा व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख सुवास नेवाङ, सांसदलगायत व्यक्तिहरूलाई भेटी यस्तो प्रावधान हटाउन माग गरेका छन् । तर, त्यसको संकेत सकरात्मक देखिए पनि ठोस रूपमा नतीजा नआएको व्यवसायीहरूको भनाइ छ ।
निजीक्षेत्रलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोग, राजस्व अनुसन्धान आयोगजस्ता निकायले नियमन गर्ने र केही गल्ती भए कारबाही भइआएकाले अवस्थामा अख्तियारको दायरामा लैजान आवश्यक नभएको उनीहरूको भनाइ छ । आफ्नो सम्पत्ति लगानी गरेर जोखिम लिइरहेको निजीक्षेत्रलाई अख्तियारको तरबार देखाएर तर्साउँदा औद्योगिक क्षेत्रको विकासमा समेत बाधा पुग्ने उनीहरूको भनाइ छ । अभियान दैनिकबाट ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया