काठमाण्डाैंः एक महिनामा गड्डाचौकी नाकाबाट साँढे ३१ हजार नेपाली भित्रिएका छन् । यही अवधिमा भारत फर्कनेको संख्या भने साढे चार हजार रहेको छ ।
लकडाउनका कारण भारतमा अलपत्र परेका नेपालीको उद्धारका लागि गत १२ जेठदेखि गड्डाचौकी नाकाबाट प्रवेशका लागि खुला गरिएको थियो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार १२ जेठदेखि १२ असारसम्म भारतबाट ३१ हजार सात सय ७७ नेपाली स्वदेश आएका छन् । चार हजार चार सय २२ भारतीय नागरिक नेपालबाट फर्केका छन् ।
१२ जेठमा दुई हजार ६ सय ३७ जना नेपाली स्वदेश प्रवेश गरेका थिए । त्यसैदिन तीन सय ५३ जना भारतीय फर्केका थिए । एक महिनापछि १३ असारमा ८८ जना नेपाली भित्रिएका छन् भने ३२ जना भारतीय स्वदेश फर्केका छन् । पछिल्ला दिनमा भारतबाट नेपाल प्रवेश गर्नेको संख्या क्रमिक रूपमा घटिरहेको छ ।
सबैभन्दा बढी १८ जेठमा तीन हजार सात सय ५२ र सबैभन्दा कम १३ असारमा ८८ जना नेपाल प्रवेश गरेका छन् । लकडाउनका कारण भारतमा रोजगारी गुमेपछि लालाबालासहित नेपाली नागरिक झिटीगुन्टा बोकी स्वदेश फर्किएका छन् । नेपालमा इँटाभट्टा, फर्निचर, चिनी उद्योग एवं व्यावसायिक क्षेत्र बन्द भएपछि भारतीय नागरिक स्वदेश फर्केका हुन् । यो खबर आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया