काठमाण्डौंः प्रतिनिधी सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा आज सम्पूर्ण नेपालीमा बधाई र शुभकामना व्यक्त गरेका छन् ।
संसद् दिवसका अवसरमा दिएको सन्देशमा उनिहरुले लोकतान्त्रिक परिपाटीको स्थापनाका लागि आफनो जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धा अर्पण गर्दै सङ्घर्षका क्रममा घाइते तथा अङ्गभङ्ग भएका योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनसँगै २०१६ असार १६ गते संसद्को पहिलो बैठक प्रारम्भ भएको थियो । उक्त दिनको स्मरणस्वरूप हरेक वर्ष असार १६ गते संसद् दिवस मनाइँदै आएको छ । जनताका प्रतिनिधिमार्फत शासन सञ्चालन गरिने सर्वाेच्चतम शासन व्यवस्थाका रूपमाा संसदीय शासन प्रणालीलाई लिने गरिन्छ । उहाँहरुले भन्नुभएको छ, “राज्य पुनःसंरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाई जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग हुन जरुरी छ ।”
कोभिड–१९ महामारीले सिर्जना गरेको विषम परिस्थितिमा पनि सङ्घीय संसद्का बैठकहरु सञ्चालन भइरहेको बताउँदै उहाँहरुले महामारीकै कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरिएको स्पष्ट गर्नुभएको छ । आवधिक निर्वाचनबाट स्थापित हुने संसद् र संसदीय शासन प्रणालीमा अभ्यस्त राजनीतिले वास्तविकरूपमा जनाकांक्षाअनुरूप कार्य गर्न सक्छ भन्ने मान्यता रहिआएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया