काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीलाई गाली गर्ने अर्का एक जना पनि पक्राउ परेका छन् । तीन दिनअघि पक्राउ पर्नेमा पोखराका दुर्गा दत्त बाँस्तोला रहेका छन् । उनले सामाजिक जञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीलाई गाली गरेको साइबर ब्यूरोले जनाएको छ ।
प्रहरीका अनुुसार बाँस्तोलाले, ‘… केपी ओली र …आईमाई विद्या भण्डारी बेसारमय भए’ भन्दै स्टाटस लेखेका थिए । बाँस्तोलामाथिको अनुसन्धान अझै जारी रहेको ब्यूरोले जनाएको छ ।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई सामाजिक सञ्जालमार्फत वैशाखयता गालीगलौज गर्ने अन्य ११ जना पक्राउ परेका छन् ।
उनीहरूले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको फोटो राखी विभिन्न गाली बेज्जती गर्दै फेसबुक स्टाटस लेखेका थिए । ब्यूरोबाहेक प्रधानमन्त्रीलाई गाली गर्नेलाई प्रहरीको अन्य युनिटले पनि पक्राउ गरेको छ ।
ब्युरोले पक्राउ गरेकाहरूमा मनोज बान्तवा राई, उज्ज्वल दुलाल, शिवनारायण महतो, ईश्वर भट्टराई, रञ्जन सापकोटा, प्रकाश ढकाल, तारा नाछिरिङ, रामकुमार श्रेष्ठ, भीमप्रसाद उपाध्य, तोरणराज पौडेल र दुर्गा बाँस्तोला छन् ।
पक्राउ परेकामध्ये शिवनारायण महताे पूर्वपक्षका लागि जेल चलान भएका छन् । अन्यको हकमा अदालतले १० हजारदेखि १ लाख १० हजार रुपैयाँसम्मको जरिमाना गरेर छोडेको छ ।
विद्युतीय कारोबार ऐन २०६३ मा कम्प्युटर इन्टरनेट लगायत विद्युतीय सञ्चारमाध्यमबाट नैतिकता, शिष्टाचार, कसैप्रति घृणा फैलाउने सामग्री प्रकाशन गरे १ वर्षदेखि ५ वर्षसम्म कैद सजाय र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया