नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका शीर्ष राजनीतिक प्रतिद्वन्द्वीले भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएको केही दिनपछि मङ्गलबार राजधानी दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका प्रमुख नेता अरविन्द केजरीवाललाई मार्चमा उहाँको सरकारले मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा हिरासतमा लिइएको थियो ।
उहाँ भ्रष्टाचार अनुसन्धानको सामना गरिरहेका धेरै विपक्षी हस्तीमध्ये एक हुनुहुन्छ । उहाँको पार्टीले उहाँको गिरफ्तारीलाई मोदीको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले बनाएको ‘राजनीतिक षड्यन्त्र’ भनेको छ ।
सर्वोच्च अदालतले गत साता उहाँलाई आधिकारिक फाइलहरूमा हस्ताक्षर नगर्ने वा आफ्नो कार्यालय नजाने शर्तमा जमानत दिएको थियो । केजरीवालले आगामी वर्षको प्रारम्भमा हुने दिल्ली निर्वाचनमा जनताबाट नयाँ जनादेश खोज्नका लागि राजीनामा दिएको प्रतिक्रिया दिनुभयो ।
दिल्लीकी शिक्षामन्त्री आतिशीले अन्तरिम रूपमा उहाँको स्थान लिनुहुनेछ । त्रिचालीस वर्षीया आतिशीले आफ्नो मनोनयनपछि अझै पनि मार्गदर्शनका लागि आफ्ना पूर्ववर्तीलाई हेर्ने बताउनुभयो । “दिल्लीमा एउटै मात्र मुख्यमन्त्री छ, त्यो अरविन्द केजरीवाल हो”, उहाँले भन्नुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया