बेइजिङ । चीन र रुसका विदेशमन्त्रीहरूले संयुक्त राष्ट्रसङ्घीय महासभामा युक्रेन युद्धबारे छलफल गरेका छन् ।
पछिल्लो समयमा चीन र रूसले सम्बन्ध बलियो भएको छ भने सन् २०२२ मस्कोले युक्रेनमा आक्रमण गरेपछि द्विपक्षीय व्यापारले बढवा पाएको छ ।
पश्चिमी मुलुकहरूले रूसको आक्रामक युद्धको समयमा बेइजिङले राजनीतिक आवरण र आर्थिक समर्थन प्रदान गरेको आरोप लगाएका छन् । आरोपलाई चीनले अस्वीकार गर्दै द्वन्द्वमा तटस्थता कायम राखेको जनाएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सिसिटिभीले बिहीबार विदेशमन्त्री वाङ्ग यीले संयुक्त राष्ट्रसङ्घीय महासभामा आफ्ना रूसी समकक्षी सर्गेई लाभरोभलाई भेटवार्ता गरेको जनाएको छ ।
छलफलमा दुवै पक्षले युक्रेन सङ्कटलगायत विषयमा विचार आदानप्रदान गरेको सिसिटिभीले उल्लेख गरेको छ ।
विदेशमन्त्री वाङले द्विपक्षीय सम्बन्ध उतार–चढावबाट गुज्रिएको उल्लेख गर्दै स्थायी असल छिमेकीको रुपमा चीन–रुस सम्बन्धलाई अगाडि बढाउने उल्लेख गर्नुभएको छ ।
चीन र रूसले ‘नो–लिमिट्स’ साझेदारी अनुरुप विश्वव्यापी मामिलामा अमेरिकी नेतृत्वको पश्चिमी प्रभुत्वको विरोध गर्दै आएका छन् ।
बेइजिङ र मस्कोले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको सातौँ वार्षिकोत्सव मनाउँदै छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी महिना रुसमा हुने उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको छ । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया