काठमाण्डौैः विराटनगरमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ ।
कोशी अस्पतालको आइसोलेसनमा बिहीबार भर्ना गरिएकी सुनसरी इनरुवा नगरपालिका वडा नम्बर ३ की ४० वर्षीया जंगलीदेवी सदाको मृत्यु भएको छ । अस्पतालका मेसु डा. चुमनलाल दासका अनुसार ती महिलामा कोरोना भए नभएको परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।
कोशीको आइसोलेसनमा उदयपुरका एक र मोरङका अर्का एक जना चिकित्सकको निगरानीमा छन् । यता कोशी अस्पतालकै इमरेन्जी वार्ड अगाडि एम्बुलेन्समा उदयपुरका अर्का एक युवकको शुक्रबार नै मृत्यु भएको छ ।
श्वासप्रश्वाससम्बन्धी समस्या भई कटारीबाट रेफर भई विराटनगर ल्याइएका उनलाई भर्ना गर्न निजी अस्पतालहरुले नमाने पछि कोशीमा ल्याइएको थियो । तर, कोशीमा समेत भर्ना लिन ढिलाइ गर्दा २३ वर्षीय पदम राईको एम्बुलेन्समै मृत्यु भएको आफन्तले बताएका छन् ।
आफन्तका अनुसार श्रीमती कमला राई र बहिनी चमेली राईले ती युवकलाई पहिले नोबेल अस्पताल लगेपनि ‘कोरोना संक्रमण भए नभएको परीक्षण रिर्पोट नभएको’ भन्दै भर्ना गर्न मानेको थिएन । उनलाई स१च १२०५ नम्बरको एम्बुलेन्समा राखेर विराटनगर ल्याइएको थियो ।
ती युवकलाई एम्बुलेन्समै अक्सिन लगाएर ल्याइएको र अपरान्ह मृत्यु भएको हो । कोशी अस्पतालले भने त्यहाँ पर्याप्त सुविधा नभएकोले धरान रेफर गर्ने निर्णय हुँदाहुँदै मृत्यु भएको जनाएको छ । साँझ युवकको शव एम्बुलेन्सबाट ओह्रालेर कोरोना परीक्षणको लागि नमूना लिइएको थियो ।
इनरुवा बजार फेरी लकडाउन
यसैबीच इनरुव ३ महेन्द्र चौकका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको सम्पर्कमा आएका अन्यको शनिबार स्वाब संकलन गरी परीक्षणमा पठाउने र त्यसको रिर्पोट नआउन्जेल इनरुवा बजार लकडाउन गर्ने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको आपतकालीन बैठकले बजार क्षेत्रबाट २५ जना र वडाहरुबाट पाँच पाँच जनाको स्वाब संकलन गरेर परीक्षणमा पठाइने निर्णय भएको छ । त्यसको रिर्पोट नआउन्जेल बजार, बैंक, वित्तीय संस्था, पशस बन्द गर्ने निर्णय भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया