असार २३, २०८२ सोमबार July 7, 2025

भारत-चीन मित्र र प्रतिस्पर्धी : बुद्धिनारायण श्रेष्ठ

दुवै देशको स्वार्थ मिल्दा भारतले त बिर्सन्छ बिर्सन्छ, चीन पनि लिम्पियाधुरा, लिपुलेक नेपालको हो भन्ने सवालमा गुपचुप बस्ने गर्दो रहेछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

केही अध्येताले भन्ने गरेका छन्– भारत र चीनबीच सन् १९५४ देखि नै लिपुलेक भएर व्यापार हुने गरेको थियो । सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमण गएको समय लिपुलेक भएर दुई देशबीचको व्यापार वाणिज्य अभिवृद्धि गर्ने सम्झौता हुँदा नेपालले किन टाउको दुखाउनुपर्‍यो ?

भारत र चीनबीच सम्बन्ध सुमधुर भएको समयमा ‘हिन्दी–चिनी भाइ–भाइ’ को नारा घन्केको थियो । ती दुई देशबीच शत्रुता पैदा भएको बखत ‘हिन्दी–चिनी बाइ–बाइ’ मा परिणत भयो । सम्बन्ध सुधार हुन लागेको अहिलेको अवस्थामा ‘हिन्दी–चिनी हाइ–हाइ’ हुन पुगेको छ । हाम्रा ती दुई छिमेकीले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकमा नकारात्मक असर पार्ने गरेकै छन् ।

भारतका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले १९५४ मा गरेको चीन भ्रमणपछि दुवै देशबीच सम्बन्ध र सम्पर्क निकै मजबुत भएको थियो । स्वदेश फर्केपछि नेहरूले नारा घन्काएका थिए– ‘हिन्दी–चिनी भाइ–भाइ ।’ तिब्बत चीनको स्वशासित क्षेत्र हो भन्ने कुरा भारतले भनेपछि हौसला बढेर चिनियाँले पनि दुई देशका पदाधिकारीका भेटघाटका समयमा ‘चिनी–हिन्दी भाइ–भाइ’ को नारा भट्याउने गरेका थिए ।

यो नाराको सिर्जना हुनाको कारणचाहिँ भारत–चीनबीच १९५४ अप्रिल २९ मा भएको ‘तिब्बत क्षेत्रसँग व्यापार र सम्पर्कसम्बन्धी सम्झौता’ नै थियो । यसमा ‘भारतका तीर्थयात्रीलाई लिपुलेक भन्ज्याङसहित ६ नाकाबाट कैलाश मानसरोवर तीर्थाटन गर्न जान दिने र भारतीय व्यापारीलाई सीमावर्ती ताक्लाकोट भई ल्हासासम्म जान दिने’ उल्लेख थियो । यसैको खुसियालीमा प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले अक्टोबर १९५४ मा चीन भ्रमण गरेका थिए ।

बुझ्नुपर्ने कुरा के छ भने– सन् १९५४ को सम्झौताको धारा–३ को दफा–४ मा ‘दुई देशका सीमावर्ती जिल्लाका व्यापारी बासिन्दा सानातिना व्यापार (पेटी ट्रेड) गर्न वा साथीभाइ र आफन्तलाई भेट्न सीमापार गरेर अर्को पक्षको सीमावर्ती जिल्लामा जान सक्नेछन्’ भन्ने उल्लेख छ । सम्झौताको शीर्षक नै ‘तिब्बत क्षेत्रसँग’ भन्ने छ । सन् २०१५ मे १५ को सम्झौतामा चाहिँ ‘बृहत् थोक व्यापार (बल्क ट्रेड)’ गर्ने व्यवस्था रहेको छ ।

यसमा सीमावर्ती क्षेत्रको मात्र होइन, भारतभरका जनता तथा व्यापारीहरू तिब्बती क्षेत्र ल्हासा, सांघाई, नानजिङ, बेइजिङ, ग्वानचाओ आदि स्थानमा जान सक्ने प्रावधान छ । १९५४ को सम्झौताको धारा–३ को दफा–८ मा ‘हालको सम्झौता आठ वर्षका लागि लागू हुनेछ’ भन्ने उल्लेख थियो । सन् १९६२ मा यो सम्झौता नवीकरण हुनुपर्नेमा दुई देशबीचको सीमा मामिलामा वैमनस्य उत्पन्न भई सीमायुद्ध भएकोले नवीकरण नभएर यो स्वतः रद्द भयो । शत्रुता पैदा भएका कारण १९५४ को सम्झौता खारेज भएकोले सन् २०१५ मा अर्को सम्झौता गरिएको यथार्थता बुझ्नुपर्छ ।

कालान्तरमा दुई देशको सीमारेखाबारे मतभेद भई सम्बन्ध बिग्रँदै गयो । परिणामतः अक्टोबर–नोभेम्बर १९६२ मा पाँचहप्ते डरलाग्दो सीमायुद्ध नै भयो । यस युद्धमा भारतीय सैनिक १,३८३ र चिनियाँ ७२२ गरी जम्मा २,१०५ सेना हताहत भएपछि हिन्दी–चिनी सम्बन्ध ‘बाइ–बाइ (टाटा–टाटा)’ मा परिणत भयो । हाल दुई देशबीच सम्बन्ध सुध्रन लागेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुसमा भएको ब्रिक्स सम्मेलनमा भाग लिन गएका बेला त्यहाँ चीनका राष्ट्रपति सी चिनफिङसँग २०२४ अक्टोबर २३ मा साइडलाइन कुराकानी भएको थियो । कुराकानीमा लद्दाख क्षेत्रमा जारी तनाव अन्त्य गर्न भारत र चीन सहमत भएका छन् ।

भारत अंग्रेज उपनिवेशबाट सन् १९४७ मा स्वतन्त्र भयो । तिब्बतलाई चीनको स्वशासित क्षेत्र भनी सन् १९५१ मा चीनले गाभेपछि भारत र चीनको सिमाना गाँसियो र ती दुई देश छिमेकी हुन पुगे । ३,४८८ किलोमिटर लामो सीमारेखामा लद्दाख र अक्साई चीनलाई पश्चिमी क्षेत्र, हिमाचल र उत्तराखण्डलाई मध्यक्षेत्र र अरुणाचल प्रदेशलाई पूर्वी क्षेत्र भनियो । सिमाना गाँसिएको केही वर्षसम्म उनीहरू मित्रवत् देशका रूपमा रहे । एकअर्को देशको सीमावर्ती क्षेत्रमा दुवै देशका जनतालाई जान र आउन सुविधा दिइयो ।

मित्रताको एक दशक बित्दा–नबित्दै ती दुवै देशबीच मनोमालिन्य बढ्दै गयो । ब्रिटिस शासनकालमा तिब्बत र ब्रिटिस भारतका बीच भारतले कोरेको म्याकमहोन सीमारेखा चीनलाई मान्यता छैन, यो तत्कालीन तिब्बतमा एकतर्फी तरिकाले आफूखुसी खिचिएको रेखा हो भनी चीनले दाबा सुरु गर्‍यो । स्वतन्त्र भारतले चाहिँ यो हामीले कोरेको रेखा होइन, सन् १९१४–१५ मा तत्कालीन सरकारका सर हेनरी म्याकमहोनले कायम गरेको सीमा हो र वर्तमान भारतले अंग्रेजको विरासत बोकेकाले त्यसै सीमारेखालाई मानेको छ भन्ने जिकिर गर्‍यो ।

चीनले दाबा गर्दै भन्यो– अक्साई चीन र अरुणाचल प्रदेशबाट भारत पछाडि हट्नुपर्छ । यो साबिक तिब्बतको भूभाग थियो । तर भारतले टेरेन । फलतः सन् १९६२ मा घमासान सीमायुद्ध हुन पुग्यो । परिणामतः अक्साई चीनको ३२ हजार वर्ग किलोमिटर भू–भाग चीनले कब्जा गरेर चिनियाँ फौज थामियो । अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिनमा चीनले दाबा गर्‍यो । चीनको त्यो दाबा हालसम्म पनि कायमै रहेको छ ।

जब चिनियाँ फौज थामियो, भारतले चिनियाँ सेनालाई अरू अगाडि बढ्न रोक्ने सामरिक सन्धि–सर्पनको भूमि कहाँ होला भनी खोज्दै जाँदा नेपालको लिपुलेक घाटी परेको भन्ज्याङ भेट्यो र त्यहीँ सैनिक अड्डा जमाएर बस्यो । कालान्तरमा कालापानी, लिम्पियाधुरासम्मको नेपालको ३७२ वर्गकिलोमिटर भूमि अतिक्रमण गर्‍यो । अहिलेसम्म भारतले त्यो भूभाग ओगटेको छ । सीमायुद्धपछि ती दुवै देश शत्रुका रूपमा परिणत भए ।

अहिले भारत र चीन बेलाबेलामा मित्रता ब्युँताउन चाहन्छन्, अनि बेलाकुबेला शत्रुतापूर्ण कार्य पनि गर्दै आइरहेका छन् । भुटानको दोक्लम सीमामा सन् २०१७ जुन महिनामा भारतीय र चिनियाँ सेनाले पाखुराले धक्कमधक्का गरेको, कुम जुधाएर पौंठेजोरी खेल्न खोजेका थिए । लद्दाखको गलवान क्षेत्रमा २०२० जुन १५ मा लाइन अफ एक्चुअल कन्ट्रोलका सीमापार गरी दुई देशबीचको सेनाबीच झडप भएको थियो । झडपमा २० जना भारतीय र ४ जना चिनियाँ सैनिक हताहत भएका थिए ।

अर्कोतर्फ भारत र चीन विश्व राजनीतिक रंगमञ्चमा प्रतिस्पर्धीका रूपमा रहेको पाइन्छ । चीन संयुक्त राष्ट्रसंघको भिटो पावरमा रहेको छ । भारत पनि तँछाडमछाड गरी त्यहाँ पुग्न चाहन्छ । यस मानेमा भारत र चीनबीच शत्रुता पैदा भएर सीमायुद्ध हुँदा नेपालको लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र अतिक्रमणमा पर्न गयो । ती दुई देशबीच मित्रतामा पुग्दा २०१५ मे १५ मा लिपुलेक भन्ज्याङ भएर दुवै देशले बृहत् रूपमा व्यापार वाणिज्य अभिवृद्धि गर्ने सम्झौता भयो, लिपुलेक क्षेत्रको सम्प्रभुतामा धक्का पुग्यो ।

स्मरणीय छ, सवा अर्ब जनताका लागि भारतले चीनबाट वार्षिक ९४ अर्ब डलरको तयारी सरसामान आयात गर्छ । चीनले भारतबाट २८ अर्ब डरलको गह्रौं तथा कच्चा पदार्थ किनिदिन्छ । यसबाट चीनको ठूलो बजार भारत हो भन्ने प्रमाणित गर्छ । दुवै देशको स्वार्थ मिल्दा भारतले त बिर्सन्छ बिर्सन्छ, चीन पनि लिम्पियाधुरा, लिपुलेक नेपालको हो भन्ने कुरामा गुपचुप बस्ने गर्दो रहेछ । चीनलाई राम्ररी नै थाहा छ र भनेको पनि थियो– कालापानी क्षेत्र नेपालमा पर्छ । स्मरणीय छ, लिम्पियाधुरा क्षेत्रमा नेपाल, भारत र चीनको त्रि–देशीय सिमाना जोडिन्छ ।

भारत र चीनबीच सीमायुद्ध भयो, लडाइँ साम्य भएपछि भारतले कालापानी अतिक्रमण गर्‍यो । ती दुई देशबीचको सम्बन्धमा सुधार भयो, माया बढ्दै गयो, अनि नेपालको लिपुलेक क्षेत्र मिचियो । कुरो २०२४ डिसेम्बर १८ को हो, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल विशेष प्रतिनिधिका रूपमा चीन भ्रमण गएका थिए । त्यहाँ उनले चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा चीनका विदेशमन्त्री वाङ यीसँग भेट गरे । त्यस अवसरमा दुवै देशले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै दफा ६ मा ‘भारतीय तीर्थयात्रीको कैलाश–मानसरोवर यात्रा पुनः सुरु गर्न दुवै देशले मञ्जुरी गरेका छन्’ भन्ने उल्लेख गरियो ।

तत्कालीन भारतको भाइसराय (सन् १८९८–१९०५) लर्ड कर्जनले भनेका छन्– ‘सिमाना भनेको वास्तवमा छुरीको धारजस्तो हो, जसमा राष्ट्रको जीवन वा मृत्यु अथवा युद्ध वा शान्तिको आधुनिक मुद्दा झुन्डिएको हुन्छ ।’ लर्ड कर्जनको भनाइ नेपालका लागि निकै सान्दर्भिक छ । छुरीको धारमा हिँड्नुपरेको नेपालको खुट्टा धारबाट उत्तरतिर चिप्लिए भारतले ठूला–ठूला आँखाले हेर्ने गर्छ ।

यसैगरी नेपाल दक्षिणतर्फ घोप्टिए चीनले मनमनै नेपाललाई सराप्छ । त्यसैले नेपालले सन्तुलन कायम गरी हिँड्नुपरेको छ । हाम्रा दुई छिमेकीले आपसमा भाइ–भाइ भनी सम्बोधन गरे तापनि, टाटा–बाइ, हाइ–हेलो जे गरे पनि ती दुई देशलाई समदूरीमा होइन, समसामीप्यमा राखेर नेपालले दुवै छिमकीको सहायताबाट आर्थिक उन्नतिको योजना बनाउन सक्नुपर्छ ।कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया