काठमाडौँ, फागुन १ गते । संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध चार वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रिटमा संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको छ । चार वर्षअघि दर्ता भएका १० वटा रिटमा बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो । संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेकै अवस्थामा २०७८ भदौ १७ गते सर्वोच्चकै एकल इजलासबाट भएको अन्तरिम आदेशका कारण लामो समय सुनुवाइ प्रभावित भएको थियो । रिट निवेदकमध्ये एक अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार अर्को सुनुवाइ फागुन २१ गतेका लागि तोकिएको छ ।
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भई मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अब फागुन २१ गते पनि यही इजलासले मुद्दाको सुनुवाइलाई निरन्तरता दिने छ । कार्यकाल सकिन लाग्दासमेत मुद्दा टुङ्गो नलागेको भन्दै आलोचना भइरहेका बेला अदालतले अन्तिम सुनुवाइ सुरु गरेको हो । पदाधिकारीको छ वर्षको कार्यकालमध्ये नियुक्तिको संवैधानिक परीक्षणको मुद्दा चार वर्ष भइसकेको छ ।
२०७९ फागुन ३ यता पेसी चढे पनि सुनुवाइ हुन सकेको थिएन । दुई वर्षपछि मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको हो । दुई वर्षको अवधिमा सात पटक पेसी तोकिए पनि हेर्न नभ्याइने र हेर्न नमिल्ने इजलासमा परेको थियो ।
प्रतिनिधि सभा विघटन भएको समयमा संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी दुई पटक गरी संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त भएका थिए । नियुक्तमध्ये केहीले अवकाशसमेत पाइसकेका छन् ।
अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरी पदाधिकारी सिफारिस गरिएको थियो । २०७७ माघमा ३२ र २०७८ असारमा २० पदाधिकारी नियुक्त भएका थिए । प्रतिनिधि सभा विघटनका कारण दुवै पटक संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी पदाधिकारी नियुक्त भएका थिए । सुनुवाइ प्रक्रिया पूरा नगरी नियुक्ति हुन नसक्ने, अध्यादेशबाट गरिएको ऐन संशोधन गैरकानुनी रहेकोलगायतका जिकिरसहित सर्वोच्चमा रिट दर्ता भएका छन् ।गोरखापत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया