असार २४, २०८२ मंगलबार July 8, 2025

लोकतन्त्रका धमिरा – चन्द्रकिशोर झा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लोकतन्त्र संवादबाट चल्नुपर्छ । जनसंवादले जनसहभागिताको आयतनलाई बढाउँछ । अनि लोकतन्त्रका जराहरू भुइँतहसम्म फैलिन पाउँछन् । तर, संविधानोत्तर नेपालमा राजनीतिक दलहरूमा समयअनुसारको राजनीतिक संस्कार बस्न सकेको छैन । सामन्तवादी चरित्र निर्मूल हुन सकेको छैन ।

२०४६ को जनआन्दोलनबाट नेपाली जनता पञ्चायत व्यवस्था नामको अधिनायकवाद हटाउन सफल भए । त्यसउप्रान्त लोकतान्त्रिक शासन प्रणाली अपनाइयो तर सत्तामा पुगेकाहरूले त्यसको मर्म र मान्यता आत्मसात् गर्नै सकेनन् । यस्तै आधारभूमिका कारण मुलुकको राजनीति बांगोटिंगो यात्रा गर्दै जनआन्दोलन–२ को संघारसम्म पुग्यो । त्यतिखेर राज्य र राजनीतिको परम्परागत अवधारणामै आमूल परिवर्तन अपेक्षित थियो । लोकतन्त्र, शान्ति, न्याय, समानता र समुन्नतिका लागि स्वस्थ राजनीतिक वातावरण बन्ला भन्ने आम नागरिकको आशा थियो । तर त्यसमा पनि तुषारपात भयो । राजनीतिक दलहरू र आममान्छेबीच संवादहीनताले निरन्तरता पाइरह्यो ।

हामीकहाँ राजनीतिक दलहरू राणा शासनविरोधी आन्दोलन गर्ने क्रममा जन्मेका हुन् । नेपाल प्रजा परिषद्को गठनदेखि आजसम्म आठ दशक बितिसकेको छ । राणाविरोधी आन्दोलनदेखि नेपाली कांग्रेस प्रमुख पार्टीका रूपमा देखियो, तर त्यो बेला कम्युनिस्टलगायत अन्य पार्टी पनि क्रियाशील थिए । २०४६ पछिको जनआन्दोलनदेखि नेपाली कांग्रेस र पछि एमाले प्रमुख पार्टीका रूपमा देखिए । यस अवधिका अनेक घुम्ती पार गर्दै फेरि नेपाली कांग्रेस र नेकपा अग्रभूमिकामा आइपुगेका छन्, अनेक रूपरङका अरू दलसँगै । तर समय र चोला फेरिए पनि संस्कार उही छ, अलोकतान्त्रिक । आफैंभित्र लोकतन्त्र झाँगिन पाएको छ कि छैन ? समावेशीकरण फैलिँदै गएको छ कि छैन ? लोकतन्त्र कुनै वर्ग, कुनै स्वार्थी गिरोह वा कुनै पार्टीका लागि मात्र आएजस्तो भएको छ कि ? सत्तारूढ दलका कार्यकर्ता बन्दा शासकीय लाभका सबै झ्यालढोका खुल्ने अवस्था त छैन ?

आफैंभित्र लोकतन्त्र झाँगिन पाएको छ कि छैन ? समावेशीकरण फैलिँदै गएको छ कि छैन ? लोकतन्त्र कुनै वर्ग, कुनै स्वार्थी गिरोह वा कुनै पार्टीका लागि मात्र आएजस्तो भएको छ कि ? सत्तारूढ दलका कार्यकर्ता बन्दा शासकीय लाभका सबै झ्यालढोका खुल्ने अवस्था त छैन ?

कांग्रेसको इतिहास नै यस्तो छ, ऊ चाहेर पनि एउटा सीमाभन्दा अधिक अधिनायक हुन सक्दैन । नेकपाको विगत नै यस्तो छ, ऊ चाहेर पनि एउटा सीमाभन्दा अधिक उदार हुन सक्दैन ।सबै दलले यावत् प्रश्नबारे गम्भीर हुनुपर्छ । लोकतन्त्रले शासन प्रक्रियामा मात्र होइन, अर्थतन्त्र र संस्कृति, राष्ट्रनिर्माण र व्यक्तित्व निर्माणमा सामाजिक विविधतालाई समावेश गर्नुपर्छ । लोकतान्त्रिक अभ्यासमा अहंकारवादले ठाउँ पाउनु हुँदैन । दलीय चेतले नागरिकलाई दुर्बल पार्नु हुँंदैन, राज्य वा दलको हस्तक्षेप नागरिकविरुद्ध होइन, नागरिकको पक्षमा हुनुपर्छ । तर अहिले भुइँमान्छेहरूले हाकाहाकी भन्न थालेका छन्-यो देश कार्यकर्ताहरूको भयो ! तृणतहमा सत्तारूढ नेकपाको निगरानी बढ्दै गएको छ र आममानिसका स्वतन्त्रताहरू अतिक्रमित हुँदै आएका छन् । कार्यकर्ताहरूले उपल्लो दर्जाको नागरिक ठानिनु, दलको छहारीभन्दा अलग र स्वतन्त्र चेत भएका सामान्य नागरिक दोस्रो दर्जाका सम्झिइनु अहिलेको क्रूर यथार्थ हो ।

सत्तरी वर्षको नेपाली राजनीतिको सूक्ष्म मूल्यांकन गर्ने हो भने सबैभन्दा खड्किने कुरा जनचाहना र दलीय आग्रहबीचको अन्तर नै हो । दलहरू जनचाहनालाई आफूअनुकूल र एकल रूपमा परिभाषित गर्छन् र त्यसकै आधारमा संघर्ष गर्छन् । रोचक विडम्बना के हो भने, जुनसुकै मूलबाट निस्किएका यी राजनीतिक खोलाहरूले प्रवाह गर्ने राजनीतिको गुण र स्वादमा समानता छ । मुलुकको वर्तमान संक्रमण साँच्चै चुनौतीपूर्ण छ । यसलाई हचुवा पाराले र दलका नेताविशेषको निजी स्वार्थसँग सीमित गरेर व्यवस्थापन गर्न खोजिएमा नेपाली जनजीवन, जतिसुकै उत्कृष्ट दाबी गरिएको संविधान पाएको भए पनि, अविच्छिन्न अस्थिरतामा फसिरहन्छ ।

कांग्रेसको इतिहास नै यस्तो छ, ऊ चाहेर पनि एउटा सीमाभन्दा अधिक अधिनायक हुन सक्दैन । नेकपाको विगत नै यस्तो छ, ऊ चाहेर पनि एउटा सीमाभन्दा अधिक उदार हुन सक्दैन ।

धान जुन भूगोलमा उब्जिएको भए पनि धान नै हो । धानको जात भने ठाउँ हेरी भिन्न हुन सक्छ । कम्युनिस्ट नामधारी अहिलेको सत्तारूढ दलले आफूलाई उदार देखाउनु पनि रणनीतिक चाल मात्र थियो कि ? नत्र बहुलवादी राजनीतितर्फको उसको ‘रूपान्तरण’ मा प्रश्न किन उठ्थ्यो ? पछिल्लो निर्वाचनमा अभूतपूर्व सफलतापछिका सम्पूर्ण घटनाक्रममा नेकपा आफ्नो अभीष्ट पूरा गर्न निकै सफल भइरहेको छ । अन्य राजनीतिक दलका तुलनामा राजनीतिक चतुर्‍याइँका लागि ऊ अब्बल साबित भइरहेको छ । यसमा नेपाली कांग्रेसको साथ–सहयोग पनि कम जिम्मेवार छैन । सामान्यजनले कांग्रेस र नेकपामा अन्तरको कुरा गर्छन्, मचाहिँ यसलाई इतिहासका आधारमा हेर्नुपर्छ भन्ने बुझ्छु । कांग्रेसको इतिहास नै यस्तो छ, ऊ चाहेर पनि एउटा सीमाभन्दा अधिक अधिनायक हुन सक्दैन । नेकपाको विगत नै यस्तो छ, ऊ चाहेर पनि एउटा सीमाभन्दा अधिक उदार हुन सक्दैन ।

अहिलेको ज्वलन्त प्रश्न हो- तानाशाही पार्टीहरू किन ? मै पार्टी हुँ भन्ने छनक जतिसुकै शक्तिशाली नेताले दिन मिल्छ ? लोकतान्त्रिक पार्टीका रूपमा दलहरूको निर्माण कसरी गर्ने, लोकतन्त्रप्रेमीहरूका लागि गम्भीर सरोकारको विषय भएको छ यो । यो चिन्ता मूलतः गणतन्त्रको स्वास्थ्यका लागि हो । राजनीतिक शक्ति सञ्चयका लागि दलका मुखिया बन्नेहरूले आआफ्ना दलभित्र ‘अधिनायकवाद’ लाई संस्थागत गरेका छन् । दलपतिहरू आफ्नो संगठनभित्र निरंकुश नै देखिएका छन् । दलका विधानको मर्मलाई कुल्चिँदै मनपरी गर्नु तिनका लागि सामान्य हुन थालेको छ । पार्टीभित्रको लोकतन्त्र केवल उसैको आन्तरिक विषय हो कि निश्चित आधार र पद्धतिको, उत्तरदायी व्यवस्थाको अनिवार्य तत्त्व हो ? कांग्रेस वा नेकपा अझै एकीकरणको संक्रमणमा छन्, त्यसैले घाटघाटमा सम्झौता गर्दै छन् भनेर छुट दिइरहने अवस्था छ ?

दलका विधानको मर्मलाई कुल्चिँदै मनपरी गर्नु तिनका लागि सामान्य हुन थालेको छ । पार्टीभित्रको लोकतन्त्र केवल उसैको आन्तरिक विषय हो कि निश्चित आधार र पद्धतिको, उत्तरदायी व्यवस्थाको अनिवार्य तत्त्व हो ? कांग्रेस वा नेकपा अझै एकीकरणको संक्रमणमा छन्, त्यसैले घाटघाटमा सम्झौता गर्दै छन् भनेर छुट दिइरहने अवस्था छ ?

दलहरूको अराजक, अधिनायक र असहिष्णु आन्तरिक वातावरणले उत्पन्न गरेका परिस्थितिका कारण लोकतन्त्र अनावश्यक जटिलतातर्फ प्रवेश गर्दै छ । भुइँतहमा देखिएको मोहभंग संघीय लोकतान्त्रिक गणतन्त्रप्रति होइन, दलहरूको अराजनीतिक चरित्रप्रति हो । यो यथार्थ बुझ्न नसके धरातलमा पोखिएको असन्तुष्टिलाई उत्तेजनात्मक एवं गलत किसिमबाट प्रयोग गरी सिंगो उपलब्धिलाई नै बिथोल्ने प्रयासले बल पाउन सक्छ । हाम्रो दुर्भाग्य कस्तो छ भने, नयाँ–पुराना अन्य राजनीतिक शक्तिका चाल, चरित्र र चेहरा पनि पृथक् छैनन् । सत्तारूढ दलको बढी आलोचना हुनु स्वाभाविक हो, तर जनपरीक्षणको कसौटीमा तमाम दल उस्तै छन् र नेपाली जनताले यिनैबाट विकल्प रोज्ने हो । विकल्प भनेको नागनाथको ठाउँमा सर्पनाथ होइन । त्यसैले दलहरूले राजनीतिका नाममा गर्दै आएका अभ्यासहरूको कडा निगरानी हुनैपर्छ । राजनीतिको चरित्र नफेरी व्यवस्था फेर्दैमा लोकतन्त्र र लोककल्याणकारी राज्यका मान्यताहरूले मूर्त आकार पाउँदैनन् ।

नेपाली कांग्रेस र नेकपाको महाधिवेशन निकट भविष्यमा ढिलोचाँडो हुन्छ नै, तर यी दलभित्र आन्तरिक लोकतन्त्र छैन र त्यो तत्काल सम्भव पनि छैन । प्रतिस्पर्धाका लागि व्यक्तिविशेषबीच तँछाडमछाड होला, त्यसले घर्षण पैदा गर्ला तर मूल संकटलाई अघोषित समझदारीको मखमली च्यादरभित्र छोपिए पनि प्रदूषण कम हुँदैन । त्यसैले राजनीतिक माहोलको पवित्रता चुनौतीपूर्ण बनेको छ । यसलाई सुधार्न कठिनाइहरू कहाँकहाँ छन् र उपायहरू केके हुन सक्छन् भन्नेबारे गहन राष्ट्रिय विमर्श जरुरी छ ।

लोकतन्त्र तब मात्र फलदायी हुन सक्छ, जब यसमा सामूहिकताको तागत हुन्छ, जुन प्रत्येक मान्छेको आवाज सुनिने सुनिश्चितताले मात्रै ल्याउन सक्छ । लोकतन्त्रमा संवादको अर्थ हो- शासनमा जनताको भागीदारी । तिनलाई अधिकारहरूप्रति जागरुक बनाउनु र आफूले शासन तथा जनताबीच सेतुको भूमिका खेल्नु दलहरूको काम हो । तर, जवाफदेहीबाट मुक्त दलभित्रका जोगाडुलाल (बिचौलिया) हरूले नीति बनाएमा जनताको सामूहिक आकांक्षाको पूर्ति हुँदैन ।

राजनीतिक दल केवल चुनाव लड्न वा सत्ता एवं विपक्षमा जानका लागि मात्र बनेका होइनन् । संसदीय लोकतन्त्रमा तिनको भूमिका यस्तो हुनुपर्छ, ताकि आम नागरिकले त्यसबाट प्रेरणा लिएर आफ्नो भूमिका निर्क्योल गर्न सकून् । तिनलाई खुला, पारदर्शी र न्यायपूर्ण समाज निर्माणमा प्रेरित गर्ने कार्य पनि राजनीतिक दलहरूकै हो । राजनीति नै नैतिक छैन, आदर्श र मूल्यहरूबाट च्युत छ, समाज र देशलाई उचाइतर्फ लैजाने सोच छैन भने लोकतन्त्रमा धमिरा लाग्दै जान्छ । लोकतान्त्रिक प्रणालीको निर्बाध सञ्चालनका लागि पहिले राजनीतिक दलहरूले आफूलाई सुधार्नुपर्छ ।

राजनीति नै नैतिक छैन, आदर्श र मूल्यहरूबाट च्युत छ, समाज र देशलाई उचाइतर्फ लैजाने सोच छैन भने लोकतन्त्रमा धमिरा लाग्दै जान्छ । लोकतान्त्रिक प्रणालीको निर्बाध सञ्चालनका लागि पहिले राजनीतिक दलहरूले आफूलाई सुधार्नुपर्छ ।

संक्रमणकाल भनेको निर्माण र रचनाको आधारभूत समय हो । तर दलहरूको चालढाल हेर्दा उनीहरू रूपान्तरण हुन निकै कठिन छ । बहुदलीय लोकतन्त्रमा दलहरू आफू रूपान्तरण नभई शासन सञ्चालन जनमैत्री हुन सक्दैन । भनिन्छ, दलहरू ‘हार्डवेयर’ हुन् भने, राजनीतिक संस्कार त्यो हार्डवेयर चलाउने ‘सफ्टवेयर’ हो । सफ्टवेयर उही रहने हो भने मतादेशमार्फत एकको साटो अर्को दललाई ल्याउनुको पनि तात्त्विक भिन्नता हुँदैन । राजनीति खर्चिलो भयो, यसले दलहरूको कथनी र करनीमा दूरी बढाउँदै लग्यो । पुँजीवादी सत्ताले लोकतन्त्रलाई जड बनाउँदै गयो । राज्यको सम्प्रभुता संख्याहरूको आधारमै तय हुन्छ भने यस्तोमा हाम्रा प्रतिनिधि ती हुन्छन् जसप्रति बहुसंख्यक जनता विश्वस्त देखिन्नन् । यो यथास्थिति नफेरिए लोकतन्त्रका शत्रु तिनै दलहरू हुनेछन्, जसले यसलाई अनेक भुमरीबाट जोगाएर ल्याए । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार