येरेवान । रुसले युक्रेनमा जारी युद्धका कारण अर्मेनियामा हतियार आपूर्तिमा ढिलाइ हुन पुगेको स्पष्ट पारेको छ ।
रूसका परराष्ट्र मन्त्री सर्गेई लाभरोभले बुधबार अर्मेनियाको राजधानी येरेवानमा आयोजित पत्रकार सम्मेलनमा भने,“अहिले हामी गम्भीर अन्तर्राष्ट्रिय संकटको सामना गरिरहेका छौं, जसका कारण सबै देशसँग भएका सैन्य सम्झौता समयमा कार्यान्वयन गर्न कठिन भइरहेको छ ।”
अर्मेनिया लामो समयदेखि आफ्नो सुरक्षा आवश्यकताका लागि रूसमाथि निर्भर रहँदै आएको देश हो । तर पछिल्ला वर्षहरूमा, अर्मेनियाले फ्रान्स र भारतबाट पनि हतियार खरिद गर्न थालेको छ, किनभने रुसले पहिले नै भुक्तानी गरिएका हतियारहरू समयमा आपूर्ति गर्न सकेको छैन ।
युक्रेनमाथिको आक्रमणलाई रुसले पश्चिमसँगको ऐतिहासिक संघर्ष भन्दै व्याख्या गर्दै आएको छ । लाभरोभले भने,“हाम्रो अर्मेनियाली मित्रहरूले वर्तमान परिस्थितिलाई बुझ्ने प्रयास गरेका छन् । यस्ता चुनौतीपूर्ण अवस्थामा सबै प्रतिबद्धता तत्काल पूरा गर्न सक्दैनौं भन्ने कुरा यथार्थ हो ।”
फ्रान्ससँग अर्मेनियाको बढ्दो सैन्य सहकार्यबारे उनले चिन्ता व्यक्त गर्दै भने,“ जब हाम्रो सहयोगी राष्ट्र त्यस्ता मुलुकतर्फ जान्छ जुन खुलेरै रुसको विरोध गर्छ, तब हामीलाई त्यसको रणनीतिक अर्थबारे सोच्नुपर्छ ।”
हाल अर्मेनिया र रूसबीचको सम्बन्धमा चिसोपन देखिएको छ । अर्मेनियाले रुस नेतृत्वको सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएस्टीओ) सँगको सहभागिता प्रभावकारी रूपमा स्थगित गरेको छ । रासस/सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया