काठमाडौं, जेठ २४ । अमेरिकाको भर्जिनियास्थित म्यानेसस पार्कको एक घरमा दुई बालबालिकासहित चार जना नेपाली मृत अवस्थामा फेला परेका छन्।
मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षीय बालक र ८ वर्षीया बालिका रहेका छन्। उनीहरू एउटै परिवारका हुन् वा होइनन् भन्ने विषयमा भने अझै पुष्टि हुन बाँकी रहेको बताइएको छ।
म्यानेसस पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १०:४० बजे एक घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेको भन्दै सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको तल्लो तलामा चार जना मृत व्यक्तिहरू फेला पारेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू सबैको मृत्यु गोली लागेर भएको अनुमान गरिएको छ। घटनास्थलबाट एक थान बन्दुक समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
चारै जनाको शव परीक्षणका लागि म्यानेससस्थित मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ। प्रहरीले घटनालाई गम्भीरताका साथ लिँदै अनुसन्धान जारी राखेको छ।
हाल घटनाको प्रकृति हत्या हो वा आत्महत्या भन्नेबारेमा पुष्टि नभएको र विस्तृत विवरण थप अनुसन्धानपछि मात्र खुल्ने जनाइएको छ।
घटनाले नेपाली समुदायमा स्तब्धता छाएको छ। नेपाली दूतावास तथा स्थानीय नेपाली संघसंस्थाहरूले घटनाबारे चासो व्यक्त गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया