असार १९, २०८२ बिहिबार July 3, 2025

सुडानमाथि अमेरिकी प्रतिबन्ध लागू, रासायनिक हतियार प्रयोगको आरोपपछि कडाइ

अमेरिकी सरकारद्वारा फेडरल रजिस्टरमा सार्वजनिक गरिएको सूचनामा प्रतिबन्ध कम्तीमा एक वर्ष लागू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन/खार्तुम, असार १५ गते । सुडानको गृहयुद्धका क्रममा खार्तुमस्थित सरकारी सेनाले रासायनिक हतियार प्रयोग गरेको आरोपपछि अमेरिकाले सुडान सरकारमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी सरकारद्वारा फेडरल रजिस्टरमा सार्वजनिक गरिएको सूचनामा प्रतिबन्ध कम्तीमा एक वर्ष लागू हुने उल्लेख गरिएको छ।

प्रतिबन्धअनुसार अब अमेरिकी कम्पनी वा संघसंस्थाले सुडानलाई हातहतियार, प्रविधि वा कुनै पनि प्रकारको सैन्य सामाग्री निर्यात गर्न पाउने छैनन्। साथै खार्तुमस्थित सरकारलाई आर्थिक सहायता, विकास सहायता, वा अन्य गैर-मानवीय सहयोग रोकिएको छ।

यद्यपि, प्रतिबन्धले अत्यावश्यक मानवीय सहायता, खाद्यान्न, कृषिजन्य वस्तु वा उत्पादनमा भने केही अपवादको व्यवस्था गरिएको छ।

न्युयोर्क टाइम्स ले जनवरीमा प्रकाशित गरेको रिपोर्टमा सुडानी सेनाले अर्धसैनिक गुट ‘र्‍यापिड सपोर्ट फोर्सेस (RSF)’ सँगको युद्धका क्रममा कम्तीमा दुई पटक दुर्गम क्षेत्रमा रासायनिक हतियार प्रयोग गरेको उल्लेख गरिएको थियो। रिपोर्टअनुसार ती हतियार क्लोरिन ग्यास जस्ता देखिएका थिए, जसले श्वासप्रश्वासमा गम्भीर असर पुर्‍याउने र मृत्युको कारण बन्ने खतरनाक प्रकृतिका थिए।

नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै उक्त रिपोर्टमा सुडानी सेनाको गतिविधिले अन्तर्राष्ट्रिय मानवीय कानून उल्लंघन गरेको आशंका गरिएको छ।

खार्तूमस्थित सरकारले भने रासायनिक हतियार प्रयोगको आरोपलाई सशक्त रूपमा खण्डन गर्दै आएको छ। तर अमेरिकाको ताजा कदमले उक्त विषयमा अन्तर्राष्ट्रिय दबाब र निगरानी झनै बढ्ने संकेत देखिएको छ।

सुडान सन् २०२३ यता गृहयुद्धमा फसेको छ, जहाँ सरकारी सेना र आरएसएफबीचको संघर्षले हजारौंको ज्यान लिइसकेको छ र लाखौं मानिस विस्थापित भएका छन्। अब अमेरिकी प्रतिबन्धले सुडानी सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्र र कूटनीतिक अवस्थालाई थप दबाबमा पार्ने अनुमान गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया