तेहरान, असार १६ गते । इरानको राजधानी तेहरानस्थित चर्चित एभिन जेलमा भएको इजरायली आक्रमणमा कम्तीमा ७१ जनाको ज्यान गएको इरानी न्यायपालिकाले पुष्टि गरेको छ।
मिजान समाचार एजेन्सीले न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार जुन २३ मा भएको आक्रमणका कारण मृतकहरूमा जेलका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, भेटघाटमा आएका परिवारका सदस्यहरू तथा नजिकका आवासीय क्षेत्रका बासिन्दाहरू रहेका छन्।
प्रवक्ता जहाँगीरले उक्त आक्रमणलाई ‘आतंकवादी र क्रूर हमला’को संज्ञा दिँदै इजरायलले पुनः अन्तर्राष्ट्रिय कानूनको अवमूल्यन गरेको टिप्पणी गरेका छन्। उनका अनुसार, यस घटनाले इजरायलको गैर-जिम्मेवार र आक्रामक प्रवृत्तिलाई उजागर गरेको छ।
इजरायलले जुन १३ बाट इरानका आणविक तथा सैन्य पूर्वाधारहरूमा हवाई आक्रमण सुरु गरेको थियो। करिब १२ दिनसम्म चलिरहेको भिडन्तपछि दुवै देशबीच युद्धविरामको घोषणा भएको थियो।
एभिन जेल इरानको सबैभन्दा सुरक्षायुक्त र संवेदनशील कारागारमध्येको एक मानिन्छ, जहाँ राजनीतिक कैदी, विदेशी नागरिक तथा उच्चप्रोफाइल बन्दीहरू राखिएका हुन्छन्।
यो आक्रमणले इरान–इजरायल द्वन्द्वलाई थप जटिल बनाउने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयम अपनाउन आह्वान गरिरहेका बेला यस घटनाले मानवीय संकट र क्षेत्रीय अस्थिरता थप चर्काउने खतरा देखिएको छ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया