तेहरान, असार १६ गते । इरानका सबैभन्दा वरिष्ठ शिया धर्मगुरु ग्रैंड अयातोल्लाह नासेर मकरिम शिराजीले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध धार्मिक फतवा जारी गरेका छन्।
अयातोल्लाह शिराजीले ती नेताहरूलाई ‘अल्लाहका शत्रु’ भन्दै इस्लामिक विश्वका सबै मुस्लिमहरूलाई एकताबद्ध भई इरानमाथि गरिएको आक्रमणको प्रतिवादमा उत्रिन आह्वान गरेका हुन्। उनले जारी गरेको फतवामा भनिएको छ, “इरानका सर्वोच्च नेता वा कुनै मार्जालाई धम्की वा हानि पुर्याउने व्यक्तिलाई युद्ध अपराधी मान्नुपर्छ।”
फतवा इस्लामिक कानुनअनुसार धर्मगुरुहरूले दिने निर्देशन हो, जसले धार्मिक दृष्टिकोणबाट कानुनी व्याख्या दिन्छ। शिराजी शिया मुस्लिम धर्मावलम्बीहरूका लागि अत्यन्तै सम्मानित ‘मार्जा’ मध्ये एक मानिन्छन्।
यसैबीच, इरानी सेना प्रमुख अब्दुलरहिम मौसावीले इजरायलसँगको युद्धविरामप्रति शंका व्यक्त गरेका छन्। साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमानसँग आइतबारको फोन वार्तामा मौसावीले भने, “हामी युद्धविरामप्रति ढुक्क छैनौं। फेरि आक्रमण भएमा जवाफ अझ कडा हुनेछ।”
उनले इरान आणविक वार्तामा व्यस्त हुँदा अमेरिका र इजरायलको मिलेमतोमा हमला भएको उल्लेख गर्दै ती दुवै देशले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको आरोप लगाए। “हामीले युद्ध सुरु गरेका होइनौं, तर आक्रमणकारीलाई पूर्ण शक्तिसाथ जवाफ दिएका छौं,” मौसावीले स्पष्ट पारे।
इरान–इजरायल युद्ध १२ दिन चलेपछि असार ९ (जुन २४) मा युद्धविराम भएको घोषणा अमेरिकी राष्ट्रपति ट्रम्पले गरेका थिए। उक्त युद्धमा इरानका ६१० र इजरायलका २८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।
यो फतवाले इरान–इजरायल तनाव पुनः चर्किने सम्भावना बलियो बनाएको विश्लेषण गरिएको छ। धर्म र राजनीति मिसिएपछि यस्तो प्रकारको अभिव्यक्ति मुस्लिम विश्वमा ठूलो प्रभाव पार्ने आँकलन गरिन्छ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया