काठमाण्डौं, असार २१ गते । रुसले युक्रेनमा अहिलेसम्मकै ठूलो हवाई आक्रमण गर्दै राजधानी किभसहित सुमी, खार्किभ र चेर्निहिभ क्षेत्रमा भीषण हमला गरेको छ । रुसी सेनाले युक्रेनतर्फ ५५० ड्रोन र ११ वटा मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ ।
युक्रेनको हवाई प्रतिरक्षा प्रणालीले तीमध्ये ४७६ वटा ड्रोन खसालेको बताइएको छ । रुसको यो आक्रमणलाई पछिल्ला वर्षहरूमा युक्रेनमाथि भएको सबैभन्दा ठूलो सैन्य आक्रमणको रूपमा हेरिएको छ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको फोन वार्ताको केही घण्टापछि उक्त आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रम्पले वार्तापछि पुटिन युद्ध अन्त्य गर्न इच्छुक नरहेको बताउँदै आफू निराश भएको प्रतिक्रिया दिएका थिए।
ट्रम्पले प्रस्ताव गरेको युद्धविराम योजना पुटिनले अस्वीकार गरेपछि किभमाथि ड्रोन आक्रमण तीव्र बनेको विश्लेषण गरिएको छ। युक्रेनले पनि जवाफी रूपमा रुसमा ड्रोन हमला गरेको जनाइएको छ।
यसैबीच, युक्रेनसँगको युद्धमा रुसका नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभको मृत्यु भएको पुष्टि भएको छ। युद्ध झन जटिल बन्दै गएको सन्दर्भमा यो घटनाले दुवै मुलुकबीचको तनाव चुलिएको देखिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया