असार २८, २०८२ शनिबार July 12, 2025

मानवीय सहायता वितरणका क्रममा गाजामा सयौंको हताहती : राष्ट्रसंघ

झन्डै ८०० जना नागरिक सहयोग लिन खोज्दा ज्यान गुमाउन बाध्य भएको उनको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम सातायता करिब आठ सय जनाको ज्यान गएको छ। मानवीय सहायता लिने प्रयासमा यो संख्यामा मानिसको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको हो।

अधिकांशको मृत्यु अमेरिका र इजरायलको समर्थनमा सञ्चालनमा आएको गाजा मानव सहायता प्रतिष्ठानका वितरण केन्द्रनजिकै भएको बताइएको छ।

एक निजी प्रयोजनको रुपमा सञ्चालनमा आएको यस प्रतिष्ठानले गत मे २६ देखि गाजामा सेवा प्रदान गर्न थालेको हो। इजरायलले योभन्दा अगाडि दुई महिनासम्म गाजामा खाद्य तथा अन्य सामग्रीको आपूर्ति रोकेको थियो, जसका कारण गम्भीर भोखमरीको जोखिम देखिएको थियो।

At least 31 Palestinians killed at Gaza aid hub as witnesses say Israeli  troops fired on crowdसंयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रवक्ता रविना शमदासानीले जिनेभामा पत्रकारहरूसँगको कुराकानीमा भनिन्, ‘मे २७ देखि जुलाई ७ सम्मको अवधिमा हामीले गाजा मानव सहायता प्रतिष्ठानका केन्द्रहरूसँग नजिकै ६१५ जनाको मृत्यु भएको अभिलेख गरेका छौँ।’

उनका अनुसार, थप १८३ जनाको मृत्यु सम्भवतः सहायता सामग्री लादिएका सवारीहरूको मार्गमा भएको अनुमान गरिएको छ।

झन्डै ८०० जना नागरिक सहयोग लिन खोज्दा ज्यान गुमाउन बाध्य भएको उनको भनाइ छ।

गाजा मानव सहायता प्रतिष्ठानको कामका क्रममा गाजा क्षेत्रमा संयुक्त राष्ट्रसंघको सहायता वितरण प्रणाली लगभग निष्क्रिय भएको छ। सहायता लिन लामबद्ध भएका मानिसहरूमाथि प्रायः जसो इजरायली सुरक्षाकर्मीहरूले गोली चलाएको घटनाहरू देखिँदै आएका छन्।

प्रतिष्ठानले एक विज्ञप्ति मार्फत हालसम्म ‘६ करोड ९० लाखभन्दा बढी भोजन सामग्री वितरण गरिएको’ उल्लेख गरेको थियो। तर उसले आफ्ना वितरण केन्द्रहरूसँगै नजिक मृत्यु हुने घटनाहरू भएको कुरा अस्वीकार गर्दै आएको छ।-रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया