काठमाण्डौंः यो वर्षको तीज पर्व सकिएको छ । तीजमा व्यस्त भएका कलाकारहरू तीजपछि यतिबेला फेरि दसैं–तिहार पर्व गीत गायनतर्फ लागिसकेका छन् ।
गायिका राधिका हमाल पुनले यो वर्ष करिब एक दर्जन तीज भाका गाइन् । उनका धरैजसो तीज भाकाले बजारमा राम्रै चर्चा पायो । तीज पर्व सकिन नपाउँदै काठमाडौंमा निषेधाज्ञाबीच पनि उनी अहिले दसैं–तिहार गीत घरमै तयारी गर्दै छिन् । काठमाडौंको अनामनगरमा म्युजिक बैंक रेकर्डिङ स्टुडियो सञ्चालन गर्दै आएकी गायिका हमालका अनुसार दसैं-तिहार पर्व गीतको प्रस्ताव धमाधम आएका छन् । तीमध्ये दुईवटाको त उनले तयारीसमेत थालिसकेकी छन् ।
गायिका राधिका हमाल मात्र हैन, थुप्रै लोकगायक-गायिका अहिलेबाटै दसैं–तिहार गीतको तयारीमा जुटिसकेका छन् । यो वर्ष असोजमा मलवास महिना परेकाले कात्तिक ७ बाट दसैं सुरु हुँदै छ । यस्तै, तिहार पनि कात्तिकको अन्तिममा छ भने भाइटीका त मंसिर १ गते परेको छ । यसरी दसैं आउन दुई महिना बाँकी हुँदा यतिबेला गायक–गायिकाहरू दसैं–तिहार गीत बनाउनमा जुटेका छन् ।
यो वर्ष १२ वटा तीज गीत गायक खुमन अधिकारी अहिले दसैं–तिहार गीतको तयारीमा छन् । काठमाडौंमा निधेधाज्ञा सुरु हुनुअघि नै आफूले दुईवटा दसैं–तिहार गीत रेकर्ड गराइसकेको गायक खुमनले बताएका छन् । उनको भनाइमा काठमाडौंमा निषेधाज्ञा सुरु भएपछि अहिलेको बसाइ घरमै छ । घरमै बसेर भर्चुअलको माध्यमबाट पर्व गीतहरूको तयारी गरिहेको पनि गायक खुमन अधिकारीले बताएका छन् । बर्सेनि विभिन्न कलाकारसँग एक दर्जनसम्म गीत दसैं–तिहार गीत गाउने गरेका यी कलाकार यो वर्ष कोरोना संक्रमणका कारण दसैं–तिहार गीत घट्ने अवस्था आएको बताउँछन् ।
चार दिनअघि सम्पन्न तीजका लागि यो वर्ष तीनवटा तीज गीत गाएकी गायिका तथा मोडल ज्योति मगर पनि अहिले दसैं गीतमा जुटिसकेकी छन्, ‘यसपालिको दसैं–तिहारका लागि गीतको कुराकानी भइरहेको छ । एउटा गीतको तयारी थालिसकेको छु भने अरू गीत पनि एक÷दुई दिनमै छनोट गरेर गायन अभ्यास सुरु गर्छु,’ ज्योतिले भनिन् । गायनमा मात्र हैन, उनलाई त दसैं–तिहार गीतबाट भिडियोमा अभिनय गर्न प्रस्तावसमेत आइसकेको छ ।
गायक पशुपति शर्मादेखि गायिका रमिला न्यौपानेसम्म पनि अहिले दसैं–तिहार पर्व गीतको तयारीमा व्यस्त छन् । तीन दिनअघि मात्र नयाँ लोकदोहोरी भाका ‘रैछ जीवन नाटक र जात्रा झैं…’ बजारमा ल्याएका गायक शर्मा अहिले घरमै बसेर दसैं–तिहारका नयाँ भाका सिर्जना गरिरहेका छन् । यस्तै, गायिका रमिला न्यौपानेले पनि यसपटकको दसैं–तिहारका लागि नयाँ गीतको तयारी गरिरहेको बताएकी छन् ।
गत वर्ष ‘ह्याप्पी तिहार चिसो बियर…’ गीत तिहारमा ल्याएर विवादमा परेका गायक दुर्गेश थापा पाँच दिनअघि निकालेको नयाँ गीत ‘आलु जस्तो गायक…’ बाट अहिले चर्चामा छन् । उनी पनि यो वर्ष दसैं–तिहारका लागि नयाँ गीत ल्याउने तयारीमा छन् । तर, पोहोरको जस्तो विवादास्पद गीत भने नल्याउने उनको कथन छ । काठमाडौंमा कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि अहिले घरमै बसेर पर्व गीत बनाउन व्यस्त रहेको दुर्गेशको कथन छ । उनका लागि गायक गीतकार तथा संगीतकार वसन्त थापाले नयाँ गतिको तयारी गरिरहेका छन् ।
गत महिना तीज भाका ल्याएका गायक सुुवर्णकुमार थापा र गायिका दीपा कोइरालाले त यो वर्षको दसैंका लागि नयाँ गीत संयुक्त स्वरमा रेकर्ड नै गरिसकेका छन् । निषेधाज्ञा हट्नासाथ नयाँ गीतको भिडियो छायांकन गरेर आफूहरूले बजारमा दसैं–तिहार गीत सार्वजनिक गर्ने गायिका दीपाले बताइन् ।
कलाकारहरूका लागि तीज, दसैं–तिहारजस्ता पर्वमा गीतसँगै स्टेज कार्यक्रमले राम्रो आम्दानी दिलाउँछ । यसपटक कोरोना संक्रमणका कारण विगतको जस्तो अवस्था नभए पनि लोक कलाकारहरू अहिले घरमै बसेर दसैं–तिहार पर्व गीत रेकर्डिङमा जुटिरहेका छन् । राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया