काठमाडौं। परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेश प्रस्थान गरेका छन्। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टि कार्यक्रममा सहभागी हुन मन्त्री शर्मा गएराति ढाका प्रस्थान गरेका हुन्।
मन्त्री शर्माको नेतृत्वमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समेत बंगलादेश गएका छन्। उक्त भ्रमणका क्रममा मन्त्री शर्माले बंगलादेश सरकारका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ। भेटवार्ताका क्रममा नेपाल–बंगलादेशबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र क्षेत्रीय हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री शर्मा बिहीबार, अर्थात् पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ। राजकीय अन्त्येष्टि कार्यक्रममा सहभागी भएर नेपालले बंगलादेशप्रति समवेदना प्रकट गर्नुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
बेगम खालिदा जियाले प्रधानमन्त्रीका रूपमा रहँदा नेपाल–बंगलादेश सम्बन्ध मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको स्मरण गरिएको छ। विशेषगरी कूटनीतिक सम्बन्ध विस्तार, आपसी समझदारी र क्षेत्रीय सहकार्यमा उनको भूमिका उल्लेखनीय रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया