८० वर्षको इतिहास बोकेको कांग्रेस पार्टी फेरि एक पटक विभाजित भएको छ । र, यो अत्यन्तै प्रतिकूल समयमा यसको नेतृत्व तपाईंले लिनुभएको छ । यो एउटा उपलब्धि हो, चुनौती हो अथवा पराजय हो । तपाईंले यसलाई कसरी समीक्षा गर्नुभएको छ ?
पहिलो कुरा म नेपाली कांग्रेस पार्टी फुटेकै मान्दिनँ । किनकि पार्टीको विधानअनुसार भएको विशेष महाधिवेशनले गरेको निर्णय सबैका लागि शिरोधार्य हुनुपर्छ । १४औं महाधिवेशनमा आदरणीय शेरबहादुर देउवालाई यिनै महाधिवेशन प्रतिनिधिले सभापति चुनेका हुन् । तिनै प्रतिनिधिले अहिले यो निर्णय गरेका हुन् । दोस्रो, कांग्रेसभित्रको लडाइँ को सभापति हुने भन्ने होइन । पार्टीभित्रको सत्ता संघर्ष, शक्ति संघर्ष पनि होइन । समयको चापलाई बुझ्ने कि नबुझ्ने ? प्रतिकूलतालाई बुझ्ने कि नबुझ्ने भन्ने हो ।
समाज जता जाओस्, त्यसको वेग/भावना जता बगोस्, पार्टीभित्र मसँग संख्या छ भने मैले बेपरवाह त्यसलाई थिचेर–मिचेर जान सक्छु भन्ने पार्टीका मठाधीशहरूको लामो समयदेखि एउटा चरित्र रहँदै आएको छ । हामीले त्योमाथि प्रश्न गरेको हो । सडकले दुत्कारेको व्यक्ति वा समाजले हुन्न भनेको व्यक्ति पार्टीभित्रको संख्याका आधारमा पार्टी–सत्ता कब्जा गरेर त्यसले नै सडक र नागरिकमाथि आफ्नो निर्णय लाद्ने जुन विकृत दलीय अभ्यास छ, त्यसलाई बदल्ने एउटा प्रयास गरेका हौं । त्यसैले नाफा–घाटा के होला भनेर सरोकार राखेका छैनौं । सत्यको बाटोबाट अगाडि बढ्दै जान्छौं ।
वैधानिकताको प्रश्न स्वाभाविक रूपमा उठ्छ । निर्वाचन आयोग हुँदै अदालतसम्म पनि पुग्न सक्छ । किनकि तपाईंहरू, दुई महामन्त्री र सहमहामन्त्रीलाई तत्कालीन संस्थापकले कारबाही गरेको छ । त्यसपछि तपाईंहरू कार्यसमिति चयनमा जानुभएको छ । त्यसकारण यो वैधानिकताको प्रश्न उठ्छ कि उठ्दैन । खासगरी मूल कांग्रेस कुन हो भनेर ?
नेपाली कांग्रेस पार्टीको विधानअनुसार विशेष महाधिवेशन प्रारम्भ भइसकेपछि बन्दसत्र सुरु भएको पहिलो दिनै निर्णय गरेर नयाँ केन्द्रीय समिति निर्वाचनको प्रक्रिया बढाइएको हो । प्रक्रियासंगत ढंगबाट शेरबहादुर देउवा सभापति र हामी महामन्त्री रहेको केन्द्रीय कार्यसमिति भंग भयो । जसको जानकारी हामीले दुई दिन अगाडि नै निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता गराइसकेका छौं ।
त्यसैले निर्वाचन आयोगले आज चिन्ने, जान्ने भनेको भृकुटीमण्डपमा अहिले भइरहेको विशेष महाधिवेशन नेपाली कांग्रेस पार्टीलाई हो । त्यसकारण विधानसम्मत, कानुनसम्मत हिसाबले अहिले नेपाली कांग्रेसको केन्द्रीय समिति विशेष महाधिवेशनबाट चयनको प्रक्रियामा छ । नेतृत्व निर्माणको प्रक्रियामा छ । जो आफैं छैन । नभएको केन्द्रीय कार्यसमितिले हामीमाथि कारबाही गर्ने र त्यसलाई हामीले भोग्नुपर्ने हुन सक्दैन ।
जब यो विषय निर्वाचन आयोगमा प्रवेश गर्छ । आयोगले कति समय लिन्छ भन्ने कुरा महत्त्वपूर्ण छ । किनकि ६ माघमा प्रत्यक्ष निर्वाचनका लागि मनोनयन हुँदै छ । त्यही भएर ६ माघभित्र आयोग एउटा निष्कर्षमा पुग्ने सम्भावना देख्नुहुन्छ कि देख्नुहुन्न ? किनभने यस विषयमा मानिसहरूमा संशय छ ।
हाम्रो प्रचलित कानुन, निर्वाचन, दलसम्बन्धी कानुन, हाम्रो पार्टीको विधान यो सबै कुरालाई एक ठाउँमा राखेर हेर्दा मलाई लाग्छ, आयोगले एकदमै छोटो समयभित्र निर्णय गर्न सक्छ । विशेष अधिवेशन सम्पन्न भएको छ । यो अधिवेशनबाट भएर आएका कुरालाई अद्यावधिक गर्ने विषय मात्रै हो । अद्यावधि गरिसके पछाडि आयोगको निर्णय सकिन्छ । अद्यावधिक गरिसकेपछि बाँकी रहेका साथीहरू पनि आयोगको निर्णयलाई स्विकार्नु हुन्छ र पार्टी एकढिक्का भएर अगाडि बढ्छ । त्यो एउटा अपेक्षा र विश्वास पनि लिएको छु ।
तत्कालीन महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको शेरबहादुर देउवाको हस्ताक्षरसहितको ‘डकुमेन्टहरू’ निर्वाचन आयोगमा छन् । त्यसलाई ‘रिप्लेस’ गर्नका लागि तपाईंहरूसँग के कस्ता बलिया ‘डकुमेन्ट्स’ छन् । जसले गर्दा आफ्नो पक्षमा निर्णय आउँछ भन्ने तपाईंहरूलाई विश्वास छ ।
निर्वाचन आयोगको नियमित प्रक्रिया छ । त्यो नियमित प्रक्रियामा जाने हो । शेरबहादुर देउवा सभापति रहेको बेलामा पार्टीले निर्णय गर्यो, उहाँको हस्ताक्षरलाई आयोगमा पठाइयो । यहीबीचमा पार्टी विशेष महाधिवेशनमा गयो । एकछिनलाई मानौं विशेष अधिवेशनमा गएको थिएन ।
निर्वाचन कानुनको हिसाबले कुनै पनि पार्टीले उम्मेदवारी दर्ता गर्नुभन्दा केही क्षण अगाडि पनि हस्ताक्षर पठाउन सक्छ । सामान्य अवस्थामा समेत आफ्नो बैठकबाट निर्णय गरेर हाम्रो सभापति बदलिनुभयो वा हाम्रो हस्ताक्षर गर्ने अधिकारी बदलिनुभयो भनेर जानकारी आयोगलाई दिन सक्छ । यो हस्ताक्षरबाट हाम्रो पार्टीको निर्वाचनसम्बन्धी प्रक्रिया बढाइदिनुस् भनेर आयोगलाई भन्न सक्छ । कानुनले पनि भन्छ ।
विशेष महाधिवेशन विधिसम्मत भएको छ । यसलाई निर्वाचन आयोगले विधिसम्मत अद्यावधिक गरिदिने हो । अतिरिक्त ‘फेभर’ नगरीकन कानुनसम्मत कुरालाई उसले स्वीकार गर्ने हो । पार्टीको नयाँ कमिटीलाई अद्यावधिक गरिसकेपछि नेपाली कांग्रेस एक ठाउँमा आउने र ठीक ढंगले चल्ने भई नै हाल्छ । एउटा अधिवेशन भइरहेको छ, अर्कार्तेिर पार्टीले निर्णय गर्यो भन्ने आधारमा दुईवटा कमिटी भएको भनिएको छ । दुईवटा त हुनै सक्दैन । कि हामी ठीक हुनुपर्यो, कि आज सानेपामा बसेर निर्णय गर्नेहरू ठीक हुनुपर्यो ? हाम्रो दाबीभन्दा पनि विधानसम्मत भन्ने हो । हाम्रो प्रस्ट बुझाइ के छ भने महाधिवेशन नै आधिकारिक हो । यसमा फुट्ने भन्ने प्रसंगै रहेन । हामी जहाँ छौं, त्यो ठीक हो ।
लोकतन्त्रमा दल–दलबीच र दलभित्रै पनि आन्तरिक प्रतिस्पर्धा स्वाभाविक मानिन्छ । तर, पार्टी विभाजन पक्कै पनि अप्रिय हो । अब अहिले पार्टी विभाजन नहोस् भनेर कांग्रेसका नेता, कार्यकर्ता र स्वतन्त्र नागरिक तथा नागरिक समाजबाट पनि चिन्ता थियो । आज जुन तपाईंहरूले ॅस्टेप’ लिनुभयो । यसमा नआइपुग्नका लागि तपाईंहरूले अन्तिममा गरेका कोसिस के–के थिए ?
यसलाई पार्टीको संस्थापन पक्षले कहिले के, कहिले के भनेर विभिन्न ढंगले आफ्नो तरिकाले हेर्यो । तर, यसको सार जम्मा एउटा कुरा थियो । नागरिकको तहबाट कांग्रेसको नेतृत्वलाई स्वीकार गर्दैनौं भनिसकेपछि त्यो कुरालाई मनन गरौं र नयाँ नेतृत्वका साथ जाऔं भन्ने हो । नयाँ नेतृत्व जो भए पनि हुन्थ्यो । मलाई बनाइदेऊ भनेर मैले चाहेको होइन । न मैले वा विश्वप्रकाश शर्माले मलाई प्रधानमन्त्रीको उम्मेदवार बनाऊ भनेका छौं । कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार तोकेर जाऔं भनेको हो ।
मलाई बनाउ भनरे एक पटक पनि भनेको छैन । नेपाली कांग्रेस निर्वाचनमा जाँदै गर्दा मतदाताले दिएको मतबाट ठूलो पार्टी भएको खण्डमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैनन् भन्ने प्रस्ट बनाएर जाऔं भनेका हौं । उहाँको हस्ताक्षर चल्ने वा नचल्ने कुराले अर्थ राख्दैन । उहाँको हस्ताक्षर चले वा नचले पनि उहाँले अह्राएको मानिसको हस्ताक्षर चलेपछि हुन्थ्यो ।
नयाँ पार्टीहरूले प्रधानमन्त्री को हुन्छ भनेर घोषणा गरेर गइरहेको स्थितिमा यो कुरा नटुंग्याइकन गयौं भने त्यसबाट के बुझिन्छ भने कांग्रेस निर्वाचित भएर आयो भने फेरि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्छन् । त्यो ‘म्यासेज’ जान्छ । हाम्रो भनाइ सडकले इन्कार गरेको कुनै पनि पात्रलाई पार्टीले जबर्जस्ती बोकेर जाने कोसिस गर्यो भने भोलि सडकले ‘ब्यालेट’ मार्फत त्यसलाई इन्कार गरिदिन्छ । यो मूर्खता नगरौं भनेका हौं । पार्टी यसरी जोगिँदैन । यही विषयमा हाम्रो कुरा नमिलेको हो ।
विशेष महाधिवेशनले तपाईंको नेतृत्वमा केन्द्रीय कार्यसमिति बनाएको छ । आजको दिनपछि तपाईंको विचारमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्कालगायतका नेताहरूको राजनीतिक हैसियत के हो ? उहाँहरूको पहिचान के हो ? उहाँहरूको दल के हो ? पद के हो ?
उहाँहरू नेपाली कांग्रेसको पार्टी सदस्य हो । जसरी शेरबहादुर देउवा आउनुभन्दा पहिला अरू व्यक्तिहरू पार्टीको पदीय हैसियतमा हुनुहुन्थ्यो । उहाँहरू १४औं अधिवेशनबाट बन्नु भएको सभापति, उपसभापति हो । १४ र १५औंको बीचमा विशेष महाधिवेशनले मलाई सभापति बनायो । त्यही भएर उहाँहरू कांग्रेसको पूर्वसभापति, उपसभापति हो । हाम्रो श्रद्धेय नेताहरू हो ।
आजको दिनमा उहाँहरूलाई तपाईंको सन्देश के छ ?
पार्टीका सदस्यका हिसाबले उहाँलाई गर्ने अनुरोध के रहन्छ भने हिजो पनि हामीले पार्टीको फुट चाहेको होइन । फुट चाहेको भन्ने कुराको कुनै तुक छैन । अहिले पनि विशेष महाधिवेशनको निर्णयलाई शिरोधार्य गरिदिनुस् । सदस्यहरूको निर्णय हो यो, भन्ने आग्रह गर्छौं । दोस्रो कुरा कांग्रेस आजको दिनमा जुन अवस्थामा आइपुगेको छ । जुन अप्ठ्यारो भोगिरहेका छ, यसको कारक हामी होइनौं । उहाँहरूलाई राम्रोसँग थाहा छ । बन्दकोठामा छलफलहरू भएका छन् ।
हामी जाल–झेल, षड्यन्त्र, ‘सेटिङ’, ‘फिक्सिङ’ यी भाषालाई हामी बुझ्दैनौं । हामीले प्रस्ट भाषामा भनेको हो– तपाईं अलग भइदिनुस् । कांग्रेस हामी सम्हालेर लैजान्छौं । हामी सम्हाल्छौं भनेका, कहिल्यै पनि ड्राइभिङ सिटमा हामी बस्छौं भनेर दाबी गरेका होइनौं । नियमित महाधिवेशनबाट आउने स्थितिमा त्यो पनि गरौंला भन्ने हो । तर, अहिले पार्टीले ऐतिहासिक निर्णय गरेर जानुपर्छ भनेको हो ।
यो स्थितिमा सबैभन्दा ठूलो पदमा रहेका नेता नै ठूलो अवरोधक भइदिए । राष्ट्रले र समयले यसको मूल्यांकन गर्नेछ । आमपार्टी सदस्यहरूले शुभेच्छुकहरूले यसको मूल्यांकन गरिरहनुभएको छ । हामीले विशेष महाधिवेशनको हलमा भनेका वा कोठामा भनेका कुन चाहिँ कुरा हाम्रो व्यक्तिगत लाभसँग जोडिएको थियो । कुन चाहिँ कुरा पार्टी वा देशको अहितमा थियो ? कुनै पनि थिएन । एउटा कुरा पनि बताउन सक्नुहुन्न ।
अब लगत्तै प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारी दिने दिन आउँदै छ । हामी निर्वाचनकै बीचमा छौं । योबीचमा तपाईंहरूले जुन चुनौती लिनुभएको छ । यसले निर्वाचन पछि नेपाली कांग्रेसको र समग्र नेपालको राजनीतिलाई कुन दिशामा लग्ला ? फागुन २१ पछाडिको समग्र नेपाली राजनीतिको परिदृश्य कस्तो देख्नुहुन्छ ?
हामीले गरेको प्रयास कांग्रेस समर्थक, शुभचिन्तक र आम कार्यकर्तालाई मात्रै होइन, आम नागरिक र हिजो सडकमा आएका नौजवानहरूले पनि कांग्रेसको महाधिवेशनले हाम्रो आवाजलाई पनि प्रतिनिधित्व गरेको बुझेको हुनुपर्छ, बुझिदिनुपर्छ । बाँकी परिणामको हामीलाई धेरै ठूलो चिन्ता छैन । यो कुरा उहाँहरूले किन बुझ्नुपर्छ भने राजनीतिक दलको नेतृत्वले अनदेखा गर्ने, हेप्ने कार्य गरे । नागरिकलाई हेप्ने र पेल्ने कार्य गरेका छन् । मसँग संख्या छ भनेर पार्टीका आम कार्यकर्तालाई पेलेका छन् ।
संख्या पनि आफैंले सिर्जना गरेको, आफैंले नियन्त्रणमा राखेको हो । त्यही आधारमा गर्न खोजेको हो । त्यसलाई चुनौती दिएको हो । यो कुरा पार्टीका शुभेच्छुक नागरिकहरूले बुझिदिए, हामीलाई त्यति भए पुग्छ । त्यसपछि समयले हामीलाई कहाँ लिएर जान्छ, जान्छ । हामीलाई के कुरामा विश्वास छ भने एक दिन, दुई दिनमा निर्वाचन आयोगले दिने निर्णयसँगै अहिलेको परिस्थिति सम्हालिन्छ । र, हाम्रो नेतृत्वमा पार्टी फेरि एकढिक्का भएर ठीक ढंगले अगाडि बढ्छ भन्ने विश्वास छ । कान्तिपुरबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया