श्रावण १८, २०८३ सोमबार August 3, 2026

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना

स्वास्थ्य अवस्थामा सुधार भएपछि मात्र लामिछाने पुनः नियमित राजनीतिक तथा संगठनात्मक गतिविधिमा फर्किने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देब्रे खुट्टामा देखिएको स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन् ।

माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा लागेको सामान्य चोट समयक्रममा जटिल बन्दै गएपछि चिकित्सकीय उपचार आवश्यक परेको जनाइएको छ ।

स्वकीय सचिव अविनाश आचार्यका अनुसार प्रारम्भिक रूपमा सामान्य देखिएको चोट पछि छालाको भित्री तहसम्म संक्रमण फैलिएको पुष्टि भएको हो । सोही कारण उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरी उपचार भइरहेको छ ।

चिकित्सकहरूको परीक्षणपछि संक्रमणको अवस्था जोखिमपूर्ण हुन सक्ने देखिएकाले केही दिन अस्पतालमै राखी निरन्तर निगरानीमा उपचार गर्ने निर्णय गरिएको आचार्यले जानकारी दिए । चोट आफैँ गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सावधानी अपनाइएको बताइएको छ ।

चिकित्सकको सल्लाहअनुसार पूर्ण उपचार र स्वास्थ्य अवस्थामा सुधार भएपछि मात्र लामिछाने पुनः नियमित राजनीतिक तथा संगठनात्मक गतिविधिमा फर्किने स्वकीय सचिव आचार्यले स्पष्ट पारेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया