काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीको भूमिका अत्यन्तै संवेदनशील र निर्णायक हुने बताउनुभएको छ । उहाँले निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक यात्राको कोशेढुंगा भन्दै त्यसलाई सफल बनाउन सुरक्षाकर्मीको व्यावसायिकता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।
सोमबार काठमाडौँमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आसन्न फागुन २१ गते हुने निर्वाचनलाई उदाहरणीय र मानक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने अवसरका रूपमा निर्वाचनलाई लिँदै राज्यको तर्फबाट पूर्ण निष्पक्षता र विश्वसनीयता सुनिश्चित गरिनुपर्ने स्मरण गराउनुभयो ।
प्रधानमन्त्री कार्कीले निर्वाचनका क्रममा कुनै पनि नागरिक घाइते हुनु नहुने र एक थोपा पनि रगत बग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई सचेत गराउनुभयो । उहाँले प्रहरीको निष्पक्ष र कानुनसम्मत कार्यसम्पादन नै लोकतन्त्रको सुरक्षा कवच भएको उल्लेख गर्दै कुनै पनि राजनीतिक प्रभाव, दबाब वा पूर्वाग्रहबाट माथि उठेर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो ।
“आसन्न फागुन २१ को निर्वाचन हाम्रो उत्तरदायी लोकतान्त्रिक यात्राको एक महत्वपूर्ण कोशेढुंगा हो । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व हो, जसमा नेपाल प्रहरीको भूमिका निर्णायक हुन्छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “कुनै पनि राजनीतिक दबाब, प्रभाव वा पूर्वाग्रहबाट टाढा रही कानुनको मर्मअनुसार आफ्नो कर्तव्य पूरा गर्नुहोस् । तपाईंहरूको निष्पक्षताले लोकतन्त्रको सुरक्षा सुनिश्चित गर्दछ ।”
उहाँले कर्तव्य पालनाका क्रममा प्रहरीद्वारा गरिने सबै व्यावसायिक क्रियाकलापको जिम्मेवारी राज्यले लिने स्पष्ट गर्दै सुरक्षाकर्मीलाई आत्मविश्वासका साथ काम गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र भयमुक्त बनाउन सुरक्षाकर्मीको इमानदारी र अनुशासन निर्णायक आधार हुनेछ ।
कार्यक्रममा नवदीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै प्रधानमन्त्री कार्कीले राष्ट्र र नागरिकप्रति जिम्मेवार भई संविधान, कानुन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा समर्पित भएर काम गर्न आह्वान गर्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया