कार्तिक २५, २०८३ बुधबार November 11, 2026

युवालाई अनुशासित र देशभक्त नागरिक बनाउन राष्ट्रिय सेवा दलको तालिम प्रभावकारी : प्रधानमन्त्री

राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तालिम सम्पन्न, १०८० क्याडेट दीक्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २० माघ । राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक तथा प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा नवलपरासी जिल्लाको हात्तिखोरस्थित श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सञ्चालित सि.सं. २० सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोह सम्पन्न भएको छ । अनुशासन, नेतृत्व क्षमता र राष्ट्रसेवाको भावनालाई सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमबाट सहभागी क्याडेट छात्रछात्राहरू औपचारिक रूपमा दीक्षित भएका हुन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सफलतापूर्वक तालिम सम्पन्न गर्ने सम्पूर्ण क्याडेटहरूलाई बधाई दिँदै राष्ट्रिय सेवा दल सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले राष्ट्रिय सेवा दलमार्फत युवाहरूलाई अनुशासित, मर्यादित तथा राष्ट्रप्रति समर्पित देशभक्त नागरिकका रूपमा तयार पार्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । युवामा नेतृत्व विकास, सामाजिक जिम्मेवारी र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न यस्तो तालिम प्रभावकारी भएको उहाँको भनाइ थियो ।

समारोहमा प्रधान सेनापति अशोक राज सिग्देल, राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक, रथीबृन्द तथा अधिकृतहरू, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक, अभिभावक, एनसीसी एलुम्नाइ एसोसिएसनका पदाधिकारीहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसैबीच, महोत्तरी जिल्लाको बर्दिबासस्थित श्री राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालयमा पनि निरीक्षणाधिकृत विभागका प्रमुख उपरथी मधुकर सिंह कार्कीको प्रमुख आतिथ्यमा सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोह सम्पन्न भएको छ । देशका दुई फरक तालिम शिक्षालयमा आयोजित समारोहबाट आज कुल १०८० जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् ।

राष्ट्रिय सेवा दलका अनुसार यस वर्ष सञ्चालन गरिएको सिनियर डिभिजन तथा जुनियर डिभिजन तालिमबाट जम्मा ७,७१० जना क्याडेटहरू सफलतापूर्वक प्रशिक्षित भएका छन् । वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले युवामा अनुशासन, नेतृत्व क्षमता र राष्ट्रिय सेवाको भावना विकास गर्ने लक्ष्यसहित निरन्तर तालिम सञ्चालन गर्दै आएको छ । हालसम्म सिनियर तथा जुनियर डिभिजन गरी कुल ८९,८९४ जनाले राष्ट्रिय सेवा दलको तालिम सम्पन्न गरिसकेका छन् ।

राष्ट्रिय सेवा दलले विद्यालय तथा कलेज तहका विद्यार्थीहरूलाई लक्षित गर्दै शारीरिक, मानसिक तथा नैतिक विकासमा केन्द्रित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया