कार्तिक २५, २०८३ बुधबार November 11, 2026

श्रीलंकाकी नवनियुक्त राजदूत डेल्पिटियाको प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट

नेपाल–श्रीलंका द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा प्रधानमन्त्री कार्की र श्रीलंकाली राजदूतबीच छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गर्नुभएको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग उहाँले औपचारिक भेट गर्नुभएको हो।

भेटका क्रममा नेपाल र श्रीलंका बीचको विद्यमान मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझा हितका विविध विषयमा विचार–विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले राजदूत डेल्पिटियालाई नेपालमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा सहकार्य अपेक्षा गरिएको उल्लेख गर्नुभयो।

राजदूत डेल्पिटियाले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक, सांस्कृतिक तथा जनस्तरको सहकार्य विस्तार गर्न आफू तत्पर रहेको बताउनुभयो। हालै मात्र नेपालमा आफ्नो पदभार सम्हालेकी डेल्पिटियाले यसअघि श्रीलंकाको विदेश मन्त्रालयमा पूर्वी एशिया तथा अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य विभागको महानिर्देशकका रूपमा तथा बंगलादेशमा उप–उच्चायुक्तको जिम्मेवारी सम्हालिसक्नुभएको थियो।

उक्त भेटले नेपाल–श्रीलंका सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी सहकार्यका नयाँ सम्भावनाहरू पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया