कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

पृतनापति समन्वयात्मक बैठक सम्पन्न

निर्वाचन सुरक्षामा प्रभावकारी समन्वय गर्न प्रधानसेनापतिको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालित ‘पृतनापति समन्वयात्मक बैठक–२०८२’ बुधबार सम्पन्न भएको छ। बैठकको अन्तिम दिन प्रधानसेनापति महारथी अशोकराज सिग्देलले पृतनापतिहरूलाई सम्बोधन गर्दै आगामी कार्यदिशा र विशेषगरी निर्वाचन सुरक्षासम्बन्धी स्पष्ट निर्देशन दिएका छन्।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले आसन्न निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गर्न नेपाली सेना पूर्ण तयारीका साथ अघि बढ्नुपर्ने बताए। उनले ‘एकीकृत सुरक्षा योजना–२०८२’ कार्यान्वयनमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला पक्षसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिए। साथै, संगठनभित्र सकलदर्जाबीच सामूहिक भावना, अनुशासन र एकढिक्का भएर काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।

बैठकमा वर्तमान राष्ट्रिय सुरक्षा अवस्था, सम्भावित चुनौती, विपद् व्यवस्थापन तयारी, तालिमको अवस्था, बन्दोबस्ती व्यवस्थापन तथा अन्य समसामयिक विषयमा विस्तृत समीक्षा र छलफल गरिएको सैनिक स्रोतले जनाएको छ। पृतना स्तरमा भएका प्रभावकारी कार्य र उपलब्धिका लागि प्रधानसेनापतिले पृतनापतिहरूलाई धन्यवादसमेत व्यक्त गरेका थिए।

समापन कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, विभिन्न विभागका रथीबृन्द तथा उच्चपदस्थ अधिकृतहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकले आगामी दिनमा सेनाको रणनीतिक कार्ययोजना र निर्वाचन सुरक्षाको तयारीलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया