काठमाडौँ, २ फागुनः नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन विशेष निर्देशन दिनुभएको छ।
महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा सैनिक मुख्यालयमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचन जस्तो संवेदनशील राष्ट्रिय प्रक्रियामा नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले देशभर सुरक्षाको समन्वयात्मक वातावरण कायम राख्न, अन्य सुरक्षा निकायसँग सहकार्य सुदृढ गर्न तथा आवश्यक परेमा निर्वाचन सुरक्षामा प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रधानसेनापति सिग्देलले नेपाली सेनाले विपद् व्यवस्थापन, विकास निर्माण, शान्ति स्थापना र राष्ट्रिय सुरक्षाका क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्दै आगामी निर्वाचन पनि सफलतापूर्वक सम्पन्न गराउन सेनाको प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले अनुशासन, व्यावसायिकता र राष्ट्रप्रतिको समर्पणलाई अझ सुदृढ गर्दै लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउने दिशामा अग्रसर हुन सैनिक दर्जालाई आह्वान गर्नुभयो।
उहाँले नेपालको गौरवमय इतिहास, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सेनाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन–अध्यापनलाई प्राथमिकता दिन निर्देशन दिनुभयो। इतिहासका पाठबाट सिक्दै भविष्यको चुनौती सामना गर्न सक्षम बन्नुपर्ने उहाँको भनाइ थियो।
यसैबीच, सेना दिवसको अवसरमा आयोजित छुट्टै कार्यक्रममा प्रधानसेनापति सिग्देलले वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा कर्तव्य पालनाको क्रममा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा श्रद्धासुमन अर्पण गर्नुभयो। साथै, छाउनीस्थित वीर स्मारकमा वीरगति प्राप्त सैनिकका परिवारजनलाई सम्मान गर्दै उहाँले राष्ट्रको सुरक्षामा उनीहरूको त्याग र बलिदान सधैँ स्मरणीय रहने बताउनुभयो।
निर्देशनालयका अनुसार सेना दिवसका अवसरमा विभिन्न औपचारिक कार्यक्रम, सम्मान समारोह तथा सांस्कृतिक गतिविधिहरू समेत सम्पन्न भएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया