काठमाडौँ, ७ फागुनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सञ्चार प्रणालीमा राष्ट्रिय समाचार समिति (रासस) ऐतिहासिक धरोहरका रूपमा रहेको बताउनुभएको छ । राससको ६५औँ वार्षिकोत्सवका अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा राज्यको चौथो अङ्ग आमसञ्चारमाध्यमको नेतृत्व राससले गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले राससले गुणस्तरीय सामग्री उत्पादनमा जोड दिएर देशभित्र मात्र नभई अन्तरराष्ट्रियस्तरमा विश्वका अन्य समाचार एजेन्सीसँगको प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताउनुभयो ।
राज्य र जनताकाबीचमा पुलको भूमिका निर्वाहमा राससको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले सन्देशमा भन्नुभएको छ, “अहिलेको डिजिटल युगमा आफूलाई समयानुकूल परिवर्तन गरी सेवा प्रवाहमा विविधीकरण र गुणस्तरमा सुधार गर्दै जानु पर्दछ ।”
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको आधिकारिक समाचार संस्थाका रूपमा स्थापित राससले लोकतान्त्रिक प्रतिस्पर्धाको युगमा सोहीअनुरूप आफूलाई क्रियाशील राखेको पाउँदा आफूलाई खुसी लागेको बताउनुभएको छ । तथ्यमा आधारित समाचार र विश्लेषणहरू आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै विश्वसनीय समाचारको प्रमुख स्रोतको रूपमा राससको भूमिका अझै सुदृढ हुँदै जाने अपेक्षासमेत व्यक्त गर्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया