कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

रुपन्देहीका सीमा नाका ३ दिन बन्द हुने

निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्रीवितरण तथा सेवन निषेध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः निर्वाचनलाई लक्षित रुपन्देहीका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् । रुपन्देही जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमानाका तीन दिन बन्द रहने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले जारी गर्नुभएको सूचनामा यही फागुन १८ गते सोमबार राति १२ः०० देखि फागुन २१ गते बिहीबार राति १२ः०० बजेसम्म बन्द रहने जनाइएको छ ।

यसका साथै फागुन २० गते बुधबार राति १२ः०० देखि २१ गते बिहीबार मतदानकार्य सम्पन्न नहुन्जेलसम्म एम्बुलेन्स, दुग्धका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववहान, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारीसाधनबाहेक अन्य सवारीसाधन समेत सञ्चालनमा निषेध गरिएको सूचनामा जनाइएको छ ।

यस्तै प्रशासनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया