कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन मानवअधिकार आयोगको अनुरोध

प्रतिनिधिसभाको निर्वाचनको दिनको अनुगमनका लागि आयोगले देशैभर अनुगमन टोली खटायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ ।

आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर यो मानव अधिकारको सवाल भएकाले उत्साहपूर्ण रूपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न आयोग सम्पूर्ण मतदाताहरूलाई अनुरोध गरेको हो । साथै, मौन अवधि सुरु भइसकेको सन्दर्भमा निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित, विश्वसनीय र मानव अधिकारमैत्री हुनेछ भन्ने आयोगले अपेक्षा र विश्वास लिएको छ ।”

आयोगले निर्वाचनको अवधिमा स्वास्थ्य सेवा, एम्बुलेन्स, शव वाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति, असक्त मतदाताहरूका लागि सवारीसाधन तथा हवाई उडानजस्ता अत्यावश्यक सेवाहरूलाई सुचारु रूपले सञ्चालन गर्न गराउनसमेत आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

“निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व हो भने यस कार्यलाई सघाउनु राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी तथा आमनागरिकको कर्तव्य हो”, आयोगले भनेको छ, “निर्वाचन अवधिमा देशको शान्ति सुरक्षामा आवश्यक सतर्कता अपनाई निर्वाचनलार्ई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र मानव अधिकारमैत्री बनाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।”

आयोगले राजनीतिक दल तथा अन्य कसैले पनि मौन अवधिमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न र सम्भावित अवाञ्छित क्रियाकलापलाई रोक्न आयोग नेपाल सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनको दिनको अनुगमनका लागि आयोगले देशैभर अनुगमन टोली खटाएको जनाएको छ । आयोगले काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका अन्य केही जिल्लाहरूमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोलीसमेत बनाएको छ ।

यसअघि, आयोगले विभिन्न जिल्लाहरूमा निर्वाचनपूर्वको अनुगमन गरी प्राप्त तथ्यको आधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई ध्यानाकर्षण गराइसकेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया